नेपालमा आवाससम्बन्धी खर्च धान्न ७० प्रतिशत नेपालीलाई कठिनाइ हुने गरेको एक अन्तर्राष्ट्रिय अध्ययनले देखाएको छ । घरभाडा, घर निर्माण तथा मर्मतसम्भारको बढ्दो लागतले नेपाली परिवारको आर्थिक अवस्था मात्र नभई स्वास्थ्य, मानसिक तनाव, पारिवारिक योजना र भविष्यका आकांक्षासमेत प्रभावित गरिरहेको अध्ययनले देखाएको हो ।
ह्याबिट्याट फर ह्युम्यानिटी इन्टरनेसनलले सार्वजनिक गरेको ‘होम एट ह्वाट कस्ट? ग्लोबल हाउजिङ रिसर्च २०२६’ प्रतिवेदनअनुसार नेपालमा आवासको लागत बढ्दै जाँदा सुरक्षित र किफायती घरमा बस्ने चुनौती गम्भीर बन्दै गएको छ । आवासको खर्च धान्न नसक्ने अवस्था, सुरक्षित जग्गा तथा स्वामित्वको अभाव र जलवायुजन्य विपद्को जोखिमले नेपाली परिवारको आवासीय सुरक्षा कमजोर बनाएको प्रतिवेदनमा उल्लेख छ ।
२२ देशमा गरिएको सर्वेक्षणमा आवाससम्बन्धी खर्च नियमित रूपमा धान्न कठिन हुने बताउने नेपालीको अनुपात ७० प्रतिशत रहेको छ । सर्वेक्षणमा सहभागी सबै देशको औसत भने ३४ प्रतिशत मात्रै छ । त्यस्तै, कुनै अप्रत्याशित समस्या आए आफूले अहिले बसिरहेको आवास गुमाउनुपर्ने चिन्ता ७० प्रतिशत नेपालीले व्यक्त गरेका छन् । विश्वव्यापी रूपमा यस्तो चिन्ता राख्नेको अनुपात ४८ प्रतिशत रहेको छ ।
स्वास्थ्य र पारिवारिक जीवनमा असर
आवासको आर्थिक दबाबले नेपाली परिवारलाई आधारभूत आवश्यकता पूरा गर्नसमेत कठिन बनाइरहेको अध्ययनले देखाएको छ । आवास खर्चकै कारण २८ प्रतिशत उत्तरदाताले स्वास्थ्योपचार ढिला गरेको वा उपचार नै नगरेको बताएका छन् । त्यस्तै, ३६ प्रतिशतले घरको आवश्यक मर्मतसम्भार पछि सारेका छन् भने २१ प्रतिशतले खाद्य सहायता लिनुपरेको बताएका छन् ।
आवासको समस्या मानसिक तनावको प्रमुख स्रोतसमेत बनेको छ । नेपालमा ६८ प्रतिशत उत्तरदाताले आफ्नो आवासीय अवस्थालाई जीवनको सबैभन्दा ठूलो तनावका स्रोतमध्ये एक मानेका छन् । यस्तो धारणा राख्नेको विश्वव्यापी औसत ३५ प्रतिशत मात्रै छ ।
आगामी वर्षमा आफू बसिरहेको ठाउँ छाड्नुपर्ने चिन्ता ७१ प्रतिशत नेपालीमा देखिएको छ । त्यस्तै, आफू बस्ने क्षेत्रमा असुरक्षित घटना भए सम्बन्धित निकायले समयमा प्रतिक्रिया नदिने चिन्ता पनि ७१ प्रतिशतले व्यक्त गरेका छन् । यसले आवासको समस्या घरको भौतिक संरचनामा मात्र सीमित नभई बसोबासको निरन्तरता र व्यक्तिगत सुरक्षासँग पनि जोडिएको देखाउँछ ।
