January 15, 2025, Wednesday
२ माघ २०८१, बुधबार

अघिल्लो बर्ष भयो २५ अर्ब ३३ करोड रकमान्तर, असारमा मात्रै ११ अर्ब ३७ करोड

अघिल्लो बर्ष भयो २५ अर्ब ३३ करोड रकमान्तर, असारमा मात्रै ११ अर्ब ३७ करोड

सरकारले गत आर्थिक बर्ष २०८०–८१ मा २५ अर्ब ३३ करोड ९५ लाख रुपियाँ बजेट रकमान्तर गरेको देखिएको छ । अर्थ मन्त्रालयबाट प्राप्त गत आवको असार मसान्तसम्मको तथ्यांकले यस्तो देखाएको हो ।

Advertisement

सरकारले पुँजीगत बजेटमा सो बराबरको बजेट रकमान्तर गरेको हो । सरकारले कुनै एउटा शीर्षकमा रहेको बजेटबाट सो बराबरको रकम झिकेर अर्कै शीर्षकमा खर्च गरेको हो । यो एक करोड रुपियाँ भन्दा बढी मात्रामा रकमान्तर गरिएको तथ्यांक हो । एक करोड भन्दा कम मात्रामा रकमान्तर गरेको तथ्यांक यसमा समावेश नगरेको अर्थ मन्त्रालयले जानकारी दिएको छ । त्यसमा आर्थिक बर्षको अन्तिम महिनामा मात्रै सरकारले १५६ पटकमा ११ अर्ब ३७ करोड ३१ लाख १० हजार रुपियाँ बजेट रकमान्तर गरेको छ । जेठमा भने ३५ पटक गरेर दुई अर्ब ५९ करोड ७३ लाख ७९ हजार रुपियाँ बजेट रकमान्तर गरिएको छ । आर्थिक बर्षको अन्तिम महिनामा बजेट सक्ने नाममा जथाभावी बजेट रकमान्तर गरेको यो तथ्यांकले पुष्टी गरेको छ । असारमा बजेट रकमान्तर गर्न नपाउने व्यवस्था छ । त्यसमा तत्कालिन सरकारले क्यावीनेटबाट निर्णय गराएर ठूलो रकम रकमान्तर गरेको तथ्यांकले पुष्टी गरेको छ ।

Advertisement

सरकारले गत आवमा तीन खर्ब दुई अर्ब सात करोड ४४ लाख रुपियाँको पुँजीगत बजेट ल्याएको थियो । त्यसमा असार मसान्तसम्म लक्ष्यको ६३.४७ प्रतिशत अर्थात् एक खर्ब ९१ अर्ब ७१ करोड ७८ लाख रुपियाँ खर्च भएको थियो । खर्चकोे १३.२१ प्रतिशत अर्थात् २५ अर्ब ३३ करोड ९५ लाख रुपियाँ बजेट रकमान्तर गरेर खर्च गरिएको छ । यसमा एक करोड रुपियाँको रकमान्तर तथ्यांक समावेश छैन । त्यो अवस्थामा यस्तो रकम अझै बढी हुन सक्ने अनुमान गरिएको छ ।

बजेट खर्चमा अनुशासन कायम भए–नभएको मापन गर्न यो तथ्यांकलाई उपयुक्त आधार मानिन्छ, जुन तथ्यांकले बजेट खर्चमा अनुसशान कायम नभएको पुष्टी गरेको छ । बिशेषगरी बास्तविक र यथार्थपरक बजेट ल्याउन नसक्दा सरकारको खर्चमा बर्षेनी यस्तो समस्या आउने गरेको छ ।

सरकारले बजेटको घोषणाबाटै गत आवमा बजेट अनुशासन कायम गर्ने घोषणा गरेको थियो । तर, सरकारले रकमान्तर गर्दै जथाभावी खर्च गरेको हुन सक्ने विज्ञहरु बताउँछन् । बिशेषगरी बास्तविक र यथार्थपरक बजेट ल्याउन नसक्दा सरकारको खर्चमा बर्षेनी यस्तो समस्या आउने गरेको छ । यथार्थपरक बजेट नआएको अवस्थामा आवश्यकताका आधारमा खर्च गर्न रकमान्तरले एक हदसम्मको सुविधा दिएको छ । साथै यसको दुरुपयोग पनि हुने गरेको छ । जुन शीर्षकबाट बजेट झिकिन्छ, त्यस सम्बन्धी कार्यक्रम तथा परियोजनाको कार्यान्वयन प्रभावित पनि हुने गरेको छ ।

कुन महिना कति रकमान्तर ?
सरकारले गत आर्थिक बर्षको पहिलो महिना अर्थात् साउनमै ५१ करोड १३ लाख रुपियाँ बजेट रकमान्तर गरेको छ । पहिलो महिना भएका कारण साउनमा पूँजीगत काम न्यून हुन्छ । बजेट खर्च पनि न्यून नै हुन्छ । तर, सोही महिनामै सरकारले ठूलो रकम रकमान्तर गरेर खर्च गरेको छ । यसले पनि बजेट खर्चमा अनुशासन पालना नभएको देखिने विज्ञहरु बताउँछन् ।

तथ्यांकअनुसार भदौमा ७५ करोड ५९ लाख ४८ हजार रुपियाँ, असोजमा तीन अर्ब दुई करोड ६० लाख २७ हजार रुपियाँ, कात्तिकमा ४३ करोड ९९ हजार २६ हजार रुपियाँ, मंसिरमा तीन करोड रुपियाँ, पुसमा २७ करोड २९ लाख १० हजार रुपियाँ र माघमा ६७ करोड १८ लाख रुपियाँ बजेट रकमान्तर भएको छ ।

यस्तै, फागुनमा ७० करोड ५५ लाख ६२ हजार रुपियाँ, चैतमा दुई अर्ब ५५ करोड ४८ लाख ३७ हजार रुपियाँ र बैशाखमा दुई अर्ब ४० करोड ६ लाख ९६ हजार रुपियाँ बजेट रकमान्तर गरेर खर्च गरिएको छ । यस्तै, जेठमा दुई अर्ब ५९ करोड ७३ लाख ७९ हजार रुपियाँ र असारमा ११ अर्ब ३७ करोड ३१ लाख १० हजार रुपियाँ बजेट रकमान्तर भएको छ।