Banijya News

नेप्से पुनर्संरचनादेखि मार्जिन लेन्डिङसम्म सेबोनको नयाँ कार्ययोजना

1
1.0K Shares

नेपाल धितोपत्र बोर्ड (सेबोन) ले नेपालको पुँजी बजारलाई आधुनिक, प्रविधिमैत्री र अन्तर्राष्ट्रिय स्तरको बनाउन नेपाल स्टक एक्सचेन्ज (नेप्से) को पुनर्संरचना, मार्जिन लेन्डिङको कार्यान्वयन र नयाँ लगानी उपकरणको विकासलाई प्राथमिकतामा राखेको छ । बोर्डले पुँजी बजारसम्बन्धी कानुनी संरचनामा परिवर्तन गर्दै ब्रोकर व्यवसायको संस्थागत विकास र कारोबार प्रणालीको आधुनिकीकरणलाई समेत अघि बढाउने भएको छ ।

स्टक ब्रोकर एशोसिएशन अफ नेपालले आयोजना गरेको दशैँ, तिहार तथा छठ पर्वको शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै सेबोनका अध्यक्ष डा. गोपाल भट्टले पुँजी बजार सुधारका लागि दुईवटा नयाँ ऐनको मस्यौदा तयार पारिएको जानकारी दिए। उनका अनुसार ती मस्यौदालाई स्वीकृतिका लागि अर्थ मन्त्रालयमा पठाउने तयारी भइरहेको छ ।

प्रस्तावित ऐनमध्ये एउटा पुँजी बजारका समग्र पूर्वाधार, ब्रोकर मार्केट, मर्चेन्ट बैंकिङ, म्युचुअल फन्ड तथा सेयर र बन्ड बजारलाई नियमन गर्ने गरी ‘मार्केट बेस्ड’ अवधारणामा तयार गरिएको छ । अर्को ऐन भने नेपाल राष्ट्र बैंक ऐनको अवधारणासँग मिल्दोजुल्दो गरी धितोपत्र बोर्डको नियामकीय भूमिका र अधिकारलाई थप बलियो बनाउने उद्देश्यले ‘नियामक बेस्ड’ रूपमा तयार पारिएको अध्यक्ष भट्टले बताए ।

नेप्सेको पुनर्संरचना र प्रविधिमा जोड

सेबोनले नेप्सेको स्वामित्व विविधीकरणसँगै प्राविधिक तथा संस्थागत पुनर्संरचनालाई पनि प्राथमिकतामा राखेको छ । नेप्सेको स्वामित्व सरकारमै रहने वा निजी क्षेत्रलाई हस्तान्तरण गर्ने भन्ने विषय सरकारको कार्यक्षेत्रमा पर्ने भए पनि यसको कारोबार प्रणाली, जोखिम व्यवस्थापन र प्रविधिलाई तत्काल आधुनिकीकरण गर्न आवश्यक रहेको अध्यक्ष भट्टको भनाइ छ ।

नेप्सेको स्वामित्व विविधीकरण र पुनर्संरचनाका विषयमा सरकारद्वारा गठित उच्चस्तरीय समितिको प्रतिवेदन बोर्डले प्राप्त गरिसकेको छ । उक्त प्रतिवेदनका आधारमा आवश्यक प्रक्रिया अघि बढाउन बोर्ड तयार रहेको उनले बताए ।

नेप्सेलाई प्रतिस्पर्धी र प्रभावकारी बनाउन अन्तर्राष्ट्रिय स्टक एक्सचेन्जहरूसँग रणनीतिक साझेदारी गराउने योजनासमेत बोर्डले अघि सारेको छ । यसका लागि आफ्नो नियमनकारी अधिकार प्रयोग गर्दै आवश्यक निर्देशन जारी गरिने अध्यक्ष भट्टले स्पष्ट पारे ।

असोजभित्रै मार्जिन लेन्डिङ कार्यान्वयनको तयारी

लामो समयदेखि प्रतीक्षामा रहेको मार्जिन लेन्डिङलाई कार्यान्वयनमा ल्याउन सेबोनले तयारी तीव्र बनाएको छ । अध्यक्ष भट्टका अनुसार आगामी असोज महिनाभित्रै यसको ‘स्ट्यान्डर्ड अपरेटिङ प्रोसिजर’ (एसओपी) तयार गरी कार्यान्वयन प्रक्रिया अघि बढाइनेछ ।

