नेपालले जलवायु परिवर्तनका कारण भोगिरहेका विपद्, त्यसबाट परेको प्रभाव र चुनौतीलाई अन्तर्राष्ट्रिय समुदायसमक्ष प्रभावकारी रूपमा प्रस्तुत गर्ने तयारी गरेको छ । यसका लागि आगामी जलवायु परिवर्तनसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन कोप–३१ मा विशेष प्याभिलियन स्थापना गर्ने विषयमा संयुक्त राष्ट्रसंघसँग सहकार्य र सहयोगबारे छलफल भएको छ ।
कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरी र नेपालस्थित संयुक्त राष्ट्रसंघीय आवासीय संयोजक लिला पिटर्स याहियाबीच भएको बैठकमा नेपालको जलवायु कार्यसूची, जलवायुजन्य विपद् तथा अन्तर्राष्ट्रिय मञ्चमा नेपालको आवाज सशक्त बनाउने विषयमा छलफल भएको हो ।
बैठकमा मन्त्री चौधरीले ‘लिभिङ सगरमाथाः माउन्टेन एजेन्डा’ स्वीकृत भइसकेको जानकारी दिँदै आगामी अक्टोबर २९, २०२६ मा आयोजना हुने राष्ट्रिय जलवायु शिखर सम्मेलनमा उक्त एजेन्डा सार्वजनिक गरिने बताइन् ।
नेपालले कोप–३१ मा भोटेकोशी बाढीलगायत जलवायुजन्य विपद्का अनुभव, तिनले पारेको प्रभाव र सामना गर्नुपरेका चुनौतीलाई विश्व समुदायसमक्ष प्रस्तुत गर्ने योजना बनाएको छ । यसका लागि स्थापना गरिने विशेष प्याभिलियन सञ्चालन गर्न आवश्यक खर्च व्यवस्थापनमा संयुक्त राष्ट्रसंघीय निकायको सहयोग अपेक्षा गरिएको छ ।
मन्त्री चौधरीले जलवायुजन्य विपद्का मुद्दालाई अन्तर्राष्ट्रियस्तरमा प्राथमिकताका साथ उठाउन सरकारी निकायहरूको सहभागिता र सहयोग आवश्यक रहेको बताइन् । यस विषयमा मन्त्रालयका सहसचिवले सम्बन्धित टोलीसँग समन्वय गरिसकेको जानकारी पनि बैठकमा दिइएको थियो ।
बैठकमा कोप–३१ मा युवा पुस्ता, विशेषगरी जेन–जी युवा तथा सञ्चारकर्मीको सहभागिता र प्रतिनिधित्व सुनिश्चित गर्ने विषयमा समेत छलफल भएको छ । जलवायु परिवर्तनका असर प्रत्यक्ष रूपमा भोगिरहेका समुदायका अनुभवलाई अन्तर्राष्ट्रिय मञ्चसम्म पुर्याउन युवाहरू र सञ्चारकर्मीको सहभागितालाई महत्त्वपूर्ण मानिएको छ ।
नेपालले जलवायु परिवर्तनका कारण बाढी, पहिरो तथा अन्य प्राकृतिक विपद्को जोखिम सामना गरिरहेको अवस्थामा यस्ता विषयलाई विश्वमञ्चमा उठाउनु आवश्यक देखिएको छ । बैठकले नेपालको जलवायुजन्य विपद्का अनुभव र चुनौतीलाई प्रभावकारी रूपमा प्रस्तुत गर्न सरकार, विकास साझेदार, संयुक्त राष्ट्रसंघीय निकाय तथा नागरिक समाजबीच सहकार्य विस्तार गर्नुपर्नेमा जोड दिएको छ ।


