Banijya News

नेपालमा मौन रूपमा बढिरहेको ‘माइक्रो-इन्फ्लुएन्सर’ अर्थतन्त्र

1
1.1K Shares

नेपालको परम्परागत विज्ञापन बजारमा अहिले मौन तर गहिरो परिवर्तन देखिएको छ। टेलिभिजन, रेडियो र पत्रपत्रिकामा सीमित रहँदै आएको विज्ञापनको क्षेत्र विस्तारै मोबाइल स्क्रिनतर्फ सर्नुका साथै डिजिटल माध्यममार्फत अझ प्रभावकारी र लक्षित रूपमा फैलिँदै गएको छ । यस परिवर्तनको मुख्य संवाहक बनेका छन्— माइक्रो-इन्फ्लुएन्सर । १० हजारदेखि ५० हजारसम्म फलोअर्स भएका यी सामाजिक सञ्जालका प्रयोगकर्ताहरूले अहिले नेपालको अर्बौँको विज्ञापन बजारमा आफ्नो बलियो उपस्थिति जनाउँदै एउटा नयाँ र गतिशील अर्थतन्त्रको जग बसालेका छन् ।

नेपालमा इन्टरनेटको पहुँच र स्मार्टफोनको सर्वसुलभतासँगै सामाजिक सञ्जाल केवल मनोरञ्जनको साधन मात्र रहेन । उक्त स्थानले उद्यमशीलताको नयाँ ढोका खोलिदिएको छ । ठूला सेलिब्रिटी र कलाकारहरूको पहुँच सर्वसाधारणसँग टाढा हुने र उनीहरूको पारिश्रमिक पनि अत्यधिक हुने भएकाले साना तथा मझौला उद्योगहरूका लागि माइक्रो-इन्फ्लुएन्सरहरू बरदान सावित भएको छ । यी इन्फ्लुएन्सरहरूले आफ्ना फलोअर्ससँग सिधा संवाद गर्ने र विश्वासिलो सम्बन्ध कायम गर्ने हुनाले उनीहरूले सिफारिस गरेका सामान वा सेवाप्रति सर्वसाधारणको आकर्षण बढी देखिने गरेको छ ।

पछिल्लो समय नेपालमा टिकटक, इन्स्टाग्राम र युट्युब जस्ता प्लेटफर्महरूमा सक्रिय युवाहरूको संख्या बढ्दो छ । उनीहरूले खाना, भ्रमण, फेसन, ग्याजेट, र शिक्षा जस्ता विविध विधामा सामग्री निर्माण गरिरहेका छन् । यी सामग्रीहरू केवल रमाइलोका लागि मात्र नभई व्यापारिक प्रयोजनका लागि पनि उत्तिकै प्रभावकारी भइरहेको छ ।

एउटा सामान्य युवाले आफ्नो कोठाबाटै बनाएको १५ सेकेन्डको भिडियोले कुनै नयाँ रेस्टुरेन्ट वा अनलाइन स्टोरको व्यापारमा रातारात ठूलो परिवर्तन ल्याउन सक्ने सार्मथ राख्दछ । यही सामर्थ्यले गर्दा नेपालका ठूला कर्पोरेट हाउसहरूले पनि अहिले आफ्नो विज्ञापन बजेटको ठूलो हिस्सा यी साना डिजिटल सर्जकहरूका लागि छुट्याउन थालेका छन् ।

उक्त अर्थतन्त्रको महत्वपूर्ण पक्ष भनेको स्वरोजगारको सिर्जना हो । नेपालमा बेरोजगारीको समस्या विकराल बनिरहेका बेला हजारौँ युवाहरूले डिजिटल सामग्री निर्माणलाई नै आफ्नो मुख्य पेशा बनाएका छन् । उनीहरूले केवल विज्ञापनबाट मात्र नभई विभिन्न ब्राण्डहरूसँगको साझेदारी, एफिलिएट मार्केटिङ र प्रत्यक्ष बिक्रीबाट पनि राम्रो आम्दानी गरिरहेका छन् । अहिले नेपालका जुनसुकै कुनाबाटपनी अनलाइन व्यावसाय गर्ने लहर तीव्र रूपमा फैलिएको देख्न सकिन्छ । उक्त कार्यले स्थानीय उत्पादान र पर्यटन प्रवद्र्धनमा समेत ठुलो टेवा पुर्याएको छ ।

