February 6, 2025, Thursday
२४ माघ २०८१, बिहीबार

राष्ट्र बैंकले गर्याे तीन वाणिज्य बैंकलाई कारबाही

राष्ट्र बैंकले गर्याे तीन वाणिज्य बैंकलाई कारबाही

नेपाल राष्ट्र बैंकले तीन वाणिज्य बैंकलाई नियम उल्लंघन गरेको आरोपमा कारबाही गरेको छ। चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा एनआईसी एशिया बैंक, हिमालयन बैंक र प्रभु बैंकलाई नियमविपरीत गतिविधि गरेको ठहर गर्दै कडा निर्देशनसहित सचेत गराइएको छ।

Advertisement

एनआईसी एशिया बैंकले आफ्ना सञ्चालक, परिवारका सदस्य तथा सम्बद्ध संस्थाहरुलाई प्रकाशित व्याजदरभन्दा बढी ब्याज उपलब्ध गराएको तथ्य खुलेको छ। साथै, मुद्दति निक्षेप खाता खोल्दा पुरानो मिति कायम गरी अनुचित लाभ दिएको पाइएको छ। राष्ट्र बैंकले बैंकका प्रमुख कार्यकारी अधिकृत रोशनकुमार न्यौपानेसहित अन्य पदाधिकारीलाई नियम उल्लंघन नगर्न चेतावनी दिएको छ। यसका अतिरिक्त, बैंकले कर्जा वर्गीकरण, पुँजीकोष व्यवस्थापन र जोखिमभारको गलत गणना गरेको भन्दै सुधार गर्न लिखित निर्देशन जारी गरिएको छ।

Advertisement

हिमालयन बैंकले कर्जा सापटको वर्गीकरण र कर्जा नोक्सानी व्यवस्थापनमा लापरवाही गरेको पाइएको छ। राष्ट्र बैंकले बैंकका प्रमुख कार्यकारी अधिकृतलाई सचेत गराउँदै सुधार गर्न निर्देशन दिएको छ। भाखा नाघेका कर्जाको व्यवस्थापनमा लापरवाही गर्दै नियम उल्लंघन गरेको ठहर राष्ट्र बैंकले गरेको छ।

प्रभु बैंकले कानूनी व्यवस्थाको उल्लंघन गर्दै सञ्चालक नियुक्तिमा अनियमितता गरेको पाइएको छ। मर्जर प्रक्रियालाई आफ्नो अनुकूल व्याख्या गरी नियमविपरीत निर्णय गरिएको भन्दै राष्ट्र बैंकले बैंकका सञ्चालक समितिलाई सचेत गराएको छ। साथै, पुँजी पर्याप्तता गणना र कर्जा व्यवस्थापनमा कमजोरी देखिएको भन्दै सुधारका लागि चेतावनी दिइएको छ।

राष्ट्र बैंकको कारबाहीले बैंक तथा वित्तीय संस्थाहरूले नियामकीय व्यवस्थाको पालना गर्न कडाइका साथ ध्यान दिनुपर्ने सन्देश दिएको छ। यसले वित्तीय प्रणालीको पारदर्शिता र सुशासन कायम गर्न महत्वपूर्ण योगदान पु¥याउने अपेक्षा गरिएको छ।