नेपालको कृषिप्रधान अर्थतन्त्रको मेरुदण्डका रूपमा रहेको पशुपालन क्षेत्रमा भैँसी पालनले ग्रामीण आयआर्जन र आर्थिक समृद्धिको मुख्य आधारस्तम्भ ओगटेको छ । परापूर्वकालदेखि नै नेपाली किसानका गोठमा भैँसी हुनुलाई सम्पन्नता र समृद्धिको प्रतीक मानिन्थ्यो। तर, समयको परिवर्तनसँगै आज यो व्यवसाय परम्परागत निर्वाहमुखी शैलीबाट व्यावसायिकतातर्फ ढल्किँदै गएको छ । पछिल्लो समय बजारमा दूध, घ्यू र मासुको मागमा भएको अभूतपूर्व वृद्धिले एकातिर ठूलो आर्थिक अवसर सिर्जना गरेको छ भने, अर्कोतर्फ, आकासिँदो महँगी, लगानीको उच्च जोखिम र युवा जनशक्तिको अभावले यस क्षेत्रलाई चुनौतीको कठिन मोडमा ल्याइदिएको छ ।
नेपालमा भैँसी पालनको ऐतिहासिक पाटो हेर्ने हो भने, यो केवल दूध र मासुका लागि मात्र उपयुक्त नभई खेतीपातीका लागि प्राङ्गारिक मलको प्रमुख स्रोतको रूपमा चिनिँदै आएको थियो । पहाडी भेगमा लिमे, पार्कोटे र गड्डी जस्ता स्थानीय जातका भैँसीहरू पालिन्थे भने तराईमा भारतीय नश्लका मुर्रा भैँसीहरूको प्रभाव पहिलेदेखि नै थियो । वि.सं. २०४० र ५० को दशकसम्म नेपालमा पशुपालन मुख्यतया घरखर्च चलाउन र चाडबाडमा मासुको जोहो गर्नमा सीमित थियो । तर, २०६० को दशकपछि शहरीकरणको विस्तारसँगै दुग्धजन्य पदार्थको माग ह्वात्तै बढेपछि, भैँसी पालनलाई व्यावसायिक रूपमा हेर्न थालिएको हो । ऐतिहासिक रूपमा हेर्दा, नेपालको कुल गार्हस्थ्य उत्पादन मा कृषि क्षेत्रको योगदान करिब २४ देखि २५ प्रतिशत रहँदा, पशुपालन क्षेत्रले मात्र त्यसको झन्डै एक तिहाइ हिस्सा ओगटेको देखिन्छ, जसमा भैँसीको योगदान अतुलनीय छ ।
वर्तमान तथ्याङ्कीय अवस्थालाई नियाल्दा, नेपालमा भैँसीको सङ्ख्या र उत्पादकत्वमा केही रोचक उतारचढावहरू देखिएका छन । कृषि तथा पशुपन्छी विकास मन्त्रालयको पछिल्लो तथ्याङ्क अनुसार, नेपालमा भैँसीको कुल सङ्ख्या ५२ लाखभन्दा बढी रहेको अनुमान छ । नेपालमा उत्पादित कुल दूधमध्ये करिब ६५ देखि ७० प्रतिशत हिस्सा भैँसीकै दूधले ओगटेको छ । वार्षिक रूपमा नेपालमा करिब २५ लाख मेट्रिक टन दूध उत्पादन हुने गरेकामा भैँसीको योगदान निर्णायक भएतापनी, विडम्बना के छ भने, मागको तुलनामा उत्पादन अझै पर्याप्त हुन सकेको छैन । जसका कारण नेपालले अझै पनि भारत र अन्य मुलुकबाट दुग्धजन्य धुलो दूध र अन्य उत्पादनहरू आयात गर्नुपर्ने बाध्यता देखिएको छ । तथ्याङ्कले के पनि देखाउँछ भने, विगत १० वर्षमा व्यावसायिक भैँसी फार्महरूको सङ्ख्यामा ३०० प्रतिशतले वृद्धि भएको छ, तर साना किसानहरूले भैँसी पाल्ने क्रम भने घट्दो क्रममा छ ।
