नेपाल धितोपत्र बोर्ड (सेबोन) ले नेपालमा प्राइभेट इक्विटी तथा भेन्चर क्यापिटल (पीईभीसी) प्रणालीलाई व्यवस्थित, पारदर्शी र जोखिमअनुकूल बनाउन पाँच तहको नियामकीय संरचना प्रस्ताव गरेको छ । बोर्डले पीईभीसी प्रणालीको मूल्यांकन तथा नियामकीय सुधारसम्बन्धी अध्ययन प्रतिवेदन सार्वजनिक गर्दै कोषको जोखिमका आधारमा वर्गीकरण गरी सुपरिवेक्षण गर्ने व्यवस्था आवश्यक रहेको औंल्याएको हो ।
सार्वजनिक प्रतिवेदनअनुसार पीईभीसी फन्डलाई उच्च, मध्यम र न्यून गरी तीन किसिममा वर्गीकरण गरेर जोखिममा आधारित सुपरिवेक्षण प्रणाली लागू गर्न सकिनेछ । यस्तो व्यवस्थाले कोषको प्रकृति, लगानीको जोखिम र सञ्चालनको अवस्थाअनुसार नियामकीय निगरानीलाई प्रभावकारी बनाउन सहयोग पुग्ने बोर्डको निष्कर्ष छ ।
प्रस्तावित पाँच तहको संरचनाअन्तर्गत पहिलो तहमा फन्ड म्यानेजरको इजाजतपत्र, योग्यता, पूँजी तथा सुशासनसम्बन्धी व्यवस्था रहनेछ । दोस्रो तहमा कोष दर्ता, लगानीको उद्देश्य र पूँजी प्रतिबद्धताको नियमन गरिनेछ । तेस्रो तहमा संस्थागत, व्यक्तिगत तथा उच्च सम्पत्ति भएका लगानीकर्तासम्बन्धी व्यवस्था समेटिनेछ ।
त्यस्तै, चौथो तहमा पोर्टफोलियोअन्तर्गतको लगानी, सम्पत्तिको मूल्यांकन, सुशासन र विवरणसम्बन्धी नियमन रहनेछ । पाँचौं तहमा प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ), दोस्रो बजार वा अन्य रणनीतिक बिक्रीमार्फत लगानीबाट बाहिरिने प्रक्रियालाई नियमन गर्ने प्रस्ताव गरिएको छ ।
बोर्डले पीईभीसी बजारको निगरानी तथा लगानीकर्ता संरक्षणका लागि केन्द्रीय डिजिटल प्रणाली विकास गर्नुपर्ने सुझावसमेत दिएको छ । उक्त प्रणालीमा प्रत्येक कोषको व्यवस्थापक, लगानीकर्ता, पूँजी प्रतिबद्धता, लगानी, पोर्टफोलियो, सम्पत्तिको मूल्यांकन तथा लगानीबाट बाहिरिने प्रक्रियासम्बन्धी विवरण राख्नुपर्नेछ । यसबाट बजारको अवस्था अनुगमन, जोखिम मूल्यांकन र नीतिगत विश्लेषण गर्न सहज हुने अपेक्षा गरिएको छ ।
प्रतिवेदनले पीईभीसी नियमनलाई कोष व्यवस्थापक र कोषमा मात्रै सीमित नगरी सम्पूर्ण बजार प्रणालीलाई समेट्नुपर्नेमा जोड दिएको छ । फन्ड म्यानेजर, कोष, लगानीकर्ता, पोर्टफोलियो कम्पनी, सेवा प्रदायक तथा लगानीबाट बाहिरिने माध्यमलाई एउटै नियामकीय संरचनामा जोड्नुपर्ने बोर्डको नीतिगत निष्कर्ष छ ।
२०७७ सालको संशोधनले पीईभीसीको लगानी दायरा ऋणपत्र तथा ऋणसम्बन्धी उपकरणसम्म विस्तार गरेको सन्दर्भमा अबको नियामकीय व्यवस्थाले स्वपूँजी, ऋण र हाइब्रिड वित्तीय उपकरणलाई स्पष्ट रूपमा वर्गीकरण गर्नुपर्ने प्रतिवेदनमा उल्लेख छ ।
बोर्डले आगामी नियामकीय संरचनामा अनुपातिक नियमन, जोखिममा आधारित सुपरिवेक्षण, पारदर्शिता, सुशासन, स्वतन्त्र मूल्यांकन, सम्पत्ति संरक्षण तथा विदेशी पूँजीलाई एकीकृत रूपमा समेट्नुपर्ने आवश्यकता औंल्याएको छ । प्रस्तावित सुधारले पीईभीसी बजारलाई व्यवस्थित बनाउनुका साथै लगानीकर्ताको संरक्षण र बजारप्रतिको विश्वास अभिवृद्धिमा सहयोग पुग्ने अपेक्षा गरिएको छ ।



