April 30, 2025, Wednesday
[nepali_today_date]

आर्थिक तथा प्राविधिक सहायता बढाउन विश्व बैंकलाई सरकारको आग्रह

नेपाल सरकारले आर्थिक तथा प्राविधिक सहायता बढाउन विश्व बैंकसँग आग्रह गरेको छ ।

Advertisement

काठमाडौंमा रहेका विश्व बैंकको नेपाल, माल्दिभ्स र श्रीलंका हेर्ने देशीय निर्देशक फारिस हदाद जार्बोससँगको भेटमा अर्थमन्त्री वर्षमान पुनले उक्त आग्रह गरेका हुन् । अर्थतन्त्र अझै दबाबको स्थितिमा रहेको बताउँदै मन्त्री पुनले नेपाललाई प्राथमितामा राख्न आग्रह गरेका थिए ।

Advertisement

विश्व बैंकको लगानीमा निर्माण प्रस्ताव गरिएको महत्वाकांक्षी माथिल्लो अरुण जलविद्युत् आयोजना, प्रदेश तथा स्थानीय सडक पूर्वाधार निर्माण, डिजिटल नेपालसम्बन्धी आयोजनाका काम नेपालले प्राथमिकताका साथ अघि बढाइरहेको मन्त्री पुनले बताए ।

भेटमा देशीय निर्देशक जार्बोसले विश्व बैंकको लगानीमा सञ्चालित आयोजनाको प्रगति सन्तोषजनक बनाउन सरकारका तर्फबाट गर्नुपर्ने समन्वयका लागि ध्यानाकर्षण गराएका थिए । विश्व बैंकले नयाँ साझेदारी रणनीतिको खाका निर्माण गरिरहेको बताउँदै जार्बोसले आगामी जुनमा काठमाडौंमा हुने विश्व बैंकअन्तर्गतको अन्तर्राष्ट्रिय विकास संघ (आइडिए)को बैठकको तयारीबारे जानकारी गराएका थिए। आइडीएले विकासोन्मुख मुलुकका लागि वित्तीय सहायता, सहुलियतपूर्ण ऋण र अनुदानप्रदान गर्दै आएको छ ।