September 23, 2021, Thursday
७ आश्विन २०७८, बिहीबार

सरकारले कोरोना प्रभावित उद्योगलाई विद्युत डिमान्ड शुल्कमा छुट दिने

सरकारले कोरोना प्रभावित उद्योगलाई विद्युत डिमान्ड शुल्कमा छुट दिने

काठमाडौं । सरकारले कोरोना प्रभावित उद्योगलाई विद्युतमा छुट दिने भएको छ । समस्यामा परेका उद्योग तथा व्यवसायले प्रयोग गर्दै आएको बिजुलीको डिमान्ड शुल्कमा छुट दिने तयारी सरकारले गरेको हो । लामो समयदेखि व्यवसायीले डिमान्ड शुल्कमा छुट दिन आग्रह गर्दै आएका थिए । व्यवसायीको आग्रह अनुसार नै आजदेखि शुल्कमा छुट दिइएको हो ।

आर्थिक वर्ष २०७७–७८ को बजेटमा कोभिड–१९ का कारण प्रभावित उत्पादनमूलक उद्योगको लडडाउन अवधिभर विद्युत डिमाण्ड शुल्क छुट दिने र माग कम हुने समयको विद्युत खपतमा ५० प्रतिशत छुट दिने उल्लेख गरिएको थियो । सोही अनुसार सरकार विद्युतमा छुट दिन राजी भएको हो ।

Advertisement


औद्योगिक व्यवसाय नियमावली, २०७६ मा उल्लेखित ५८ प्रकारका उद्योगलाई आधार मानेर छुट दिने तयारी छ । चालु आर्थिक वर्षको बजेटमा कोभिड–१९ का कारण प्रभावित उत्पादनमूलक उद्योगलाई लकडाउन अवधिभर विद्युत डिमान्ड शुल्क छुट दिने र माग कम हुने समयको विद्युत् खपतमा ५० प्रतिशत छुट दिने उल्लेख गरिएको थियो ।

अर्थले मन्त्रालयले विज्ञप्ति निकालेर कोभिड–१९ का कारण प्रभावित उत्पादनमूलक उद्योगहरुको लकडाउन अवधिभरको विद्युत् डिमान्ड शुल्क छुट दिइएको बताएको छ । यस निर्णय कार्यान्वयनबाट उद्योग लाभान्वित हुने र कोभिडबाट प्रभावित अर्थतन्त्र पुनरुत्थानमा थप सहयोग पुग्ने विश्वास लिएका छन् ।

बैठकमा राजस्व सचिव रामशरण पुडासैनी, उद्योग मन्त्रालयका सचिव बैकुण्ठ अर्याल, उर्जा मन्त्रालयका सचिव दिनेश घिमेरे,  अर्थमन्त्रीका आर्थिक सल्लाहकार प्रकाश श्रेष्ठ,  नेपाल विद्युत प्राधिकरणका कामु कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्य र उद्योग विभागका महानिर्देशक जीवलाल भुसाल सहभागी थिए ।