सरकारले सरकारी कर्मचारीलाई सवारीसाधन खरिद गर्न अधिकतम ६० लाख रुपैयाँसम्म सहुलियतपूर्ण ऋण उपलब्ध गराउने प्रस्ताव अघि सारेको छ । प्रस्तावित व्यवस्थाअनुसार ऋणको ब्याज सरकारले व्यहोर्नेछ भने कर्मचारीले साँवा रकम किस्ताबन्दीमा भुक्तानी गर्नुपर्नेछ । कर्मचारीको पद तथा तहअनुसार सवारी खरिद ऋण, वार्षिक इन्धन र मर्मत खर्च उपलब्ध गराउने गरी सरकारले निर्देशिकाको मस्यौदा तयार गरेको हो ।
सरकारले ‘सरकारी कर्मचारीहरूका लागि सवारी साधन व्यवस्थापन सम्बन्धी निर्देशिका, २०८३’ को मस्यौदामार्फत सरकारी सवारीसाधनको दोहोरो प्रयोग नियन्त्रण गर्ने र सञ्चालन तथा व्यवस्थापन खर्च घटाउने लक्ष्य राखेको छ । प्रस्तावित व्यवस्था कार्यान्वयनमा आएमा कर्मचारीले सरकारी सवारीसाधनको सट्टा आफ्नै सवारी खरिद गरी प्रयोग गर्न सक्नेछन् ।
निर्देशिकाको मस्यौदाअनुसार मुख्यसचिव, सचिव तथा १२औँ तहका कर्मचारीले चारपाङ्ग्रे सवारीसाधन खरिद गर्न अधिकतम ६० लाख रुपैयाँसम्म ऋण पाउनेछन् । सहसचिव वा ११औँ तहका कर्मचारीका लागि ५० लाख रुपैयाँसम्म र उपसचिव वा नवौँ–दशौँ तहका कर्मचारीका लागि ४० लाख रुपैयाँसम्म ऋण उपलब्ध गराउने प्रस्ताव गरिएको छ ।
त्यस्तै, शाखा अधिकृत वा छैटौँदेखि आठौँ तहसम्मका कर्मचारीले दुईपाङ्ग्रे सवारीसाधन खरिद गर्न चार लाख रुपैयाँसम्म ऋण पाउनेछन् । राजपत्र अनंकित तथा सहायक स्तरका कर्मचारीलाई भने दुई लाख रुपैयाँसम्म ऋण सुविधा उपलब्ध गराउने प्रस्ताव मस्यौदामा समावेश गरिएको छ ।
कर्मचारीले सवारी खरिदका लागि लिएको ऋणको ब्याज सरकारले अनुदानका रूपमा उपलब्ध गराउनेछ । तर, ऋणको साँवा रकम भने सम्बन्धित कर्मचारीले निर्धारित किस्ताअनुसार तिर्नुपर्नेछ । यस व्यवस्थाले कर्मचारीलाई व्यक्तिगत सवारी खरिद गर्न सहज बनाउने सरकारको अपेक्षा छ ।
इन्धन र मर्मतमा पनि वार्षिक सुविधा
सरकारले सवारी खरिद ऋणसँगै कर्मचारीलाई पदअनुसार वार्षिक इन्धन तथा मर्मत खर्च उपलब्ध गराउने प्रस्ताव गरेको छ । मस्यौदाअनुसार मुख्यसचिव, सचिव तथा १२औँ तहका कर्मचारीले वार्षिक एक लाख ४० हजार रुपैयाँ इन्धन खर्च र एक लाख रुपैयाँ मर्मत खर्च पाउनेछन् ।
सहसचिव वा ११औँ तहका कर्मचारीलाई वार्षिक एक लाख २० हजार रुपैयाँ इन्धन खर्च र ७५ हजार रुपैयाँ मर्मत खर्च उपलब्ध गराउने प्रस्ताव छ । त्यस्तै, उपसचिव वा नवौँ–दशौँ तहका कर्मचारीले इन्धनका लागि एक लाख रुपैयाँ र मर्मतका लागि ५० हजार रुपैयाँ वार्षिक सुविधा पाउनेछन् ।
