March 29, 2024, Friday
१६ चैत्र २०८०, शुक्रबार

नेपाललाई ५० लाख युआन बराबरको अतिरिक्त सहयोग गर्ने चीनकाे घाेषणा

नेपाललाई ५० लाख युआन बराबरको अतिरिक्त सहयोग गर्ने चीनकाे घाेषणा

काठमाण्डाै – परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिड–१९ विरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवम् अन्तर्राष्ट्रिय सहयोग अपरिहार्य भएको बताउनुभएको छ । 

Advertisement

अफगानिस्तान, बङ्गलादेश, चीन, नेपाल, पाकिस्तान र श्रीलङ्काका विदेश मन्त्री सम्मिलित अप्रत्यक्ष सम्मेलनलाई मङ्गलवार (आज) सम्बोधन गर्दै मन्त्री ज्ञवालीले कोभिड–१९ ले थलिएको अर्थतन्त्रलाई गति दिन तथा आर्थिक पुनरुत्थानका लागि पनि क्षेत्रीय एवम् अन्तर्राष्ट्रिय सहयोगको मात्रा वृद्धि आवश्यक भएको बताउनुभयो । 

Advertisement

सम्मेलनका क्रममा चीनको राज्य परिषद् सदस्य तथा विदेश मन्त्री वाङ यीले कोरोनाविरुद्धको नेपालको राष्ट्रिय लडाइँमा चिनियाँ युआन ५० लाख बराबरका चिकित्सा उपकरण र सामग्री अतिरिक्त अनुदान स्वरूप उपलब्ध गराउने घोषणा गर्नुभएको परराष्ट्र मन्त्रालयले जनाएको छ । 

सम्मेलनमा सहभागी मन्त्रीले कोभिड–१९ को महामारीविरुद्ध लड्न, रोजगारी र नागरिककाे जीवन जोगाउन तथा अर्थतन्त्रलाई पुनर्जीवन दिन व्यावहारिक सहयोगलाई सबल बनाउन सहमति जनाउनुभएको पनि मन्त्रालयले जनाएको छ । रासस