April 21, 2025, Monday
[nepali_today_date]

बजारमा उछाल आउँदा आईपिओकै मूल्य

उकालो यात्रामा रहेको शेयर बजार बुधबार झण्डै २० अंकले बढेको छ । कारोबारमा आएका अधिकांस कम्पनीहरुको शेयरमा कारोबार चाप देखिएको छ भने आकर्षण वाणिज्य बैंकहरुमा छ । बजारमा देखिएको यस्तो वृद्धिले लगानीकर्ताले धेरै कमाउने आकंक्षा राखेको बुझ्न सकिन्छ । बुधबार शेयर बजार परिसुचक नेप्से १९.१४ अंकले बढेर १२७९.२९ अंकमा उक्लिएको छ । १७२ कम्पनीका ३४ लाख ८ हजार कित्ता शेयरहरु ९५ करोड ३ लाख रुपैंयामा कारोबार भएका छन् । अघिल्लो दिनको तुलनामा कारोबार रकममा ३४ करोड रुपैंयाको सुधार आएको हो । परिसुचकसँगै कारोबार रकममा पनि भारी बढोत्तरी देखिँदा लगानीकर्ताको मनोबल बलियो भएको बुझ्न सकिन्छ । बजार खुलेदेखि नै एकनासले उकालो लागेको थियो । यसले लगानीकर्ताहरु बजारमा जोखिम नरहेको निष्कर्षमा पुगेको देखाउँछ । बुधबार वाणिज्य बैंक समुहमा मात्र २५ अंक बढीको सुधार आएको छ । १० उपसमुह मध्ये ८ उपसमुहमा फराकिलो अन्तरको सुधार आएको छ । जलविद्युत र उत्पादन समुहमा भने सामान्य गिरावट आएको छ । बिग मर्जरको चर्चा बढ्न थालेसँगै लगानीकर्ताहरु वाणिज्य बैंकको शेयरमा बढी आकर्षित भएको व्याख्या पनि गर्न थालिएको छ । वाणिज्य बैंकहरुको शेयर मूल्यमा आएको तिब्र सुधारले नै समग्र बजारलाई उचालिरहेको छ । बजार उचालिरहेपनि पछिल्ला दिनहरुमा शेयर बजार परिसुचक नेप्सेमा उछाल आइरहेको छ । निरन्तर बढेर सोमबार सामान्य करेक्सन देखिएको बजार त्यस पछिका दिनमा पनि बढिरहेको छ । बजार निरन्तर बढ्दै गर्दा ६८ कम्पनीहरुको शेयर मूल्य २०० रुपैंयाभन्दा तल छ । बुधवार बजार बन्द भए पछिको तथ्यांकका आधारमा हेर्दा ६८ कम्पनीहरुको शेयर मूल्य २०० रुपैंयाभन्दा तल छ । कतिपय कम्पनीहरुको शेयर मूल्य आईपिओकोभन्दा सस्तो छ । जलविद्युत कम्पनीहरुले दिने प्रतिफललाई लगानीकर्ताले नजिकबाट आँकलन गर्न थाले पछि पछिल्लो समय जलविद्युत कम्पनीहरुको शेयर मूल्य तल्लो विन्दुमा ओर्लिएका छन् । सिभिल, मेगा, सेञ्चुरी र जनता बैंकको शेयर मूल्य २०० रुपैंयाभन्दा तल छ । त्यसै गरी २१ वटा विकास बैंकको शेयर मूल्य पनि २०० रुपैंयाभन्दा तल छ । उता २०० रुपैंयाभन्दा सस्तो मूल्यमा रहेका फाइनान्स कम्पनीको संख्या पनि उस्तैछ । मंगलबारको शेयर मूल्यका आधारमा हेर्दा सबैजसो फाइनान्स कम्पनीहरुको शेयर मूल्य २०० रुपैंयाभन्दा तल रहेको देखिन्छ । सबैभन्दा धेरै संख्यामा जलविद्युत कम्पनीहरुको शेयर मूल्य २०० रुपैंयाभन्दा तल छन् । अझ डेढ सय रुपैंयाको हाराहारीमा केही कम्पनीको शेयर कायम हुँदा धेरै कम्पनीहरुको शेयर मूल्य १०० रुपैंया अर्थात आईपिओको मूल्यभन्दा तल रहेको तथ्यांकले देखाउँछ । ११ जलविद्युत कम्पनीको शेयर मूल्य १०० रुपैंइाभन्दा तल रहेको छ भने एउटाको १०० रुपैंया रहेको देखिन्छ । जलविद्युत लगानी तथा विकास कम्पनीको शेयर मूल्य पनि २०० रुपैंयाभन्दा तल छ । माथि तालिकामा उल्लेख गरिएका कम्पनीहरुमा कतिपयको वित्तीय अवस्था नै कमजोर भएकाले शेयर मूल्य तल झरेको हो । कतिपयको संस्थागत सुशासन कमजोर भएका कारण शेयर मूल्यमा नकरात्मक असर पारेको देखिन्छ । लगानीकर्ताहरुले यस्ता कम्पनीको पहिचान गर्ने तथा कम्पनीको अवस्थाका बारेमा अध्ययन गरेर मात्र लगानीको निर्णय गर्नु उचित हुन्छ ।

Advertisement