विज्ञहरूका अनुसार, माइक्रो-इन्फ्लुएन्सरहरूको इन्गेजमेन्ट रेटु (प्रयोगकर्ताको अन्तर्क्रिया दर) मेगा-सेलिब्रिटीहरूको तुलनामा निकै बढी हुन्छ । यसको मुख्य कारण उनीहरूले आफ्ना फलोअर्सका टिप्पणीहरूको जवाफ दिनु र उनीहरूसँग वास्तविक मानिसको रूपमा प्रस्तुत हुनु हो । मानिसहरूले कुनै पनि सामान किन्नुअघि त्यसको वास्तविक अनुभव सुन्न चाहन्छन्, जुन अनुभव यी इन्फ्लुएन्सरहरूले आफ्ना भिडियो र पोस्टमार्फत प्रदान गर्छन् । यसले गर्दा उपभोक्ता र उत्पादकबीचको दूरीलाई मेटाउन सजिलो परेको छ जसले उक्त वस्तु खरिद गर्ने कि नगर्ने भनी उपभोक्तालाई सजीलै निर्णय लिन सहज गर्छ ।

यो बढ्दो अर्थतन्त्रसँगै यसका आफ्नै चुनौतीहरू पनि सिर्जना भएका छन् । नेपालमा यस क्षेत्रलाई नियमन गर्ने स्पष्ट कानूनी संरचनाको अझै अभाव छ । इन्फ्लुएन्सरहरूले गर्ने आम्दानीलाई कसरी करको दायरामा ल्याउने र उनीहरूले गर्ने प्रचारको सत्यता कसरी जाँच्ने भन्ने विषयमा सरकारी निकायहरू अझै स्पष्ट हुन सकेका छैनन् । कतिपय अवस्थामा उपभोक्ताहरू गलत सूचनाका कारण ठगिने सम्भावना पनि रहन्छ । त्यसैले, यस क्षेत्रलाई थप मर्यादित र व्यावसायिक बनाउनका लागि आचारसंहिता र स्पष्ट नीति नियमको खाँचो देखिएको छ।

व्यावसायिकताको कमी अर्को एउटा ठूलो अवरोधका रूपमा रहेको छ । धेरैजसो माइक्रो-इन्फ्लुएन्सरहरूले मौखिक सहमतिका आधारमा काम गर्ने गरेका छन्, जसले गर्दा भुक्तानी नपाउने वा समयमा काम सम्पन्न नहुने समस्याहरू देखिन थाल्छन । यसलाई सुधार गर्न नेपालमा अहिले विभिन्न इन्फ्लुएन्सर मार्केटिङ एजेन्सीहरू पनि खुल्न थालेका छन्, जसले कम्पनी र इन्फ्लुएन्सरबीच पुलको काम गरिरहेका छन् । जसका कारण बजार बिस्तारै संगठित बन्दै गएको छ ।

नेपालको भौगोलिक र सांस्कृतिक विविधतालाई हेर्दा माइक्रो-इन्फ्लुएन्सरहरूको भूमिका अझै महत्वपूर्ण देखिन्छ । स्थानीय भाषा र लवजमा बनाइने सामग्रीले विशेष समुदायमा छिटो प्रभाव पार्ने अनुमान छ । यसले गर्दा स्थानीय उद्यमीहरूले आफ्नो उत्पादनलाई लक्षित वर्गसम्म पुर्‍याउन निकै सहज भएको छ । डिजिटल भुक्तानी प्रणालीमा आएको क्रान्तिले गर्दा दुर्गम क्षेत्रका इन्फ्लुएन्सरहरूले पनि सजिलै पारिश्रमिक प्राप्त गर्न सक्ने वातावरण बनेको छ ।

नेपालमा माइक्र-इन्फ्लुएन्सर अर्थतन्त्र एउटा यस्तो बिन्दुमा आइपुगेको छ, जहाँबाट पछाडि फर्कने ठाउँ छैन । यो परम्परागत बजारलाई विस्थापित गर्ने भन्दा पनि त्यसलाई थप परिष्कृत र आधुनिक बनाउने एउटा सशक्त माध्यम बनेको छ । यदि यसलाई सही ढंगले प्रोत्साहन र नियमन गर्ने हो भने, यसले नेपालको अर्थतन्त्रमा डिजिटल योगदान बढाउने मात्र नभई, हजारौँ सिर्जनशील हातहरूलाई स्वदेशमै सम्मानजनक रोजगारीको अवसर समेत प्रदान गर्नेछ । आगामी दिनमा यो क्षेत्र अझै विविधीकृत हुँदै जाने र नेपाली बजारको अनिवार्य हिस्सा बन्ने सम्भावना छ ।

1

Scroll to Top