November 3, 2024, Sunday
१८ कार्तिक २०८१, आईतवार

बङ्गलादेशसँग हुने भनिएको ४० मेगावाट विद्युत् खरिद–बिक्री सम्झौता रोकियो

बङ्गलादेशसँग हुने भनिएको ४० मेगावाट विद्युत् खरिद–बिक्री सम्झौता रोकियो

बङ्गलादेशसँग हुने भनिएको ४० मेगावाट विद्युत् बिक्री सम्झौता रोकिएको छ । बङ्गलादेशमा आरक्षणको विरोधमा भएको हिंसात्मक आन्दोलनका कारण तत्कालका लागि सम्झौता रोकिएको हो ।

Advertisement

यसअघि यही साउन १३ गतेका लागि सम्झौता समय तोकिएको थियो । बङ्गलादेशबाट र भारतबाट समेत प्रतिनिधि काठमाडौँ आएर नेपालसहित त्रिपक्षीय सम्झौताको समय तय भएको थियो ।बङ्गलादेशमा भएको हिंसात्मक आन्दोलनका कारण तत्काललाई रोकिएको हो । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका प्रवक्ता नवीनराज सिंहले बङ्गलादेशले नेपाललाई सम्झौता समय स्थगित गर्न पत्र पठाएको बताए । बङ्गलादेश सरकारले आरक्षणको व्यवस्था लागू गरेपछि विश्वविद्यालयका विद्यार्थी आन्दोलनमा उत्रिएका थिए ।

Advertisement

सो आन्दोलनमा डेढसय जनाभन्दा बढीले ज्यान गुमाएका छन् । यस्तै शुक्रबारदेखि लागू देशव्यापी ‘कफ्र्यू’ समेत हटेको छ । सर्वोच्च अदालतले विद्यार्थीको पक्षमा घोषणा गर्दै आरक्षण व्यवस्था हटाएसँगै स्थिति साम्यतर्फ गइरहेको छ ।नेपाल र बङ्गलादेश लामो समयदेखि विद्युत् खरिद बिक्री सम्झौता गर्न चाहिरहेका छन् । बङ्गलादेश यतिबेला विद्युत्मा भारतसँग मात्रै निर्भर छ । यो निर्भरतालाई केहीहदसम्म कम गर्ने योजना बङ्गलादेशको छ । यस्तै नेपालले समेत आफ्नो सबै विद्युत् भारतीय बजारमा बिक्री गर्दै आइरहेको छ । यो परनिर्भरतालाई न्यून गर्ने चाहनासहित बङ्गलादेशमा विद्युत् निर्यातको ढोका खोल्न नेपाल पनि लालायित छ । यसका लागि भारतीय भूमि प्रयोग गर्नुपर्ने भएकाले भारतीय सहमति आवश्यक छ । तर साउन १३ गतेलाई तय भएको पूर्वनिर्धारित समय सरेको छ । नेपाल र बङ्गलादेशबिच हुने सम्झौतापछि भारतीय प्रसारणलाईको प्रयोगबाट बिजुली किनबेच हुनेछ । भारतीय प्रसारणलाई प्रयोगबापत तोकिएको रकम तिरेर बङ्गलादेश बिजुली पुग्नेछ। काठमाडौँमा हुने भनिएको बैठकले प्रसारणलाईको रकम र तोकिएको रकम कसले तिर्ने भन्ने तय हुन्थ्यो ।

बङ्गलादेशले पठाएको पत्रमा अर्को बैठक कहिले बस्ने भन्ने बारे उल्लेख छैन । यद्यपि, देशको आन्तरिक मामिला सुल्झिएपछि बैठक गर्नेगरी प्रतिबद्धता आएको छ । नेपालसँग बिजुली किन्नका लागि बङ्गलादेशको मन्त्रीपरिषद् बैठकले निर्णय नै गरिसकेको छ । यस्तै आशयपत्र पनि आइसकेको छ । यसबाहेक बङ्गलादेशले नेपालबाट लैजाने बिजुलीको मूल्य प्रतियुनिट ६ दशमलव ४० सेन्ट हुन आउँछ । यो ८ रुपैयाँ हाराहारी हो ।