शाखा अधिकृत वा छैटौँदेखि आठौँ तहका कर्मचारीका लागि वार्षिक ४० हजार रुपैयाँ इन्धन खर्च र १५ हजार रुपैयाँ मर्मत खर्च प्रस्ताव गरिएको छ । राजपत्र अनंकित तथा सहायक स्तरका कर्मचारीले भने वार्षिक २५ हजार रुपैयाँ इन्धन खर्च र १० हजार रुपैयाँ मर्मत खर्च पाउने व्यवस्था मस्यौदामा छ ।
चालक नराख्ने कर्मचारीलाई पनि सुविधा
प्रस्तावित निर्देशिकाले मुख्यसचिव, सचिव, सहसचिव तथा सोसरहका कर्मचारीलाई चालक राख्ने वा आफैँ सवारी चलाउने विकल्प दिएको छ । आफैँ सवारी चलाउने कर्मचारीलाई चालकको सुरु तलबमानबराबरको रकम उपलब्ध गराउने प्रस्ताव गरिएको छ । यसबाट चालक व्यवस्थापनमा लाग्ने सरकारी खर्च घटाउन सकिने सरकारको अपेक्षा छ ।
निर्देशिकाअनुसार प्रस्तावित सवारी खरिद योजनामा सहभागी नहुने कर्मचारीले कार्यालयमा उपलब्ध सवारीसाधन साझा रूपमा प्रयोग गर्नुपर्नेछ । तर, प्रमुख जिल्ला अधिकारी, प्रमुख प्रशासकीय अधिकृत तथा सरकारले विशेष पदस्थापनका रूपमा तोकेका पदमा कार्यरत कर्मचारीलाई सरकारी सवारीसाधन उपलब्ध गराउने व्यवस्था पनि मस्यौदामा राखिएको छ ।
सरकारले सवारी खरिदमा विद्युतीय, स्वदेशमै उत्पादित तथा नेपालमै एसेम्बल गरिएका सवारीसाधनलाई प्राथमिकता दिने नीति प्रस्ताव गरेको छ । विद्युतीय सवारीसाधनको प्रयोगलाई प्रोत्साहन गर्न सरकारी कार्यालयमा चार्जिङ स्टेसन निर्माणका लागि नेपाल विद्युत् प्राधिकरणसँग सहकार्य गर्ने योजना पनि समेटिएको छ ।
यसैगरी, कर्मचारीले खरिद गरेका सवारीसाधन, ऋण सुविधा, किस्ता भुक्तानी तथा अन्य सुविधाको विवरण डिजिटल प्रणालीमार्फत अभिलेख राख्ने प्रस्ताव गरिएको छ । निर्देशिका संघीय निजामती सेवा, स्वास्थ्य सेवा, संसद् सेवा तथा तोकिएका अन्य संघीय निकायका स्थायी कर्मचारीमा लागू गर्ने तयारी छ ।
मस्यौदामा गलत विवरण पेस गरी वा अन्य माध्यमबाट दोहोरो सुविधा लिएको पाइएमा त्यस्तो सुविधा रोक्का गर्ने, प्राप्त रकम असुलउपर गर्ने तथा सम्बन्धित कर्मचारीलाई प्रचलित कानुनअनुसार कारबाही गर्ने व्यवस्था पनि छ ।
सरकारले सरकारी सवारीसाधनको प्रयोगलाई व्यवस्थित बनाउँदै खर्च घटाउने उद्देश्यले यो व्यवस्था अघि सारेको हो । यद्यपि, यो हाल निर्देशिकाको मस्यौदामा प्रस्ताव गरिएको व्यवस्था भएकाले अन्तिम स्वीकृति र कार्यान्वयनपछि मात्र यसको वास्तविक प्रभाव स्पष्ट हुनेछ ।


