नेपाली उत्पादनको गुणस्तर राम्रो भए पनि प्रभावकारी ब्रान्डिङ र बजार विस्तारको अभावमा स्वदेशी तथा अन्तर्राष्ट्रिय बजारमा अपेक्षित पहिचान बनाउन नसकेको भन्दै नेपाली ब्रान्डको प्रवद्र्धनमा विशेष ध्यान दिनुपर्नेमा निजी क्षेत्रका प्रतिनिधिहरूले जोड दिएका छन् ।
नेपाल चेम्बर अफ कमर्सका कार्यवाहक अध्यक्ष तथा वरिष्ठ उपाध्यक्ष दीपककुमार मल्होत्राले नेपाली उत्पादनको ब्रान्डिङ, गुणस्तर सुधार र बजार विस्तारलाई प्राथमिकतामा राख्नुपर्ने बताएका हुन् । नेपाली उत्पादनमा पर्याप्त सम्भावना भए पनि त्यसलाई व्यावसायिक रूपमा स्थापित गर्न नसक्दा बजारमा अपेक्षित लाभ लिन नसकिएको उनको भनाइ छ ।
‘नेपाली ब्रान्ड परिसंरचना, २०८३’ सम्बन्धी अनुसन्धानात्मक प्रतिवेदन सार्वजनिक कार्यक्रममा बोल्दै मल्होत्राले नेपाली वस्तुको ब्रान्डिङ कमजोर रहेको र कतिपय अवस्थामा नक्कली ब्रान्डसमेत बजारमा बिक्री भइरहेको बताए । यसले नेपाली उत्पादनको पहिचान र उपभोक्ताको विश्वासमा असर पार्न सक्ने उनले उल्लेख गरे ।
उनका अनुसार, नेपालमा छुर्पी, बेसार र अलैँचीजस्ता उत्पादनमा राम्रो सम्भावना भए पनि तिनलाई प्रभावकारी रूपमा ब्रान्डिङ गरी बजारमा स्थापित गर्न सकिएको छैन । यस्ता उत्पादनको मौलिकता, गुणस्तर र विशेषतालाई पहिचान दिलाउन सके स्वदेशी उत्पादनको मूल्य र बजार दुवै विस्तार गर्न सकिने उनको भनाइ छ ।
नेपालमा धेरै सम्भावना भएका छुर्पी, बेसार र अलैँचीजस्ता उत्पादनको पनि प्रभावकारी ब्रान्डिङ गर्न नसकिएको भन्दै मल्होत्राले भने, ‘ब्रान्डिङका क्षेत्रमा कानुनी समस्या पनि छन्। उपयुक्त कानुन बनाई त्यसलाई छिटोभन्दा छिटो प्रभावकारी रूपमा कार्यान्वयन गर्न आवश्यक छ ।’
उनले नेपाली ब्रान्डलाई कुनै वस्तु वा सेवाको नाममा मात्र सीमित गरेर हेर्न नहुने बताए । उनका अनुसार ब्रान्डको विकास उत्पादन क्षमता, उद्यमशीलता, रोजगारी, लगानी, प्रविधि, गुणस्तर र नेपालको समग्र आर्थिक पहिचानसँग जोडिएको विषय हो ।
नेपालमा उत्पादन बढाउने, आयात घटाउने र निर्यात विस्तार गर्ने विषयमा लामो समयदेखि चर्चा हुँदै आए पनि उत्पादन बढाउनु मात्र पर्याप्त नहुने उनको भनाइ थियो । उत्पादनसँगै त्यसको गुणस्तर कायम राख्ने, प्रभावकारी ब्रान्डिङ गर्ने, बजार विस्तार गर्ने र उपभोक्ताको विश्वास जित्ने काम पनि उत्तिकै महत्त्वपूर्ण रहेको उनले बताए ।
मल्होत्राले नेपाली ब्रान्डलाई घरेलु बजारमा मात्र सीमित नराखी क्षेत्रीय तथा अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धा गर्न सक्ने बनाउनुपर्नेमा जोड दिए । त्यसका लागि सरकारले स्थिर नीति, लगानीमैत्री कानुन, सहज व्यावसायिक वातावरण तथा आवश्यक पूर्वाधार र प्रविधिको विकास गर्नुपर्ने उनले बताए ।
‘मेड इन नेपाल’लाई विश्व बजारमा बलियो पहिचान दिलाउन सरकार, निजी क्षेत्र र सञ्चार क्षेत्रबीच सहकार्य आवश्यक रहेको उनको भनाइ छ । निजी क्षेत्रले उत्पादनको गुणस्तर, नवप्रवर्तन र प्रतिस्पर्धात्मक क्षमता बढाउनुपर्ने तथा सञ्चार क्षेत्रले नेपाली उत्पादन र सफल उद्यमशीलताका कथालाई स्वदेश तथा विदेशमा पुर्याउन भूमिका खेल्नुपर्ने उनले बताए ।
मल्होत्राले ‘नेपाली ब्रान्ड परिसंरचना, २०८३’ सम्बन्धी प्रतिवेदन आगामी दिनमा नीति निर्माण तथा व्यावसायिक रणनीति तय गर्न उपयोगी हुने विश्वास व्यक्त गरे । अध्ययन, अनुसन्धान र तथ्यमा आधारित बहसले निजी क्षेत्रलाई थप सशक्त बनाउन सहयोग पुग्ने उनले बताए । नेपाली ब्रान्डको विकासमार्फत उत्पादन, रोजगारी र निर्यात विस्तार गर्नुका साथै समग्र अर्थतन्त्रलाई बलियो बनाउन सकिने उल्लेख गर्दै उनले स्वदेशी उत्पादनलाई विश्व बजारमा स्थापित गर्न सबै पक्ष मिलेर अघि बढ्नुपर्नेमा जोड दिए ।


