दैनिक १० जना यात्रु बोकेर कुददै नेपालको रेल
नेपालको एकमात्र रेल वे सेवा यात्रु अभावमा रित्तै हिड्ने गरेको छ । रेलमा यात्रु नभएपछि भंगाहाको विजलपुरा स्टेशनबाट रेल रित्तै भंगाहासम्म आउने जाने गरेको छ । १३ सय ५० यात्रु बोक्ने क्षमताको भएको रेलमा दैनिक १० जनाको हाराहारीमा मात्र रेलमा यात्रु चढ्ने गरेका छन् । रेल जनकपुरबाट रित्तै आउने गरेको नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक निरञ्जन झाले बताएका छन् । गत असारबाट जयनगर–जनकपुर–भंगाहासम्म चल्न थालेको रेल त्यसयता करोडौ घाटामा गईसकेको छ । यात्रु बढाउन रेललाई जतिसक्यो छिटो बर्दिवाससम्म पु¥याउनु पर्ने देखिएकाले बर्दिवास तर्फको काम अघि बढाउने अन्तिम तयारी भईरहेको झाको दाबी छ ।
रेलका कर्मचारी, प्राविधिक र चालकको तलब सुविधा सहित रेल सञ्चालन गर्न महिनामा लाखौँ रकम राज्य कोषबाटै खर्च भईरहेको भएपनि यात्रु अभाव हुँदा रेल सञ्चालन महँगो हुँदै गएको हो । दैनिक १० हजार बढी रेलको इन्धन खर्च लाग्ने भएपनि आम्दानी (टिकट भाडा) बापत दिनको ४ हजार उठ्ने गरेको झाले बताए । यस हिसावले आम्दानीबाट इन्धनमा लाग्ने खर्च समेत नउठने र अन्य खर्च भने राज्यकोषबाट ब्यहोर्नुपर्ने देखिएको छ ।
जयनगर–विजलपुरा स्टेशसनसम्म ५२ किलोमिटर रेल सञ्चालनमा आएपछि स्थानीय भने रेलको सेवाबाट आफूहरुलाई सुविधा नभएको बताउँछन् । नेपाल रेल्वेका अनुसार बिहान ७ बजे भंगाहाबाट छुट्ने रेल जयनगर–जनकपुर २ पटक आवतजावत गरेपछि साँझ ७ बजे मात्रै भंगाहा फर्किन्छ । यसरी आउने रेलमा खाना लगायतको समस्या छ । भोको पेटले बिहान रेलमा हिँडेको मान्छे बेलुका ७ बजेमात्रै फर्किने भएपछि रेल भन्दा अन्य सवारीबाटै जनकपुर जान आउन छिटो र सजिलो हुने स्थानिय बताउँछन् । यात्रु रेलमा नचढ्नुको प्रमुख कारण नै यही रहेको छ । यात्रुहरु छिटो र सुविधाका लागि अन्य सेवाको प्रयोग गर्ने गरेका छन् । जसले पनि यात्रुको समस्या पर्दे गएको हो । स्थानीयले रेल पटक पटक आउनेजाने गरे मात्रै सुविधा हुने बताउँदै आएका छन् ।
बर्दिवासबाट रेल चल्न थालेपछि जनकपुर–जयनगर यात्रु भएनन् भन्नुपर्ने अहिलेको अवस्था अन्त्य हुने बर्दिवास उद्योग वाणिज्य संघका अध्यक्ष विष्णु खड्काले बताए । रेलले दिने सेवाका आधारमा पनि यात्रु जोडिने भएकाले मालबहाक सहितको यात्रु सेवा रेलले दिने र दुबै देशका उत्पादन, बजार र व्यापार व्यवसायलाई समेत जोड्दै जानसके आम मानिसको जीवनस्तरमा फेरबदल हुनसक्ने खड्काको भनाई छ ।
नेपाल–भारत सम्झौता अनुसार नेपालका काठ र जडीबुटी भारत लैजाने र उपभोग्य सामग्री नेपाल ल्याउने गरी सन् १९८४ देखि विजलपुरा स्टेशनसम्म रेल सञ्चालन सुरु भएको थियो । भारत सरकारको १२ सय ५४ करोड लगानीमा नेपालमा भारतीय रेल्वे कम्पनी इरकन इन्टरनेशनलले रेल्वे ट्रयाक निर्माणको काम गर्दै आइरहेको छ ।
प्रतिकृया दिनुहोस्