June 15, 2024, Saturday
१ असार २०८१, शनिबार

सन् २०२३ मा विदेशमा बस्ने नेपालीको संख्या तीन लाख ४० हजार माथि

सन् २०२३ मा विदेशमा बस्ने नेपालीको संख्या तीन लाख ४० हजार माथि

पछिल्लो समयमा नेपालबाट बाहिरिएका ३ लाख ४० हजार ३ सय ६९ जना नेपाली विदेशमा नै बसेका छन् । गृहमन्त्रालयले आइतबार प्रतिनिधिसभाको राज्यव्यवस्था समितिमा छलफलका लागि पेस गरेको बुँदामा उल्लेखित तथ्यांक अनुसार २०२३ मा १६ लाख ३ हजार ८३८ जना नेपाली नागरिक बाहिरिदाँ १२ लाख ६३ हजार ४६९ भित्रिएका छन् ।

Advertisement

जसमध्ये सन् २०२३ मा बाहिरिएकामध्ये ३ लाख ४० हजारभन्दा बढी नेपाली विदेशमै बसेका छन् ।
साथै, यस अवधिमा अध्ययनको लागि १ लाख ०८ हजार ५ सय ४२ जना, अस्थायी आवास भिसामा ९२ हजार ३४९ विदेशमा गएका छन् ।
त्यस्तै स्थायी आवासका ७० हजार ९१५ र डिपेन्डेन्ट भिसामा २० हजार ६१३ गरी जम्मा २ लाख ९२ हजार ४२० नेपाली कुनै न कुनै रुपमा विदेश मै रहने गरी गएका छन् । यो संख्यामा भारतको भूमि भएर तेस्रो देश गएका नागरिकहरुको संख्या भने समावेश गरिएको छैन ।

Advertisement

यस्तै, सन् २०२३ मा ८ लाख ८ हजार ४१५ नागरिक श्रमिकको रुपमा विभिन्न देश गएका छन् । नाता भिसामा १ लाख ६७ हजार ४८५, भिजिट पर्यटक तथा धार्मिक प्रयोजनको लागि २ लाख ०४ हजार ५१८ नागरिक बाहिरिएका छन् ।

अध्यागमन कार्यविधि २०६५ मा नेपाली नागरिकलाई विदेश प्रस्थान सम्बन्धी भएको सरल व्यवस्थालाई मिति २०७८ फागुन २६ मा नेपाल सरकार सचिवस्तर निर्णयबाट जटिल बनाइएको विवरण पनि पेस गरिएको छ ।

हाल अध्यागमन विधेयक राष्ट्रिय सभामा विचाराधीन रहेकोमा सोमा वर्तमान समय सापेक्ष बनाउन केही विषयहरु थप गराउनुपर्ने र यसको आधारमा अध्यागमन नियमावलीमा समेत संशोधन गर्नुपर्ने आवश्यकताबारे समितिलाई जानकारी गराइएको छ ।