Banijya News

स्थानीय अवरोधले सौर्य सिमेन्टको चुनढुंगा ढुवानी ठप्प

1
1.0K Shares

उदयपुरको कटारी नगरपालिका–८ गाल्टारस्थित खानीबाट सौर्य सिमेन्ट उद्योगका लागि हुँदै आएको चुनढुंगा ढुवानी स्थानीय बासिन्दा र टिपर व्यवसायीबीचको विवादका कारण ठप्प भएको छ । खानीसम्म पुग्ने सडकमा दुर्घटनाको जोखिम बढेको भन्दै स्थानीयले टिपर सञ्चालनमा रोक लगाएपछि ढुवानी प्रभावित भएको हो ।

कटारी–सिम्ले–मर्जेपुर–गाल्टार सडकमा टिपर सञ्चालन गर्दा बस्तीका बासिन्दा जोखिममा परेको भन्दै स्थानीयले वैकल्पिक मार्ग प्रयोग गर्नुपर्ने माग राखेका छन् । तर, टिपर व्यवसायीले वैकल्पिक सडक निर्माण नभएसम्म पुरानै मार्गबाट ढुवानी गर्न पाउनुपर्ने अडान लिएका छन् । यही विषयमा सहमति जुट्न नसक्दा विवाद चर्किएको हो ।

मर्जेपुर क्षेत्रका स्थानीयले बस्ती हुँदै जाने सडकमा टिपर चलाउन नदिने अडान लिएपछि चुनढुंगा ढुवानी रोकिएको छ । उक्त सडकलाई १८ मिटर चौडा बनाउने योजना अघि सारिए पनि विवाद र प्रक्रियागत समस्याका कारण कार्यान्वयन हुन सकेको छैन ।

ढुवानी ठप्प भएपछि टिपर व्यवसायीले सडकमा टिपर तेर्साएर विरोध प्रदर्शन गरेका छन् । बुधबार कटारी नगरपालिका–४ को सिम्ले बजार क्षेत्रमा टायर बालेर प्रदर्शन गरिएको थियो ।

त्यसैगरी, बिहीबार कटारी बजार खण्डमा करिब दुई घण्टा मदन भण्डारी लोकमार्ग अवरुद्ध पारिएको थियो । प्रदर्शनका कारण उक्त सडकमा चल्ने सवारीसाधनको आवागमनसमेत प्रभावित भएको थियो ।

सौर्य सिमेन्टले सुरुमा कटारी–मरुवाखोला–नैनखाडी–गाल्टार सडक प्रयोग गरेर चुनढुंगा ढुवानी गर्ने योजना बनाएको थियो । तर, स्थानीयको सहमतिपछि उद्योगले सिम्ले–मर्जेपुर–गाल्टार मार्ग प्रयोग गर्दै आएको थियो ।

खानी क्षेत्र र ढुवानी मार्ग आसपासका बासिन्दाले सुरक्षित तथा व्यवस्थित वैकल्पिक सडक निर्माण गर्नुपर्ने माग दोहोर्‍याएका छन् । उनीहरूले बस्तीको सुरक्षालाई प्राथमिकता दिनुपर्ने बताएका छन् ।

यता, टिपर व्यवसायीले ढुवानी लामो समयसम्म बन्द हुँदा आर्थिक दायित्व बढ्ने र व्यवसाय प्रभावित हुने चिन्ता व्यक्त गरेका छन् । स्थानीयको सुरक्षा र व्यवसायीको मागबीच सहमति हुन नसक्दा चुनढुंगा ढुवानी पुनः सञ्चालन गर्ने विषय अन्योलमा परेको छ ।

1

Scroll to Top