February 6, 2025, Thursday
२४ माघ २०८१, बिहीबार

रवि लामिछानेलाई ६० लाख धरौटीमा रिहा गर्न अदालतको आदेश, बुझाए धरौटी रकम

रवि लामिछानेलाई ६० लाख धरौटीमा रिहा गर्न अदालतको आदेश, बुझाए धरौटी रकम

राष्ट्रिय स्वतन्त्र पार्टीका निलम्बित सभापति रवि लामिछानेले धरौटीबापतको रकम बुझाएका छन् । लामिछानेले प्रभु बैंकको बैंक ग्यारेन्टी धरौटीको रुपमा बुझाएका हुन् ।
यसअघि स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्था ठगी प्रकरणमा लामिछानेलाई ६० लाख रुपैयाँ धरौटीमा रिहा गर्न अदालतले आदेश दिएको थियो । थुनछेक बहसपछि काठमाडौँ जिल्ला अदालतका न्यायाधीश माधव अधिकारीको इजलासले सो आदेश दिएको हो । योसँगै लामिछानेले अब हिरासत बाहिर बसेर नै मुद्दाको पुर्पक्ष गर्न पाउने भएका छन् ।

Advertisement

थुनछेक बहसपछि बुधवार न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासले लामिछानेलाई ६० लाख धरौटीमा रिहा गर्न आदेश दिएको थियो । काठमाडौंको स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा मुछिएपछि लामिछाननेविरुद्ध अदालतमा अभियोगपत्र दायर गरिएको थियो ।

Advertisement

काठमाडौं जिल्ला अदालतमा रविको पक्षबाट वरिष्ठ अधिवक्ता सुशील पन्त, रमण श्रेष्ठ सहित सुरज बस्नेत र सुरेन्द्र काफ्लेले बहस गरेका थिए । सुर्यदर्शन सहकारी ठगी प्रकरणमा कास्की जिल्ला अदालतमा ६५ लाख धरौटी बुझाएर गत बिहीबार छुटेका लामिछाने आइतबार स्वयं काठमाडौं जिल्ला अदालतमा उपस्थित भएका थिए ।

सहकारी ठगी प्रकरणमा लामिछाने गत कार्तिक २ गते केन्द्रीय कार्यालय बनस्थलीबाट पक्राउ परेका थिए ।