January 15, 2025, Wednesday
२ माघ २०८१, बुधबार

नेपालगञ्ज भन्सार नाकामा राजस्व सङ्कलनमा वृद्धि

नेपालगञ्ज भन्सार नाकामा राजस्व सङ्कलनमा वृद्धि

नेपालगञ्ज भन्सार नाकामा चालु आर्थिक वर्षको फागुनसम्म राजस्व सङ्कलन वृद्धि भएको छ। गत आवको सोही अवधिको तुलनामा चालु आर्थिक वर्षमा सोही अवधिमा राजस्व संकलन एक दशमलव ३५ प्रतिशतले वृद्धि भएको हो।

Advertisement

गत आवको फागुनसम्ममा ११ अर्ब ४३ करोड ६२ लाख २९ हजार रूपैयाँ राजस्व संकलन भएकोमा चालु आवको सोही अवधिमा ११ अर्ब ५९ करोड नौ लाख ४३ हजार रूपैयाँ राजस्व संकलन भएको भन्सार अधिकृत ध्रुवराज विश्वकर्माले जानकारी दिए ।

Advertisement

चालु आवको आठ महिनामा सात करोड ८९ लाख ९५ हजार रूपैयाँ बराबरको सामान बरामद भएको छ। गत वर्षको सोही अवधिमा दुई करोड १५ लाख ६३ हजार रूपैयाँ बराबरको सामान बरामद भएको थियो।

फागुनसम्मको लक्ष्य १८ अर्ब ७७ करोड ४८ लाख २९ हजार रूपैयाँ रहेकामा ११ अर्ब ५९ करोड नौ लाख ४३ हजार राजस्व संकलन भएको अधिकृत विश्वकर्माले बताए । विश्वकर्माका अनुसार लक्ष्यको ६१ दशमलव ७४ प्रतिशत राजस्व संकलन भएको छ ।

उनका अनुसार चालु आवको फागुनसम्ममा ४६ अर्ब १७ करोड रूपैयाँ बराबरको सामान आयात आएको छ। गत वर्ष सोही अवधिमा ४३ अर्ब ३० करोड रूपैयाँबराबरको सामान आयात भएको थियो। त्यसैगरी समीक्षा अवधिमा एक अर्ब ५६ करोड बराबरको सामान निर्यात भएको छ भने गत वर्ष सोही अवधिमा एक अर्ब ५७ करोड बराबरको सामान निर्यात भएको थियो।

यो वर्ष भारतबाट मात्रै ९२ दशमलव ८७ प्रतिशतले सामान आयात भएको छ। बाँकी चीन, इन्डोनेसिया, मलेसियालगायत अन्य देशबाट आयात भएको भन्सार कार्यालयले जनाएको छ। यसै वर्ष भारतमा ९९ दशमलव ०७ प्रतिशत सामान निर्यात भएको छ। प्रमुख भन्सार अधिकृत विश्वकर्माका अनुसार यात्रु शाखाबाट दैनिक दुई लाख राजस्व संकलन हुने गरेको छ।

सबैभन्दा धेरै आयल निगमबाट राजस्व संकलन हुने गरेको प्रमुख भन्सार अधिकृत विश्वकर्माले बताए। उनका अनुसार ५१ प्रतिशत राजस्व संकलन आयल निगमबाट हुने गरेको छ।

चालु आवको चैत महिनाको राजस्वको लक्ष्य दुई अर्ब ४५ करोड तीन लाख ७४ हजार रूपैयाँ रहेकोमा चैत १७ गतेसम्म ८० करोड १० लाख ३३ हजार रूपैयाँ राजस्व संकलन भइसकेको छ । यो लक्ष्यको ३२ दशमलव ६९ प्रतिशत हो।

प्रमुख भन्सार अधिकृत विश्वकर्माका अनुसार पेट्रोलियम पदार्थ, शुद्ध फलाम, चामल, आलु, टायल, स्टील वायर, सुपारी, भटमासको पिना, एमएस बिलेट, अलकत्रा, फलामे पत्रु र तयारी कपडालगायतका सामग्री राजस्व आउने प्रमुख मालवस्तु हुन्। नेपालबाट जडीबुटीलगायतका वस्तु भारततर्फ निर्यात हुने गरेको छ ।