एसियाली विकास बैङ्क (एडिबी) को ऋण सहयोगमा कैलालीको मोहना र खुटिया नदी कटान तथा नियन्त्रणका लागि रु ५२ करोड लागतमा तटबन्ध निर्माण भइरहेको छ ।
बर्खामा नदीले खेतीयोग्य जमिन तथा बस्ती कटान गर्ने भएकाले त्यसको रोकथाम तथा नियन्त्रणका लागि एसियाली विकास बैङ्क को लगानीमा मोहना र खुटिया नदीमा तटबन्ध निर्माण भइरहेको जनताको तटबन्ध कार्यालय कञ्चनपुरले जनाएको छ ।
जनताको तटबन्ध फिल्ड कार्यालय कञ्चनपुरका सबइन्जिनियर प्रकाश खड्काका अनुसार ती दुवै नदीमा १२ वटा प्याकेजमा तटबन्ध निर्माणको काम भइरहेको छ । मोहना र खुटिया नदीमा १२ किलोमिटर तटबन्ध निर्माणको काम अन्तिम चरणमा पुगेको उनले जानकारी दिए । दुवै नदीमा तटबन्ध निर्माणका लागि आर्थिक वर्ष २०७८्७९ मा तीन वर्षभित्र काम पूरा गर्ने गरी टिम्स–राजेन्द्र–कुमार जेभीसँग ५२ लाख रुपैयाँमा ठेक्का सम्झौता भएको सबइन्जिनियर खड्काले बताए ।
केही प्याकेजको काम पूरा भइसके बताउँदै उनले भने,“बाँकी प्याकेजको काम तीव्ररुपमा भइरहेको छ ।” निर्माण कम्पनीले चालू आर्थिक वर्षभित्रै सम्पन्न गर्ने गरी तटबन्धको काम भइरहेको सबइन्जिनियर खड्काले जानकारी दिए । उनले दुवै नदीमा अहिलेसम्म ६० प्रतिशत काम सम्पन्न भइसकेको बताए ।