नेपाली बजारमा भैँसीको दूध र मासु को माग कहिल्यै नघट्ने देखिएको छ । शहरी क्षेत्रमा बस्ने मानिसहरूले गाईको तुलनामा भैँसीको बाक्लो र फ्याटयुक्त दूध बढी रुचाएको पाइन्छ । विशेष गरी मिठाई उद्योग, चिज कारखाना र दही उत्पादनका लागि भैँसीको दूध नै अनिवार्य बनेको छ । त्यस्तै, नेपालको मासुको कुल खपतमा भैँसीको मासुको हिस्सा झन्डै ५८ प्रतिशत रहेको छ । राँगाको मासु सस्तो र प्रोटिनयुक्त मानिने हुनाले होटल, रेस्टुरेन्ट र मःम पसलहरूमा यसको अत्यधिक माग छ । तर, यही बढ्दो मागसँगै भैँसीको मूल्य पनि आकासिन पुगेको छ । आजभन्दा ५ वर्ष अगाडि प्रति लिटर ६०–७० रुपैयाँमा पाइने दूध अहिले नेपाली बजारमा एक सय देखि एक सय २० रुपैयाँ पुगेको छ । मासुको मूल्य पनि प्रतिकिलो ५०० रुपैयाँभन्दा माथि पुग्दा उपभोक्तालाई मर्का परेको देखिन्छ ।
महँगीले केवल उपभोक्तालाई मात्र नभएर, किसानलाई पनि उत्तिकै पिरोलेको देख्न सकिन्छ । भैँसी पालन व्यवसायमा सबैभन्दा ठूलो खर्च आहारले लिने गरेको छ । दाना, चोकर, ढुटो र पिनाको मूल्य पनि पछिल्लो तीन वर्षमा दोब्बर मुल्यले वुद्धि भएको हुदाँ खर्चमा पिर परेको हो । रुस–युक्रेन युद्ध र अन्तर्राष्ट्रिय बजारमा मकै र भटमासको मूल्य बढेका कारण दाना उद्योगहरूले मूल्य बढाउँदा प्रत्यक्ष मार किसानलाई परेको छ । एउटा उन्नत जातको भैँसीलाई पाल्न दैनिक ५०० देखि ७०० रुपैयाँसम्म खर्च हुने तर त्यसको प्रतिफल सोही अनुपातमा नआउँदा धेरै किसानहरू पलायन हुने अवस्थामा पुगेका छन् । यसका साथै, औषधीउपचार, दक्ष प्राविधिकको अभाव र ढुवानी खर्चले गर्दा उत्पादन लागत निकै उच्च भएको छ । लागत मूल्य नै बढी भएपछि किसानले बजारमा प्रतिस्पर्धी मूल्यमा सामान उपलब्ध गराउन नसक्नु यस व्यवसायको प्रमुख चुनौती बनेको छ ।
नेपालका धेरै ठाउँमा अझै पनि अनुत्पादक र कम दूध दिने भैँसीहरू पालिने गरेको देखिन्छ । सरकारले हालै भारतबाट १५ वटा मुर्रा राँगा ल्याएर नश्ल सुधारको प्रयास गरे पनि त्यो पर्याप्त भने देखिएको छैन । त्यसैगरी अर्को ठूलो चुनौती मिल्क होलिडे को समस्या हो । सिजनमा दूध बढी उत्पादन हुँदा डेरीहरूले दूध लिन नमान्ने र अफ–सिजनमा दूध अभाव हुने समस्याले किसानलाई मारमा पारेको छ । त्यस्तै,पशु बीमाको प्रभावकारिता अर्को समस्या हो, भैँसी मरेमा वा बिरामी भएमा किसानले समयमै दाबी भुक्तानी पाउँदैनन्, जसले गर्दा ठूलो लगानी डुब्ने डर सधैं रहने हुनाले व्यवसायी पीरमा परेका हुन् । साथै, लम्पी स्किन जस्ता महामारी रोगहरूले भैँसी पालनलाई थप संकटमा पारेको छ ।
