कैलाली भन्सार कार्यालयले चालु आवको आठ महिनामा लक्ष्यअनुसारको राजस्व संकलन गर्न सकेको छैन् ।
चालु आवको फागुन मसान्तसम्म रु सात अर्ब ५६ करोड १६ लाख राजस्व संकलन गर्ने लक्ष्य रहेकामा रु पाँच अर्ब १३ करोड दुई लाखमात्रै संकलन भएको सूचना अधिकारी पवित्रकुमार खड्काले जानकारी दिए।
चालु आवको साउनमा रु ७२ करोड ३५ लाख राजस्व संकलन गर्ने लक्ष्य रहेकामा रु ४६ करोड ८२ लाख, भदौमा रु ८८ करोड ४० लाख लक्ष्य रहेकामा रु ५१ करोड ९३ लाख, असोजमा रु ९७ करोड ८१ लाख लक्ष्य रहेकामा ६३ करोड १४ लाख तथा कात्तिकमा रु ९७ करोड ५२ लाख लक्ष्य रहेकामा रु ६१ करोड ४६ लाखमात्रै राजस्व संकलन भएको उनले बताए।
यस्तै मङ्सिरमा रु एक अर्ब दुई करोड २५ लाख राजस्व संकलन गर्ने लक्ष्य रहेकामा रु ७३ करोड ३४ लाख, पुसमा एक अर्ब चार करोड १३ लाख लक्ष्य रहेकामा रु ६८ करोड ९० लाख, माघमा रु ९२ करोड ६९ लाख लक्ष्य रहेकामा रु ६६ करोड ६७ लाख तथा फागुनमा रु एक अर्ब ९८ लाख लक्ष्य रहेकामा रु ६९ करोड एक लाख मात्र राजस्व असुली भएको सूचना अधिकारी खड्काले जानकारी दिए ।
चालु आवमा कैलाली भन्सार कार्यालयको रु ११ अर्ब ५८ करोड २४ लाख राजस्व संकलनको लक्ष्य छ । चालु आवको आठ महिनामा रु पाँच अर्ब १३ करोड दुई लाखमात्र राजस्व असुली भएको छ । जुन वार्षिक लक्ष्यको ४३ दशमलव २८ प्रतिशत हो । आर्थिक वर्ष २०७९/८० मा रु १२ अर्ब ३० करोड ६६ लाख लक्ष्य रहेकामा आठ अर्ब २९ करोड ६३ लाख मात्र राजस्व असुली भएको कार्यालयले जनाएको छ । यो लक्ष्यको ६७ दशमलव ४१ प्रतिशत मात्र हो ।


