Banijya News

गत आर्थिक वर्ष लुम्बिनीमा थपिए तीन हजार उद्योग

1
1.1K Shares

गत आर्थिक वर्ष २०८१/८२ मा लुम्बिनी प्रदेशमा ३ हजार २६७ वटा घरेलु तथा साना उद्योग थपिएका छन् । उद्योग पर्यटन तथा यातायात मन्त्रालयका वरिष्ठ अधिकृत तथा सूचना अधिकारी सन्तोषकुमार सुवेदीका अनुसार रुपन्देहीमा ८८२, बाँकेमा ६५७, नवलपरासी पश्चिममा ३१७, कपिलवस्तुमा ३३३ वटा घरेलु तथा साना उद्योग थपिएका हुन् ।

दाङमा ४४९, बर्दियामा २४५, पाल्पामा ८४, गुल्मीमा ५८, अर्घाखाँचीमा ७० वटा घरेलु तथा साना उद्योग थपिएका छन् । यसैगरी प्युठानमा ३७, रोल्पामा ७८ वटा र रुकुम पूर्वमा ५७ वटा घरेलु उद्योग थपिएको मन्त्रालयको वार्षिक तथ्यांकले देखाएको छ । यस अवधिमा प्रदेशमा २ हजार ६९० वटा घरेलु उद्योगको लगत कट्टा गरिएको छ । यो संख्या घरेलु तथा साना उद्योग कार्यालयमा पुगेर बन्द गराउनेहरूको मात्र हो ।

उद्योग तथा वाणिज्य फर्म बन्द रहेका तर कार्यालयसम्म नपुग्नेहरूको संख्या पनि धेरै रहेको व्यवसायीहरूको भनाइ छ । बैंकको ऋणका लागि वास्तविक रूपमा बन्द भए पनि कागजी रूपमा बन्द नगराउने संख्या अझै रहेको आर्थिक क्षेत्रका जानकारहरूले बताएका छन् । प्रदेशका पहाडी जिल्लाहरूमा खुल्नेभन्दा बन्द हुने उद्योग बढी रहेका छन् । यस प्रकारको समस्या बढ्दै गएमा धेरै समस्या उत्पन्न हुने आर्थिक क्षेत्रका जानकारहरू बताउँछन् ।

यस प्रकारको कार्य रोक्न समयमै ध्यान दिनु पर्ने उनीहरूको भनाइ छ । तर, सरकार र निजी क्षेत्रको नेतृत्वले समेत यसतर्फ ध्यान दिएको छैनन् । रुपन्देहीमा ४२६, बाँकेमा ३०९ , नवरपरासी पश्चिममा २ १७, कपिलवस्तुमा २६५ वटा घरेलु तथा साना उद्योगको लगत कट्टा गरिएको छ । दाङमा ४४४, बर्दियामा २७०, पाल्पामा २३३, गुल्मीमा २६२, अर्घाखाँचीमा २३ वटा घरेलु तथा साना उद्योगको लगत कट्टा गरिएको छ ।

एक वर्षमा २ हजार ६३४ वाणिज्य फर्मको लगत कट्टा गरिएको छ । रुपन्देहीमा २४८, बाँकेमा ५२७, नवलपरासी पश्चिममा १६३, कपिलवस्तुमा १३७ वटा बाणिज्य फर्मको लगत कट्टा गरिएको छ । दाङमा ५५५, बर्दियामा २५२, पाल्पामा २६९, गुल्मीमा ३२१, अर्घाखाँचीमा ८, प्युठानमा ४९, रोल्पामा ९४ र रुकुम पूर्वमा ११ वटा वाणिज्य फर्मको लगत कट्टा गरिएको प्रतिवेदनमा उल्लेख छ । एक वर्षको अवधिमा ८ हजार १६७ वटा वाणिज्य फर्मको नवीकरण गरिएको छ ।

यसैगरी ५ हजार ८३० वटा वाणिज्य फर्मको अन्य संशोधन गरिएको छ । लुम्बिनी प्रदेश सरकारले गत आर्थिक वर्षमा व्यवसायमा आकर्षण बढाउन विभिन्न योजना ल्याएको थियो । गत वर्ष नयाँ दर्ता हुन आउने उद्योगहरूलाई उद्योग दर्तामा लाग्ने शुल्कमा ५० प्रतिशत छुट दिइएको थियो । अपांग, महिला, दलितको लागि थप ५० प्रतिशत छुटको व्यवस्था गरे पनि व्यवसाय दर्तामा आकर्षण बढ्न सकेको छैन ।

यसैगरी प्युठानमा ७१ , रोल्पामा १४२ र रुकुम पूर्वमा २८ वटा घरेलु तथा साना उद्योगको लगत कट्टा भएको मन्त्रालयको वार्षिक तथ्यांकमा उल्लेख छ । एक वर्षमा प्रदेश भर रहेका ७ हजार ७४७ वटा घरेलु तथा साना उद्योगको नवीकरण गरिएको छ । त्यसैगरी ३ हजार ५४१ वटा उद्योगको अन्य संशोधन गरिएको छ । अन्य संशोधनमा स्थान परिवर्तन, लगानी थपलगायतका विषयमा संशोधन गरिएको मन्त्रालयले जनाएको हो ।

आव २०८१/८२ मा प्रदेशका १२ जिल्लामा वाणिज्यतर्फ ३ हजार ७६३ वटा वाणिज्य फर्म थपिएका छन् । रुपन्देहीमा १ हजार १६३, बाँकेमा ७१२, नवलपरासी पश्चिममा ३८६, कपिलवस्तुमा ३७४ वटा वाणिज्य फर्म थपिएका छन् । दाङमा ५७९, बर्दियामा २४९, पाल्पामा ७५, गुल्मीमा ५२, अर्घाखाँचीमा २९, प्युठानमा ५५, रोल्पामा ५६ र रुकुम पूर्वमा ३३ वटा वाणिज्य फर्म थपिएको मन्त्रालयले जनाएको छ ।

1

Scroll to Top