यी चुनौतीहरूका बीचमा अवसरहरू पनि उत्तिकै देख्न सकिन्छ । नेपाल सरकारले पछिल्लो समय भैँसीको मासु निर्यातका लागि चीनसँग सम्झौता गरेको छ । यदि नेपालले गुणस्तरीय र स्वास्थ्य परीक्षण गरिएको भैँसीको मासु चीन पठाउन सकेमा यसले देशको व्यापार घाटा कम गर्न ठूलो भूमिका खेल्नेछ । यो नेपाली किसानका लागि सुनौलो अवसर बनेर आएको छ । त्यस्तै, गोठ सुधार र साना सिंचाई आयोजनाहरूमा सरकारले दिने अनुदानले किसानलाई केही राहत दिएको छ । वैदेशिक रोजगारीबाट फर्केका युवाहरूले आधुनिक र सुविधायुक्त भैँसी फार्महरू खोलेर यसलाई सेतो सुनु को रूपमा विकास गर्न थालेका छन् । प्रविधिको प्रयोग गरी गोबरबाट बायो-ग्यास र प्राङ्गारिक मल उत्पादन गरेर दोहोरो आम्दानी गर्ने बाटो पनि खुल्ला भएको छ ।
नेपाली समासमा भैँसी पालन व्यवसायलाई दिगो बनाउन अब परम्परागत शैली त्यागेर पूर्ण रूपमा व्यावसायिक बन्नुपर्ने आवश्यकता देखीएको छ । केवल दूध मात्र नभई भैँसीका पाडापाडी हुर्काउने लाई पनि छुट्टै व्यवसायको रूपमा विकास गर्न सकिन्छ । नेपालमा वार्षिक रूपमा हजारौँ पाडापाडीहरू आहारको अभाव र उचित हेरचाह नपाएर मर्ने गरेका छन् । तिनीहरूलाई जोगाउन सके मात्र पनि मासुको आयात रोक्न सकिन्छ । सरकारले दानामा अनुदान दिनुभन्दा पनि बढि घाँस खेतीका लागि बाँझो जमिन उपयोग गर्ने नीति ल्यायमा उक्त व्यवसायमा वुद्धि हुने सम्भावना अधिक रहन्छ । साइलेज प्रविधिको प्रयोग गरी हिउँदमा पनि हरियो घाँसको विकल्पको खोजमा लाग्नुपर्दछ ।
भैँसी पालनमा लगानी गर्ने बैंक र वित्तीय संस्थाहरूले पनि सहुलियतपूर्ण कर्जालाई झन्झटमुक्त बनाउनुपर्छ । जबसम्म किसानले सस्तो ब्याजमा ऋण र बजारको सुनिश्चितता पाउँदैनन्, तबसम्म युवाहरूलाई यो पेशामा आकर्षित गर्न कठिन देखिन्छ । स्थानीय सरकारहरूले पनि आफ्नो क्षेत्रमा भैँसी पकेट क्षेत्रु घोषणा गरी चिस्यान केन्द्र र प्रशोधन केन्द्रहरू स्थापना गरिदिएमा उक्त व्यावसाय अझै फस्टाउने देखिन्छ । यसो गर्दा बिचौलियाको चलखेल कम हुन्छ र किसानले दूधको उचित मूल्य हात पार्नेछन् ।
नेपालमा भैँसी पालन व्यवसाय अहिले एक जटिल तर फलदायी मोडमा आएको छ । बढ्दो मागले यसको भविष्य उज्ज्वल देखाउँछ भने महँगी र लागतले चुनौती खडा गरेको छ । यदि नश्ल सुधार, सस्तो दानाको व्यवस्था, र बजारको ग्यारेन्टी गर्ने हो भने यो व्यवसाय नेपाललाई आत्मनिर्भर बनाउने सबैभन्दा बलियो माध्यम बन्न सक्छ । यो केवल एउटा पेशा मात्र नभएर गरिबी निवारण र ग्रामीण विकासको एक अचुक औषधि पनि हो । त्यसैले, चुनौतीहरूलाई चिर्दै अवसरको खोजी गर्नु नै आजको मुख्य आवश्यकता बनेको हो ।


