June 16, 2024, Sunday
२ असार २०८१, आईतवार

दस महिनामा एकचालिस अर्ब विदेशी लगानी प्रतिबद्धता

दस महिनामा एकचालिस अर्ब विदेशी लगानी प्रतिबद्धता

मुलुकमा १० महिनाको अवधिमा ४१ अर्ब रुपियाँ प्रत्यक्ष वैदेशिक लगानी (एफडिआई) को प्रतिबद्धता आएको छ । उद्योग विभागको तथ्याङ्क अनुसार चालु आर्थिक वर्षको साउनदेखि वैशाख मसान्तसम्म ३०४ सय परियोजनामार्फत ४१ अर्ब ३८ करोड ५२ लाख २६ हजार रुपियाँ प्रतिबद्धता आएको हो । वैशाख महिनामा मात्र २१ वटा परियोजनामार्फत दुई अर्ब १५ करोड ८५ लाख रुपियाँ प्रतिबद्धता आएको छ ।

Advertisement

१० महिनामा सबैभन्दा धेरै पर्यटन क्षेत्रमा १४४, सेवा क्षेत्रका १०३, उत्पादनमूलक परियाजना ३४, सूचना तथा प्रविधि क्षेत्रमा नौ, कृषिजन्य सात, खानिजजन्य एक गरी परियोजना दर्ता भएका छन् । १० महिनामा सबैभन्दा धेरै साना उद्योग २९०, मझौला उद्योग १३ र ठुला चार उद्योगमा विदेशी लगानी प्रतिबद्धता आएको छ ।

Advertisement

नेपाल राष्ट्र बैङ्कको तथ्याङ्क अनुसार चालु आवको साउनदेखि चैत महिनासम्म छ अर्ब ४८ करोड रुपियाँ भित्रिएको छ । गत वर्ष सो अवधिमा दुई अर्ब ६२ करोड रुपियाँ भित्रिएको थियो । गत वर्षको तुलनामा चार अर्ब १४ करोड रुपियाँले बढी भित्रिएको हो ।

सो अवधिमा मुलुकबाट पुँजीगत ट्रान्सफर १९.२ प्रतिशतले कमी आएर चार अर्ब ७८ करोड कायम भएको छ । अघिल्लो वर्षको सोही अवधिमा पुँजीगत ट्रान्सफर पाँच अर्ब ९१ करोड कायम भएको थियो । चालु आवको बजेटमार्फत भएको नीतिगत सुधारसँगै मुलकमा भित्रिने विदेशी लगानीमा सुधार आएको हो । गत वर्षको तुलनामा चालु आवको सुरुदेखि नै मुलुकमा भित्रिने लगानीमा क्रमिक रूपमा सुधार हुँदै आएको छ ।

सुरुदेखि हालसम्म चार खर्ब ९१ अर्ब ३५ करोड ४१ करोड ४७ लाख रुपियाँ लगानी प्रतिबद्धता आएको छ । जसबाट छ हजार १६६ जनालाई रोजगारी दिने प्रतिबद्धता जनाएको छ । मुलुकमा लगानी गर्ने भनेर प्रतिबद्धता आए पनि सो अनुुपातमा विदेशी लगानी नआई न्यून मात्र आउने गरेको छ । प्रतिबद्धता गरे अनुसार ३० देखि ३५ प्रतिशत मात्र लगानी भित्रिने गरेको छ ।