बैंकहरूको नाफा २०.१७ प्रतिशतले बढ्यो, कुनको कति ?
चालु आर्थिक वर्ष (चालु) २०८१/८२ को मौद्रिक नीतिमार्फत नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाको नियामकीय व्यवस्थामा अपनाएको लचकताले उनीहरूको नाफामा सुधार देखिएको छ ।
सञ्चालनमा रहेका २० वाणिज्य बैंकले चालु आव प्रथम त्रैमासको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन् । २० वाणिज्य बैंकको नाफा समग्रमा २०.१७ प्रतिशतले बढेको छ । राष्ट्र बैंकले कोभिड-१९ पछि कसिलो बनाएको बैंक तथा वित्तीय संस्थाको नियामकीय नीति क्रमशः खुकुलो बनाउँदै लगेको छ । गत साउनमा सार्वजनिक मौद्रिक नीतिमार्फत असल वर्गमा वर्गीकरण भएको कर्जामा १.२ प्रतिशत कर्जा नोक्सानी व्यवस्था गर्नुपर्नेमा चालु आवबाट १.१ प्रतिशत मात्रै कर्जा नोक्सानी व्यवस्था गर्दा हुने भएको छ ।
यस्तै कर्जामा वर्गीकरण सम्बन्धी व्यवस्थामा समेत संशोधन गरेको थियो । भाखा नाघेको कर्जाको बक्यौता ब्याज असुल भएर ६ महिनासम्म नियमित भए मात्रै असल वर्गमा वर्गीकरण गर्न पाइने र ६ महिनासम्म जुन वर्गमा वर्गीकरण भएको थियो । सोही वर्गमा वर्गीकरण गर्दा कर्जा नोक्सानी व्यवस्था पनि त्यसै अनुसार गर्नुपर्ने व्यवस्था थियो ।
वाणिज्य बैंकहरूले सार्वजनिक गरेको वित्तीय विवरणअनुसार चालु आर्थिक वर्षको ३ महिना अवधिमा १२ वटा वाणिज्य बैंकहरूको खुद नाफामा वृद्धि भएको छ भने ८ वटामा गिरावट आएको छ ।
बैंकहरूको अपरिस्कृत वित्तीय विवरणअनुसार चालु आर्थिक वर्षको तीन महिना अवधिमा सबैभन्दा धेरै अर्थात् गत आर्थिक वर्षको सोही अवधिको तुलनामा सिद्धार्थ बैंकले ७९१.४३ प्रतिशत बढी खुद नाफा वृद्धि गरेको छ । सो बैंकले चालु आर्थिक वर्षको ३ महिना अवधिका ३८ करोड २० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।
त्यस्तै चालु आर्थिक वर्षको तीन महिना अवधिमा वाणिज्य बैंकहरूमध्ये सबैभन्दा धेरै खुद नाफा वृद्धि गर्न नबिल बैंक सफल भएको छ । नबिल बैंकले सो अवधिमा २ अर्ब ५ करोड ६५ लाख ९० हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । जुन नाफा गत आवको सोही अवधिको तुलनामा ३९.९७ प्रतिशतले बढी हो ।
समीक्षा अवधिमा ग्लोबल आइएमई, नेपाल बैंक, प्रभु, लक्ष्मी सनराइज, नेपाल एसबिआई, प्राइम, स्टान्डर्ड चाटर्ड, कुमारी, एनएमबि र एभरेष्ट बैंकहरूले गत आर्थिक वर्षको सोही अवधिको तुलनामा खुद नाफामा वृद्धि गरेका छन् । ती बैंकहरूले सो अवधिमा क्रमशः १ अर्ब ५१ करोड, ६० करोड, १ अर्ब ४ करोड, लक्ष्मी सनराइजले ५३ करोड, नेपाल एसबीआईले ८१ करोड, प्राइमले १ अर्ब २८ करोड, कुमारीले १ अर्ब ७ करोड, एनएमबीले १ अर्ब १४ करोड र एभरेष्टले १ अर्ब १२ करोड रुपैयाँ बढी खुद नाफा आर्जन गरेका हुन् ।
तर, समीक्षा अवधिमा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा भने सानिमा, हिमालयन, माछापुच्छ्रे, नेपाल इन्भेष्टमेन्ट मेगा, कृषि विकास, सिटिजन्स, एनआईसी एशिया र राष्ट्रिय वाणिज्य बैंकहरूको खुद नाफामा भने गिरावट आएको छ । बैंकहरूद्वारा सार्वजनिक वित्तीय विवरणअनुसार समीक्षा अवधिमा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा कृषि विकास बैंकको खुद नाफामा सबैभन्दा धेरै अर्थात् १२१.५० प्रतिशतले गिरावट आएको छ । सो बैंकले समीक्षा अवधिमा १९ करोड ९ लाख २३ हजार रुपैयाँ मात्रै नाफा आर्जन गरेको छ ।
त्यस्तै समीक्षा अवधिमा खुद नाफामा गिरावट आएका बैंकहरूमध्ये सानिमाले ३९ करोड, हिमालयनले ७२ करोड, माछापुच्छ्रेले ५० करोड, नेपाल इन्भेष्टमेन्ट मेगाले १ अर्ब ४६ करोड, सिटिजन्सले २४ करोड, एनआइसी एशियाले ११ करोड र राष्ट्रिय वाणिज्य बैंकले १५ करोड बढी खुद नाफा आर्जन गरेका छन् ।
प्रतिकृया दिनुहोस्