प्रहरीद्वारा चार अर्ब तीन करोड राजस्व सङ्कलन
यस चालु आर्थिक वर्षको हालसम्म नेपाल प्रहरीद्वारा जम्मा चार अर्ब तीन करोड ४४ लाख ९६ हजार ५२९ रुपैयाँ बराबरको राजस्व सङ्कलन भएको जनाइएको छ ।
उक्त राजस्व चोरी, पैठारी तथा अवैध सुन, चाँदी, मालसामान, नदीजन्य पदार्थ, अवैध काठ बरामद, अवैध मुद्रा, हुन्डी कारोबार, ट्राफिक जरिवाना, फैसला कार्यान्वयनलगायत शीर्षकबाट सङ्कलन भएको हो ।
ती शीर्षकमा संलग्न सात हजार छ सय ७९ जनालाई प्रहरीले कानुनी दायरामा ल्याई उक्त राजस्व सङ्कलन गरेको केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक भीमप्रसाद ढकालले जानकारी दिए । उनका अनुसार राज्यको कानुन कार्यान्वयनका क्रममा फैसला कार्यान्वयनबाट पक्राउ, अवैध भन्सार छली, ट्राफिक कारबाहीलगायत कार्यबाट नेपाल प्रहरीले वार्षिक रूपमा ठूलो परिमाणमा राजस्व सङ्कलन गर्दै आएको छ ।
सङ्कलित राजस्वमध्ये अवैध मालसामान बरामदबाट एक अर्ब ३६ करोड ४४ लाख तीन हजार दुई सय ५६ रुपैयाँ, ट्राफिक जरिवानाबाट एक अर्ब १० करोड ३६ लाख ४५ हजार तीन सय ५४ रुपैयाँ र फैसला कार्यान्वयनबाट एक अर्ब दुई करोड ७८ लाख तीन हजार पाँच सय ४३ रुपैयाँ सङ्कलन भएको प्रवक्ता ढकालले जानकारी दिए ।
चालु आर्थिक वर्षको फागुन मसान्तसम्म आठ महिनाको राजस्व सङ्कलन गत आर्थिक वर्षको आठ महिनाको तुलनामा ५० दशमलव २८ प्रतिशतले राजस्व सङ्कलनमा वृद्धि भएको प्रहरीको तथ्याङ्कले देखाएको छ ।
प्रतिकृया दिनुहोस्