November 3, 2024, Sunday
१८ कार्तिक २०८१, आईतवार

एक वर्षमा १४ करोडको अचार निर्यात

एक वर्षमा १४ करोडको अचार निर्यात

वीरगन्जस्थित सिर्सिया सुक्खा बन्दरगाह नाकाबाट गत आर्थिक वर्षमा १४ करोडभन्दा बढीको अचार निर्यात भएको छ । विभिन्न नेपाली ब्रान्डका अचार तेस्रो मुलुकतर्फ निर्यात भएको बन्दरगाहस्थित भन्सार कार्यालयले जनाएको हो ।

Advertisement

गत आर्थिक वर्षमा १४ करोड २६ लाख ४ हजार ४ सय २० रुपैयाँ बराबरको १ लाख ६९ हजार किलो नेपाली अचार निर्यात भएको भन्सार कार्यालयको तथ्यांकमा उल्लेख छ । अघिल्लो आर्थिक वर्षमा यस नाकाबाट १० करोड ३ लाख रुपैयाँ बराबरको १ लाख ४६ हजार किलो अचार निर्यात भएको कार्यालयका प्रवक्ता सुशीलप्रसाद शर्माले बताए । यो नाका हुँदै बर्सेनि नेपाली अचारको निकासी बढ्दो क्रममा रहेको उनको भनाइ छ ।

Advertisement

‘तेस्रो मुलुकमा बर्सेनि विभिन्न नेपाली ब्रान्डको माग र त्यसैअनुरूप निकासीसमेत बढ्दो क्रममा छ,’ शर्माले भने, ‘पछिल्लो केही वर्षयता नेपाली महिलामा बढेको उद्यमशीलता र उनीहरूले उत्पादन गरेका विभिन्न ब्रान्डका अचारले विशेषगरी तेस्रो मुलुकमा बस्ने नेपाली उपभोक्ताबीच लोकप्रियता कमाएको छ । त्यसैको परिणाम नेपाली अचारको माग विदेशमा बढेको छ ।’

नेपालबाट अचार निर्यात हुने मुलुकमा अस्ट्रेलिया पहिलो नम्बरमा छ । नेपाली उत्पादन निर्यातलाई प्रोत्साहन गर्न न्यूनतम भन्सार शुल्क लाग्ने गरेको शर्मा बताउँछन् । ‘स्वदेशी उत्पादनको निकासीलाई प्रोत्साहित गर्न यस्तो नीति लिइएको हो,’ उनले भने ।