January 17, 2022, Monday
३ माघ २०७८, सोमबार

बजेट अभावले ८ वर्ष पुरानो ‘नयाँ शहर कार्यक्रम’ अलपत्र

बजेट अभावले ८ वर्ष पुरानो ‘नयाँ शहर कार्यक्रम’ अलपत्र

चौरजहारीलाई नयाँ शहर बनाउने योजना ८ वर्ष पूरा भए पनि अझै प्रभावकारी हुन सकेको छैन ।रुकुम पश्चिम चौरजहारी नगरपालिकामा रहेको कार्यक्रमको काम नहुँदा समस्या भएको हो ।

Advertisement

मध्यपहाडी लोकमार्गमा पर्ने १० ठाउँलाई नयाँ शहर बनाउने सरकारको लक्ष्यअनुसार काम भए पनि सो परिणाममुखी हुन नसकेको हो । बजेट अभावका कारण भने जति काम हुन नसकेको हो । चालु आर्थिक वर्षमा चौरजहारीका लागि ११ करोड रुपैयाँ बजेट मात्रै आएको आयोजना कार्यालय प्रमुख धीर फडेराले जानकारी दिए । यहाँ एउटै योजना निर्माण गर्नका लागि १९ करोड रुपैयाँ आवश्यक पर्ने गरेको छ ।

Advertisement

चौरजहारी उपत्यकाको महत्त्वपूर्ण मानिएको सडक कालोपत्रे गर्ने काम लामो समयदेखि हुन सकेको छैन । आयोजना कार्यालयका अनुसार बाँसखोला–एयरपोर्ट–बसपार्क–त्रिवेणी–खौचेनी–विजयश्वरीडाँडा सडक झण्डै ८ किलोमिटर लामो छ । सडक कालोपत्रेका लागि ४० करोड ३५ लाखमा ठेक्का लागेको छ । ठेकेदार कम्पनीले झण्डै ७० प्रतिशत काम सके पनि २१ करोड रुपैयाँ मात्र भुक्तानी भएको फडेराले बताए ।

हालसम्म स–साना योजना मात्र सम्पन्न भएका छन् । सम्पन्न भइसक्नुपर्ने योजना पनि अर्को वर्षसम्म लैजानुपर्ने बाध्यता रहेको उनको गुनासो छ । चालू आर्थिक वर्षमा ३८ योजना प्रस्ताव गरिएको भए पनि अहिले ९ वटा योजनामा काम भइरहेको छ । यी योजनामा पनि बजेट अपुग भएको छ । सडक कालोपत्रेमा आयोजनाले गति लिए पनि अन्य कामहरू अलपत्र परेको चौजहारी नगरपालिका प्रमुख विशाल शर्माले बताए । ८ वर्षदेखि चौरजहारी–जाजरकोट कुदु जोड्ने मध्यपहाडी लोकमार्गको पुल निर्माण समेत अलपत्र पर्दै आएको छ ।रासस