मलेसियाका लागि प्रस्तावित नेपाली राजदूत चुडामणि खरेलमाथि स्वार्थको द्वन्द्व, आर्थिक अनियमितता तथा अन्य विवादास्पद गतिविधिसम्बन्धी प्रश्न उठेपछि संसदीय सुनुवाइ समितिले उनको अनुमोदन प्रक्रिया तत्कालका लागि रोकेको छ । समितिले उनीमाथि लागेका आरोप, सार्वजनिक भएका सामग्री र प्राप्त कागजातहरूको थप अध्ययन गरी आवश्यक निर्णय लिने भएको छ ।
संसदीय सुनुवाइ समितिका सभापति बोधनारायण श्रेष्ठले प्रस्तावित राजदूत खरेलको सुनुवाइ प्रक्रिया स्थगित गरी समितिभित्र आन्तरिक छलफल भइरहेको जानकारी दिए । उनका अनुसार, हाल प्राप्त कागजातहरूको अध्ययन भइरहेको छ । अध्ययनका क्रममा आवश्यक देखिए खरेललाई पुनः समितिमा बोलाएर थप स्पष्टता मागिनेछ ।
यसअघि समितिको बैठकमा उपस्थित भएका खरेलले आफूमाथि लागेका आरोपहरू तथ्यहीन र भ्रामक रहेको दाबी गरेका थिए । उनले जग्गा कारोबार, आर्थिक लेनदेन तथा कुनै पनि प्रकारको अनुदान मिलाइदिने प्रलोभन कसैलाई नदिएको स्पष्ट पारे । आफ्नो संलग्नता पुष्टि हुने प्रमाण भए सार्वजनिक गर्न चुनौती दिँदै उनले आफू संस्थाको व्यवस्थापकीय जिम्मेवारीमा मात्र रहेको जिकिर गरे । संस्थागत बेरुजु वा चेक कारोबारमा आफ्नो एकल निर्णय नहुने उनको भनाइ थियो ।
तर, समितिमा सहभागी सांसदहरूले भने प्रस्तावित राजदूतमाथि उठेका प्रश्नलाई गम्भीर रूपमा लिनुपर्ने बताएका छन् । उनीहरूले राजदूतको नियुक्ति व्यक्तिगत विषय मात्र नभई देशको प्रतिष्ठा, कूटनीतिक मर्यादा र अन्तर्राष्ट्रिय विश्वाससँग जोडिएको विषय भएकाले आरोपहरूको निष्पक्ष परीक्षण आवश्यक रहेकोमा जोड दिएका छन् ।
नेकपा (एमाले) का सांसद प्रेमप्रसाद दंगालले मलेसियाजस्तो संवेदनशील मुलुकका लागि खरेलको शैक्षिक योग्यता र कूटनीतिक अनुभव पर्याप्त देखिन नसकेको भन्दै उनको कार्यक्षमतामाथि प्रश्न उठाए । उनले सामाजिक सञ्जालको दुरुपयोग, म्यानपावर व्यवसायीसँगको साँठगाँठ तथा अनुदानसम्बन्धी विवादबारे गम्भीर छानबिन हुनुपर्ने बताए ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद मधुकुमार चौलागाईंले खरेलले समितिमा प्रस्तुत गरेको दाबी र सार्वजनिक भएका अडियो तथा कागजातबीच विरोधाभास देखिएको बताए । सार्वजनिक सामग्रीको वस्तुनिष्ठ परीक्षण गरेर मात्र निष्कर्षमा पुग्नुपर्ने उनको भनाइ थियो ।
एमालेकी सांसद पद्मा अर्यालले औपचारिक उजुरी नपरे पनि सार्वजनिक भएका तथ्यहरूले प्रश्न उठाएकाले विषयलाई हलुका रूपमा लिन नहुने बताइन् । त्यस्तै, सांसद वर्षमान पुनले पनि थप प्रमाण र कागजातको विस्तृत अध्ययनपछि मात्र निर्णय लिनुपर्नेमा जोड दिए । आरोप स्पष्ट नपारी नियुक्ति प्रक्रिया अघि बढाउँदा मुलुकको कूटनीतिक प्रतिष्ठामा असर पर्न सक्ने उनको भनाइ थियो ।
समितिले प्राप्त उजुरी तथा कागजातहरूको अध्ययनपछि मात्रै खरेलको अनुमोदनबारे थप निर्णय गर्ने जनाएको छ ।


