March 28, 2024, Thursday
१५ चैत्र २०८०, बिहीबार

माछापुच्छ्रे बैंकमा ग्राहकको खाताबाटै ९ लाख हराएको केस सीआईबिमा

माछापुच्छ्रे बैंकमा ग्राहकको खाताबाटै ९ लाख हराएको केस सीआईबिमा

माछापुच्छ्रे बैंकमा ग्राहकको खाताबाटै ९ लाख रुपैयाँ हराएको केस सीआईबिमा पुगेको छ । बैंकको रौतहटस्थित चन्द्रपुर शाखाबाट वृन्दावन नगरपालिकाका रामेश्वर राय यादवको ९ लाख रुपैयाँ हराएको केस सीआईबीमा पुगेको हो ।

Advertisement

पीडित यादवका अनुसार शुक्रबारसम्म उनको खातामा १२ लाख २० हजार रुपैयाँ थियो । बिहीबार बिहान उनले १२ लाख २० हजार रकम भएको नेपाल बैंक लिमिटेडको चेक नम्बर ०१२७६४९९७३ को ९ लाख, सोही बैंकको चेक नम्बर ०१२७६४९९७४ बाट २ लाख २० हजार र ग्लोबल आईएमई बैंकको ००५८०१६७५२ नम्बर चेकको १ लाखको भौचर भरेर माछापुच्छ्रे बैंकमा जम्मा गर्न (क्लिरियन्समा) दिएका थिए ।

Advertisement

बैंकमा रहेको यादवको खाताबाट शंकास्पद रुपमा गायब भएको ९ लाख रुपैयाँ खल्ती एप र मोबाइल बैंकिङमार्फत सिटिजन्स बैंक र सानिमा बैंकमा रहेको २ वटा खातामा ट्रान्सफर भएको देखिएको बैंकको भनाई छ ।

हालसम्म बैंकले गरेको आन्तरिक अनुसन्धानबाट खुलेको सम्पूर्ण तथ्य र विवरणसहित थप छानबिनका लागि सीआईबीमा उजुरी गरिएको बैंकले जनाएको छ । बैंकका अनुसार उजुरीमा रकम ट्रान्सफर भएको सिटिजन्स बैंक र सानिमा बैंकका दुई जनालाई विपक्षी बनाइएको छ ।

शुक्रबारमात्रै आफ्नो खाता नम्बर ७५००६५३८२८०००१४ मा पैसा जम्मा भएको म्यासेज पनि आएको यादवले दाबी गरेका छन् । उनका अनुसार आइतबार ८ लाखको चेक लिएर साट्न बैंक पुग्दा बैंकका कर्मचारीले खाताबाट ९ लाख रुपैयाँ गायब भएको जानकारी दिएका थिए । शुक्रबारसम्म खातामै रहेको पैसा रहस्यमय तरिकाले हराएपछि आइतबार पीडित पक्षले बैंकको रौतहटस्थित चन्द्रपुर शाखा घेराउ समेत गरेका थिए ।

बैंक र ग्राहकबीच घटनाका अनुसन्धान १ महिनाभित्र सिध्याउने र प्रहरी अनुसन्धानबाट जसको गल्ती देखिन्छ रकम उसैले बेहोर्ने सहमति भएको छ ।