February 6, 2025, Thursday
२४ माघ २०८१, बिहीबार

मेरो नियुक्ति अन्त्य गर्ने अधिकार ऊर्जा मन्त्रालयसँग छैन : कुलमान

मेरो नियुक्ति अन्त्य गर्ने अधिकार ऊर्जा मन्त्रालयसँग छैन : कुलमान

नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले ऊर्जा तथा जलस्रोत मन्त्रालयलाई आइतबार स्पष्टीकरण बुझाएका छन्। मन्त्रालयले पुस २२ गते स्पष्टीकरण सोधेको थियो।

Advertisement

स्पष्टीकरणको जवाफ दिँदै उनले आफ्नो नियुक्ति रद्द गर्ने विषय विधिसम्म नभएको र अधिकार पनि मन्त्रालयसँग नरहेको दाबी गरेका छन्। ‘कार्यसम्पादन विवरणमा तोकिएको लक्ष्य अनुरुप ९८.९९ प्रतिशत अंक प्राप्त हुने गरी नतिजा तथा कार्यप्रगति हाँसिल भएको अवस्थामा नियुक्तिपत्र रद्द गर्ने भन्ने विषय आफैँमा विधिसम्मत नहुने व्यहोरा समेत निवेदन गर्दछु,’ उनले स्पष्टीकरणमा लेखेका छन्।

Advertisement

मन्त्रालयले कार्यसम्पादन सम्झौता अनुरुप कार्यसम्पादन मूल्यांकसम्बन्धी विवरण पेस नगरेकोले नियुक्ति किन अन्त्य नगर्ने भनेर सोधेको थियो। त्यसमा कुलमानले बाढीपहिरोले विभिन्न उत्पादन, प्रसारण, वितरण संरचना लाइनहरु क्षतिग्रस्त भएर विद्युत् उत्पादन र आपूर्ति अवरुद्ध भएकाले फिल्डमा अहोरात्र खटिनु पर्दा प्रतिवेदन पेस गर्न केही समय लागेको उल्लेख गरेका छन्।

‘तत्कालीन परिस्थितिलाई मनन् गरी कार्यसम्पादन मूल्यांकन समितिबाट समेत माग भई नआएको अवस्था हुँदा हाल मिति २०८१।०९।२४ च.नं. ७४६ को पत्रमार्फत तहाँको द.नं ३७७९ मा दर्ता गरी पेस भइसकेको कार्यसम्पादन विवरणलाई विधिसम्मत मूल्यांकन गर्नुपर्ने व्यहोरा अनुरोध छ,’ उनले लेखेका छन्, ‘कार्यसम्पादन विवरण मूलतः कार्यकारी निर्देशकको प्रोत्साहन भत्तासँग सम्बन्धित रहेको र सो विवरण बुझाउन नियमित तथा आकस्मिक कार्यभार एवं संस्थाको अति जरुरी कार्यको लागि खटिनु परेकोले केही समय लाग्न गई भाद्र मसान्तपश्चात् पेस भएको कारणले सो कार्यसम्पादन विवरण मूल्यांकन हुनै नसक्ने र सेवा अन्त्य गर्ने आधार हुन सक्दैन।’

यस्तै उनले मन्त्रिपरिषद्को २०७८।४।२५ को निर्णयबमोजिम आफू प्राधिकरणको कार्यकारी निर्देशकमा ४ वर्षका लागि नियुक्ति भएको र संस्थागत हित एवं उल्लेख्य कार्यप्रगति भएकाले ऊर्जा मन्त्रालयको पत्रबमोजिम नियुक्ति अन्त्य गर्नेसम्बन्धी निर्णय गर्ने अधिकार अन्यमा (मन्त्रालयसँग) नरहेको समेत उल्लेख गरेका छन्।