नेपाल–चीन उत्तरी कोरलानाका हुँदै पछिल्लो ११ दिनमा ५४३ टन चिनियाँ फलफूल नेपाल भित्रिएको छ । तर, भारी वर्षा र हिमपातका बीच आयात भएका फलफूल बेनी–जोमसोम–कोरला सडक अवरुद्ध हुँदा गन्तव्यसम्म पुर्याउन समस्या भएको छ ।
लोमान्थाङ–४ न्हेचुङस्थित क्वारेन्टाइन कार्यालयका अनुसार पछिल्लो ११ दिनमा स्याउ ८७.३०० टन, आँप १६.१०० टन र ड्रागन फ्रुट ८.३१६ टनसहित विभिन्न प्रकारका फलफूल आयात भएका छन् ।
क्वारेन्टाइन कार्यालयकी प्राविधिक सहायक बन्दना घर्तीमगरका अनुसार असोज ११ गतेदेखि बेनी–जोमसोम–कोरला सडक पूर्ण रूपमा अवरुद्ध भएपछि फलफूल बोकेका कन्टेनर बाटोमै रोकिएका छन् । लामो समयसम्म कन्टेनरभित्र फलफूल राख्नुपर्दा कुहिने र बिग्रने जोखिम बढेको व्यवसायीहरूले बताएका छन् ।
यसैबीच, समयमै गन्तव्यमा पुर्याउन नसकिएपछि बिहीबार मुस्ताङको जोमसोममा एक कन्टेनर चिनियाँ ड्रागन फ्रुट स्थानीयलाई निःशुल्क वितरण गरिएको छ । कम्पनीका प्रतिनिधि सुवास सुनुवारका अनुसार उक्त कन्टेनरमा करिब आठ टन ड्रागन फ्रुट थियो। करिब २४ लाख ५० हजार रुपैयाँ मूल्य बराबरको फलफूल कुहिनुभन्दा स्थानीयलाई वितरण गरिएको उनले बताए ।
ड्रागन फ्रुटको मूल्य, कन्टेनर भाडा र भन्सार राजस्वसमेत जोड्दा करिब ३० लाख रुपैयाँ बराबरको क्षति भएको अनुमान गरिएको छ । सडक अवरुद्ध हुँदा आयातित फलफूलको ढुवानीसँगै व्यवसायीको लगानीसमेत जोखिममा परेको छ ।


