February 6, 2025, Thursday
२४ माघ २०८१, बिहीबार

गृहमन्त्री लामिछानेले सूर्यदर्शन सहकारीबाट ऋण लिएको पुष्टि, के छ सीआईबीको प्रतिवेदनमा ?

उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले सूर्यदर्शन सहकारीबाट ऋण लिएको पुष्टि भएको छ । पोखरा महानगरले गठन गरेको छानबिन समितिले लामिछानेले ऋण माग फाराम भरेर सहकारीबाट रकम लिएको प्रमाणसहित प्रतिवेदन बुझाएपछि उनले ऋण लिएको पुष्टि भएको हो ।

Advertisement

यस अघि सीबीआईको अनुसन्धानमा लामिछानेलाई क्लीन चिट दिइएको भएपनि पीडितहरूको मागको आधारमा पोखरा महानगरले गठन गरेको छानबिन समितिलले भने लामिछानेले एक करोड ऋण लिएको प्रमाणसहित प्रतिवेदन बुझाएको छ । जीबी राई अध्यक्ष रहेको गोर्खा मिडिया नेटवर्कमा लामिछाने प्रबन्ध निर्देशक भएका बेला सूर्यदर्शन सहकारीबाट ३० करोड रुपैयाँ लिएको तमसुक र लामिछाने स्वयंका नाममा खाता खोलेर सहकारीबाट एक करोड रुपैयाँ ऋण निकालेको प्रमाण छानबिन समितिले फेला पारेको छ ।

Advertisement

वित्तीय विश्लेषणका क्रममा फेला परेको कर्जा माग फारामको फोटोकपी प्रतिवेदनमा राखिएको बताइएको छ । रवि लामिछानेको मागअनुसार एक करोड रुपैयाँ गएको र पैसा कहाँ गयो, कुन मितिमा, कुन चेकबाट पैसा गयो भनेर पनि प्रतिवेदनमा लेखिएको छ । पोखरा महानगरको छानबिन समिति र सीआईबीको अनुसन्धानले एउटै विषय पुष्टि गरेका छन् । प्रतिवेदनमा सूर्यदर्शनका ८७ ‘शंकास्पद ऋणी’ को सूचीमा पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दीपेश पुनको नाम ६ र २६ नम्बरमा, रवि लामिछानेको नाम १९ नम्बरमा, गितेन्द्रबाबु राईको नाम २१ नम्बरमा छ । लामिछानेले चेक तथा नगदबाट एक करोड लिएका छन् ।

के छ सीआईबीको प्रतिवेदनमा ?

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) जिल्ला प्रहरी कार्यालय पोखराको संयुक्त टोलीले  गरेको अनुसन्धानमा सूर्यदर्शन सहकारी संस्थाको २०२७२२१०८५ नम्बरको चेकमार्फत् रवि लामिछानेको नाममा गोर्खा मिडिया ग्रुपको खातामा २०७८ जेठ ६ गते ५० लाख रुपैयाँ जम्मा भएको देखिएको छ । उनको नाममा ०१–००१–००६–०००४४५६ नम्बरको खाता खुलेको देखिएको हो । सो खाता पछि असार ३१ मा गोर्खा मिडिया ग्रुपको नाममा गएको ५० लाख र पेस्की ५० लाख गरेर एक करोड रकम वार्षिक १४ दशमलब ७५ का दरले १२ महिनाका लागि ऋण दिएको उल्लेख गरिएको छ ।

त्यस्तै त्यसको एक महिनापछि असार ९ मा फेरि लामिछानेको नामबाट गोर्खा मिडिया ग्रुपकै नामबाट पेश्की उल्लेख गरेर थप ५० लाख रुपैयाँ जम्मा भएको खुलेको छ । सहकारीबाट एक करोड रुपैयाँ लामिछानेको नाममा गएपछि भने उनकै नाममा सहकारीमा ऋण खाता संचालन समेत भएको भेटिएको छ ।

त्यो बाहेक रवि लामिछानेकै नाममा बचत खाता ००१–००१–४९–००००७७७० रहेको भेटिएको छ । त्यस्तै ऋण भरिएको फर्म समेत फेलापरे पनि त्यसमा वितृत विवरण भने भरिएको छैन । सोही ऋण बराबरको एक करोड ३० लाख ८८ हजार ७३६ रुपैयाँ लामिछानेले २०८० असार १३ मा गोर्खा मिडिया नेटर्वकको नाममा स्वामित्व हस्तान्तरण गरेको देखिएको छ । गृहमन्त्री रवि लामिछानेबाहेक कागजी प्रक्रिया पूरा नगरी ८७ जनाले शंकास्पद तरिकाले सहकारीको रकम ऋण लिएको पुरक अनुसन्धानका क्रममा खुलेको छ । यसरी रकम ऋण लिनेहरुमध्ये अधिकांशले एक करोड भन्दा बढी रकम लिएको खुलेको छ ।