प्रस्तावित व्यवस्थाअनुसार ब्रोकर, सीडीएससी, नेप्से र बैंकका सूचना प्रविधि प्रणालीलाई एकआपसमा आबद्ध गरिनेछ । यसले ग्राहकले ब्रोकरबाट ऋणको सीमा प्राप्त गरेपछि बैंकबाट रकम परिचालन गर्ने प्रक्रियालाई सहज बनाउने अपेक्षा गरिएको छ ।

नेपाल राष्ट्र बैंकसँगको समन्वयमा लगानीकर्ताले कल मनी रेटमा आधारित सस्तो ब्याजदरमा ऋण पाउन सक्ने संयन्त्र विकास भइरहेको पनि उनले बताए । सेयर धितो कर्जा र मार्जिन लेन्डिङ फरक व्यवस्था भएकाले मार्जिन लेन्डिङमार्फत ब्रोकर व्यवसायलाई थप प्रभावकारी बनाइने उनको भनाइ छ ।

ब्रोकर कम्पनीलाई मर्जरमा प्रोत्साहन

सेबोनले ब्रोकर व्यवसायलाई एकल व्यक्तिको नियन्त्रणमा रहेको परम्परागत संरचनाबाट बहुसेवा प्रदान गर्ने संस्थागत र कर्पोरेट प्रणालीमा रूपान्तरण गर्न खोजेको छ । अध्यक्ष भट्टले साना तथा एकल व्यक्तिमा निर्भर ब्रोकर व्यवसायको परम्परागत ढाँचा परिवर्तन गर्नुपर्ने आवश्यकता औँल्याए ।

ब्रोकर कम्पनीहरूको संस्थागत क्षमता, व्यावसायिक प्रतिष्ठा र प्रतिस्पर्धात्मक क्षमता बढाउन मर्जर तथा एक्विजिसनलाई प्रोत्साहन गरिने उनले बताए । आवश्यक परे बोर्डले यस्तो प्रक्रियामा सहजीकरण गर्ने नीति लिएको छ ।

नयाँ लगानी उपकरण भित्र्याइने

बजार घटेका बेला पनि लगानीकर्ताले विभिन्न रणनीतिमार्फत अवसर प्राप्त गर्न सक्ने वातावरण बनाउन सेबोनले नयाँ वित्तीय उपकरण भित्र्याउने योजना बनाएको छ । चालु आर्थिक वर्षको अन्त्यसम्ममा सर्ट सेलिङ, इन्ट्रा–डे ट्रेडिङ, एक्सचेन्ज ट्रेडेड फन्ड (ईटीएफ) तथा सेक्युरिटी लेन्डिङ एन्ड बोरोइङ जस्ता उपकरण कार्यान्वयनमा ल्याउने लक्ष्य रहेको अध्यक्ष भट्टले बताए ।यसले बजारमा लगानीका विकल्प विस्तार गर्नुका साथै कारोबारको विविधीकरण र बजारको विकासमा सहयोग पुग्ने अपेक्षा गरिएको छ । नयाँ उपकरण कार्यान्वयनका लागि सम्बन्धित सबै सरोकारवालालाई आवश्यक तयारी गर्न उनले आग्रह गरे ।

त्यसैगरी, नेपालमा कमोडिटी एक्सचेन्ज सञ्चालनको तयारी भइरहेका बेला बोर्डले पहिलो प्राथमिकतामा कृषिजन्य उत्पादनमा आधारित बजारलाई राखेको छ । सुन, चाँदी र पेट्रोलियम पदार्थमा मात्र केन्द्रित बजारभन्दा कृषि उत्पादनको कारोबारले मुलुकको उत्पादकत्व र रोजगारी वृद्धि गर्न बढी योगदान पुर्‍याउने बोर्डको विश्वास छ ।

अध्यक्ष भट्टले पुँजी बजारको सुधार, प्रविधिको विकास र संस्थागत क्षमता अभिवृद्धिका लागि सेबोन, नेप्से तथा ब्रोकर व्यवसायबीच सहकार्य आवश्यक रहेको बताए । बजारलाई व्यवस्थित, प्रतिस्पर्धी र आधुनिक बनाउन बोर्ड नीतिगत सहयोग गर्न तयार रहेको उनको भनाइ छ ।

1

Scroll to Top