August 5, 2021, Thursday
२१ श्रावण २०७८, बिहीबार

राजस्व परिचालन बृद्धि, उठ्यो सात खर्ब ६१ अर्ब बराबरको राजश्व

राजस्व परिचालन बृद्धि, उठ्यो सात खर्ब ६१ अर्ब बराबरको राजश्व

कोभिडले आर्थिक गतिविधि ठप्प छन् । आम उपभोत्ताको दैनिक कष्टकर बन्दै गएको छ । सरकारको काम कर उठाउने मात्र होइन, करदातालाई सुविधा दिने पनि हो । तर महामारीको असर भोगिरहँदा पनि कुनै छुट र राहत नपाउँदा करदाताले पीडित त भएनै राज्यलाई तिनुपर्ने कर भने धमाधम तिरिरहेका छन् । परिमाण राजस्व भने लक्ष्यको हाराहारिमै उठेको छ ।  सरकारी अधिकारीले कर बुझाउने म्याद थपेको र संक्रमणदर पनि घट्दै गएकाले लक्ष्य पूरा हुने दाबी गरेका छन् ।

कोरोना नियन्त्रणका लागि देशव्यापी रुपमा निषेधाज्ञा जारी भएपनि कुल राजस्व परिचालन भने बढेको छ । अर्थ मन्त्रालयको अनुसार कूल राजश्व परिचालन गत आवको सोही अवधिको तुलनामा २५.४ प्रतिशलते वृद्धि भएको हो । अर्थका अनुसार वैशाखसम्म कूल रु ७ खर्ब ६१ अर्ब बराबरको राजश्व उठेको छ । कूल राजश्वमा कर राजश्व रु ७ खर्ब नौ अर्ब ६२ करोड रहेको छ । यस्तै, गैरकर राजश्व रु ५१ अर्ब ३८ करोड रहेको छ । सो अवधिमा अन्य प्राप्तिसहित कूल राजश्व र प्राप्ति रु ७ खर्ब ९७ अर्ब ३३ करोड रहेको छ ।

गत वैशाख मसान्तसम्ममा गत आवको सोही अवधिको तुलनामा सम्पूर्ण शीर्षकका कर राजश्वमा वृद्धि भएको छ भने गैर कर राजश्व सङ्कलनमा कमी आएको छ । कोभिड १९ को महामारीको समयमा समेत वस्तुको पैठारी निरन्तर भइरहेकाले भन्सार बिन्दुमा सङ्कलन हुने कर राजश्वमा वृद्धि भएको हो ।

शीर्षकगत लक्ष्यमा आन्तरिक तर्फको मूल्य अभिवृद्धिकर, भन्सार महसुल र अन्य कर शीर्षकको राजश्व लक्ष्यभन्दा बढी सङकलन भएको मन्त्रालयले जनाएको छ । समग्मा राजश्व सङ्कलन ९४.६ प्रतिशत रहेको छ । यस अवधिमा भन्सार बिन्दुमा सङ्कलन भएको कर राजश्व ३८.३ प्रतिशतले बढेर रु तीन खर्ब ४८ अर्ब ३० करोड पुगेको छ । यस्तै, आन्तरिकतर्फको कर राजश्व २०.५ प्रतिशतले बढेर रु तीन खर्ब ६१ अर्ब ३२ करोड पुगेको छ ।

मन्त्रालयका अनुसार वैशाख मसान्तसम्म रु दुई खर्ब दुई अर्ब २८ करोड बराबरको अन्तर्राष्ट्रिय विकास सहायता प्रतिवद्धता प्राप्त भएको छ । गत आवको सोही अवधिमा तुलनामा रु एक खर्ब ४९ अर्ब ५० करोड बराबरको प्रतिवद्धता प्राप्त भएको थियो । उक्त प्रतिवद्धतामध्ये अनुदान सहायता १०.९ प्रतिशत र ऋण सहायता ८९.१ प्रतिशत रहेको छ । वैदेशिक सहायता प्रतिवद्धतामा द्विपक्षीय र बहुपक्षीय सहायताको हिस्सा क्रमशः ४.७ प्रतिशत र ९३.३ प्रतिशत रहेको छ । कूल वैदेशिक सहायता प्रतिवद्धतामा सडक क्षेत्रमा सबैभन्दा बढी २६.७ प्रतिशत, ऊर्जा क्षेत्रमा २२.९ प्रतिशत र बजेटरी सहायतामा ११.७ प्रतिशत रहेको छ ।

भन्सार राजस्व जेठ मसान्तसम्म लक्ष्यको ८६ प्रतिशत संकलन भएको छ । असार मसान्तसम्म ४ खर्ब ६२ अर्ब २६ करोड उठाउने भन्सार विभागको लक्ष्य हो । उसले अहिलेसम्म ४ खर्ब १ अर्ब उठाएको छ । गैर कर राजस्व ९८ अर्ब ८० करोड उठाउने लक्ष्य रहेकामा त्यसको आधा पनि उठेको छैन । १० खर्ब ११ अर्ब राजस्व संकलनको लक्ष्य पूरा गर्न अब १ खर्ब ९४ अर्ब उठाउनुपर्छ । कोभिडको दोस्रो लहर चैत अन्तिम साता सुरु भएपनि आर्थिक क्रियाकलाप भने वर्षभरि नै प्रभावित भए । यसका बाबजुद ८३ प्रतिशत राजस्व उठ्नु सकारात्मक हो । महामारीले पिल्सिएका बेला समेत करदाताले खुरुखुरु कर तिरे पनि उनीहरुलाई सरकारले भने कुनै राहत दिएको छैन ।

त्यस्तै, पछिल्लो समयमा स्थायी लेखा नम्बर (प्यान) लिनेको सङ्ख्यामा वृद्धि हुँदै गएको पाइएको छ । अर्थ मन्त्रालयका अनुसार चालु आर्थिक वर्षको वैशाख मसान्तसम्म कस्ल ४० लाख ४३ हजार ७९४ ले प्यान लिएका छन् । प्यान लिनेको सङ्ख्या बढ्दै जाँदा ढुक्कले कमाउने र कानूनअनुसार लाग्ने कर तिर्ने सङ्ख्यामा बढोत्तरी भएको देखिन्छ ।

मन्त्रालयका अनुसार सो अवधिमा दर्ता भएका कूल करदातामध्ये व्यावसायिक स्थायी लेखा नम्बर लिने करदाता १५ लाख ९३ हजार ७४ पुगेको छ । यस्तै, व्यक्तिगत स्थायी लेखा नम्बर लिने करदाता २४ लाख ४१ हजार ५८६ रहेका छन् । करकट्टी गर्ने निकायले लिएको स्थायी लेखा नम्बर नौ हजार १३४ पुगेको छ । मन्त्रालयका अनुसार मूल्य अभिवृद्धि कर(भ्याट)मा दर्ता भएका करदाताको सङ्ख्या दुई लाख ८८ हजार ७०८ पुगेको छ । उता, अन्तःशुल्कमा दर्ता हुने करदाताको सङ्ख्या एक लाख ११ हजार ४९१ पुगेको छ ।