May 15, 2025, Thursday
२०८२ जेष्ठ २

धान उत्पादन घट्यो

धान उत्पादन घट्यो

०८ मंसिर, २०७६, काठमाण्डौ । बेमौसमी पानी र नक्कली बीउका कारण चालु वर्ष धानको उत्पादनमा कमी आउने भएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अनुसार यो वर्ष धानको उत्पादन करिब ५४ लाख टन हाराहारीमा सीमित हुने भएको छ ।
मन्त्रालय स्रोतकाअनुसार रोपाइँ ढिलो गरी सुरु भएको र समयमा मनसुन नहुँदा सबै ठाउँमा रोपाइँ हुन सकेन । बाढी र पहिरोले लगाएको बाली नष्ट गर्याे भने केही जिल्लामा नक्कली बीउका कारण उत्पादनमा कमी हुने भएको हो ।
चालु वर्षमा देशभर औसत रोपाइँ ९५ प्रतिशत थियो । अघिल्लो वर्ष देशभर ९५.३९ प्रतिशतका दरले १३ लाख आठ हजार पाँच सय हेक्टरमा रोपाइँ भएको थियो । कृषि तथा पशुपन्छी विकास मन्त्रालयको तथ्यांकअनुसार यो वर्ष उच्च पहाडमा ९७.९३, मध्यपहाडमा ९३ र तराईमा ९५.३३ प्रतिशतले रोपाइँ भएको थियो ।

सरकारी तथ्यांकअनुसार समयमा पानी नपर्दा ७० हजार हेक्टरमा भने बर्खे धान लगाइएको थिएन । देशभर धानबालीका लागि १५ लाख ५२ हजार हेक्टर क्षेत्रफल छ । यसमध्ये १३ लाख ७१ हजार सात सय ६ हेक्टरमा बर्खे धानबाली तथा बाँकीमा चैतेधान लगाइन्छ ।
धानबालीलाई मुलुकको अर्थतन्त्रको मेरुदण्ड मानिन्छ । धानको उत्पादनमा कमी आउँदा यसले समग्र जिडिपि लाई नै असर गर्छ । यसरी धानको उत्पादनमा कमी आउने भएपछि यो वर्ष चामल आयात दरमा समेत वृद्धि हुन सक्ने प्रवल सम्भावना छ ।

Advertisement