ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले देशभर निर्माणाधीन प्रसारण लाइन आयोजनामा देखिएका समस्या समाधान गरी निर्माणलाई गति दिन अन्तरमन्त्रालय समन्वय तीव्र बनाएको छ । राष्ट्रिय प्रसारण प्रणालीलाई थप सुदृढ बनाउँदै निर्माणाधीन आयोजना निर्धारित समयमै सम्पन्न गर्ने उद्देश्यले मन्त्रालयले पहल थालेको हो ।
ऊर्जामन्त्री विराजभक्त श्रेष्ठले प्रसारण लाइनलाई समग्र ऊर्जा प्रणालीको मेरुदण्डका रूपमा उल्लेख गर्दै आयोजना निर्माणमा देखिएका समस्या तत्काल समाधान गर्न निर्देशन दिएका छन् । उनले अन्तरमन्त्रालय समन्वयबाट समाधान गर्न सकिने विषयलाई तत्काल सम्बोधन गरिने प्रतिबद्धता व्यक्त गर्दै आयोजना प्रमुखहरूलाई निर्धारित समयभित्र काम सम्पन्न गर्न निर्देशन दिएका छन् ।
मन्त्रालयले बिहीबार निर्माणाधीन १२ वटा प्रसारण लाइन आयोजनाका प्रमुखलाई बोलाएर आयोजनाको प्रगति र निर्माणका क्रममा देखिएका समस्याबारे जानकारी लिएको थियो । छलफलमा आयोजना प्रमुखहरूले वन क्षेत्रका रुख कटान, सडक विभागसँग सम्बन्धित पोल तथा टावर स्थानान्तरणलगायत समस्याले निर्माण प्रभावित भइरहेको जानकारी गराएका थिए ।
नेपाल विद्युत प्राधिकरणका सञ्चालक समिति सदस्य अंशुकिरण शाहीका अनुसार आयोजनाको वास्तविक अवस्था बुझेर तत्काल समाधान गर्नुपर्ने विषय पहिचान गर्न आयोजना प्रमुखहरूसँग छलफल गरिएको हो । उनका अनुसार वन तथा सडकसम्बन्धी समस्या समाधानका लागि मन्त्रालयले सम्बन्धित निकायसँग समन्वय गरेपछि केही आयोजनाको कामले गति लिन थालेको छ ।
विद्युत् प्राधिकरणको वितरण तथा ग्राहक सेवा निर्देशनालयका प्रमुख नवराज ओझाका अनुसार छलफलमा सहभागी सबै १२ प्रसारण लाइन आयोजना चालु आर्थिक वर्षभित्रै सम्पन्न गर्ने गरी काम भइरहेको जानकारी प्राप्त भएको छ ।
छलफलमा तुम्लिङटार–शीतलपाटी २२० केभी, ढल्केबर–बाणगंगा १३२ केभी, कोहलपुर–सुर्खेत–दैलेख १३२ केभी, नेपालगञ्ज–नानपारा १३२ केभी, लालबन्दी–सलिमपुर १३२ केभी, इनरुवा–विराटनगर १३२ केभी, हेटौंडा–ढल्केबर ४०० केभी तथा कालीगण्डकी–रिडी १३२ केभीलगायत आयोजनाका प्रमुखले प्रगति विवरण प्रस्तुत गरेका थिए ।
इनरुवा–विराटनगर प्रसारण लाइनमा म्याद थपिए पनि मुख्य ठेकेदारले अपेक्षित काम नगरेपछि पेटी ठेकेदारलाई प्रत्यक्ष भुक्तानी गरी तीन महिनाभित्र आयोजना सम्पन्न गर्ने गरी समन्वय गरिएको छ । त्यस्तै, हेटौंडा–ढल्केबर ४०० केभी प्रसारण लाइनको वनसम्बन्धी समस्या समाधान भइसकेको र आगामी कात्तिकसम्म निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।
ऊर्जामन्त्रीका प्रमुख सल्लाहकार अनिलकुमार अधिकारीका अनुसार यी प्रसारण लाइनमध्ये केही आगामी ६ महिनाभित्र र बढीमा एक वर्षभित्र राष्ट्रिय प्रसारण ग्रिडमा जोडिने अवस्थामा छन् । प्रसारण प्रणाली विस्तार भएपछि सम्बन्धित क्षेत्रमा बारम्बार हुने विद्युत् ट्रिपिङको समस्या समेत उल्लेख्य रूपमा घट्ने अपेक्षा गरिएको छ ।


