April 24, 2024, Wednesday
१२ बैशाख २०८१, बुधबार

आन्तरिक पर्यटकको रोजाईमा वाटरपार्कमा

आन्तरिक पर्यटकको रोजाईमा वाटरपार्कमा

 

Advertisement

नेपालगञ्जको धम्बोझीमा अवस्थित वाटरपार्क आन्तरिक पर्यटकको रोजाइमा परेको छ । तालको पुनःनिर्माणसँगै तयार भएको पूर्वाधार विकासले सर्वसाधारणलाई लोभ्याएको छ । वाटरपार्क सहरको बीच भागमा रहेकाले सर्वसाधारण सजिलै त्यहाँ पुगेर रमाउने गरेका छन् ।

Advertisement

वाटरपार्कको पुनःनिर्माणसँगै मोटरबोट सञ्चालन भएपछि त्यहाँ आन्तरिक पर्यटकको चहलपहल बढेको नेपालगञ्ज उपमहानगरपालिका वडा नं १ का वडाध्यक्ष प्रमोद रिजालले बताए । “यो हाम्रो वडाको मात्रै नभएर जिल्लाकै प्रमुख पयर्टकीय क्षेत्रका रूपमा विकास हुँदै गएको छ”, नेपालगञ्ज उपमहानगरपालिकाका प्रवक्तासमेत रहेका रिजालले भने, “वाटरपार्क पर्यटन प्रवर्द्धनसँगै उपमहानगरपालिकाको आन्तरिक स्रोत सङ्कलनको माध्यम पनि बन्दै गएको छ ।”

नेपालगञ्जमा गर्मी सुरु भएसँगै वाटरपार्क घुम्न, साँझ शीतलमा रमाउन, दिनभरिको कामको बोझ र थकान मेटाउन आन्तरिक पर्यटक पुग्ने गरेका छन् । आसपासमा खुला चौर भएकाले पनि शीतल हावा आउँछ । चुच्चे आकारको फराकिलो वाटरपार्कको सौन्दर्यमा समय बितेको पत्तै नहुने स्थानीय प्रजुन गिरीले बताए ।

विसं २०६५ मा सुुरु भएको वाटरपार्क योजनाअनुसार त्यहाँ आकर्षक फूलबारी, बाल उद्यान, व्यापारिक प्रयोजनका पसल कोठालगायत संरचना निर्माण गरिँदैछ । वरिपरि पक्की सडक निर्माण भइरहेको छ । पन्ध्र वर्ष पुरानो वाटरपार्क योजनाअन्तर्गत ६५ बिघा क्षेत्रफलमध्ये १० बिघामा तलाउ छभने बाँकीमा बसोबासको पूर्वाधारयुक्त आधुनिक बस्ती बसाउने योजना छ ।

वाटरपार्कमा पानीको सतह कायम राख्न कम्पनीले नै बोरिङ गरेको छ । तालमा मोटरबोट चलाउन योग्य बनाउन करिब दुई महिना समय लागेको ढकालले जानकारी दिए। कम्पनीले वाटरपार्कमा मोटरबोट सञ्चालन गरेवापत नेपालगञ्ज उपमहानगरपालिकालाई वार्षिक २५ लाख रुपैयाँ बुझाउने सम्झौता भएको ढकालले जानकारी दिए ।

वाटरपार्कमा जेटस्कि, पाँचवटा पावरस्पोर्ट्स, फ्लोटिङ रेष्टुरेण्ट, अपोजिट बन्जी, साइक्लिङ, जिपलाइनलगायत सेवा विस्तार गर्ने योजना रहेको पनि ढकालले बताए ।