आवासको बढ्दो लागतले परिवार सुरु गर्ने योजनामा समेत असर पारेको छ । ७२ प्रतिशत उत्तरदाताले आवास खर्चका कारण परिवार सुरु गर्ने विषयमा सोच्न कठिन भएको बताएका छन् । सन्तान भएका उत्तरदातामध्ये ७३ प्रतिशतले आवासको खर्चका कारण बालबालिकालाई उपलब्ध गराउन सकिने अवसर सीमित भइरहेकामा चिन्ता व्यक्त गरेका छन् । त्यस्तै, ७१ प्रतिशतले अहिलेको आवासीय अवस्थाका कारण पहिले पूरा गर्ने अपेक्षा गरेका सपना वा महत्वाकांक्षा त्याग्नुपरेको बताएका छन् ।
जलवायुजन्य विपद्ले थप जोखिम
नेपालमा जलवायु परिवर्तन र प्राकृतिक विपद्का कारण सुरक्षित आवासको चुनौती थप गम्भीर बनेको प्रतिवेदनले औँल्याएको छ । ७२ प्रतिशत उत्तरदाताले चरम मौसमका कारण आफू बसिरहेको ठाउँमा सुरक्षित महसुस गर्न कठिन हुने बताएका छन् । यस विषयमा विश्वव्यापी औसत ३० प्रतिशत मात्रै छ ।
आगामी तीन वर्षमा चरम मौसमका कारण अहिले बसिरहेको ठाउँमा बस्न झन् कठिन हुने ठान्ने नेपालीको अनुपात ७० प्रतिशत छ । प्रतिवेदनमा यो अनुपात सर्वेक्षणमा सहभागी २२ देशमध्ये सबैभन्दा उच्च रहेको उल्लेख छ ।
त्यस्तै, खराब आवासीय अवस्थाका कारण ७६ प्रतिशत नेपालीले आफूलाई असुरक्षित महसुस गर्ने बताएका छन् । असुरक्षित ढोका, झ्याल वा घरको सीमाका कारण सुरक्षित महसुस गर्न कठिन हुने उत्तरदाताको अनुपात ७३ प्रतिशत छ । यसले घरको गुणस्तर, संरचनागत सुरक्षा र विपद् प्रतिरोधी आवासको आवश्यकता उजागर गरेको छ ।
किफायती घरको अभाव र नीतिप्रति असन्तुष्टि
आवासको मूल्य बढ्दै जाँदा किफायती घरको उपलब्धता पनि चुनौतीपूर्ण बनेको छ । प्रतिवेदनअनुसार ७८ प्रतिशत उत्तरदाताले नेपालमा किफायती घर पर्याप्त नभएको बताएका छन् । पहिलो पटक घर खरिद गर्नेलाई सहयोग गर्न विद्यमान आवास नीतिहरू पर्याप्त नभएको ठान्नेको अनुपात ७४ प्रतिशत छ । त्यस्तै, ७७ प्रतिशतले बढ्दो आवास लागतले घरधनी बन्न कठिन बनाइरहेको बताएका छन् ।
यद्यपि, ७१ प्रतिशत नेपालीले जीवनको कुनै न कुनै समयमा आफ्नै घर हुने अपेक्षा राखेका छन् । यसले घरधनी बन्ने चाहना कायम रहे पनि त्यसलाई व्यवहारमा परिणत गर्न आर्थिक तथा नीतिगत अवरोध रहेको देखाउँछ ।
देशको आवास प्रणाली प्रभावकारी रूपमा सञ्चालन नभएको धारणा राख्ने नेपालीको अनुपात ७२ प्रतिशत छ । विश्वव्यापी औसत भने ५६ प्रतिशत रहेको छ । अर्कोतर्फ, ८३ प्रतिशत नेपालीले सुरक्षित तथा मर्यादित आवासलाई आधारभूत मानव अधिकार मानेका छन्। आफू बस्ने क्षेत्रमा थप किफायती वा सामाजिक आवास उपलब्ध भए स्वागत गर्ने बताउनेको अनुपात ७९ प्रतिशत छ ।
१२ लाखभन्दा बढी सुरक्षित आवासबाट वञ्चित
अनौपचारिक आवासीय व्यवस्थामा बस्ने नेपालीको अवस्था अझ असुरक्षित देखिएको छ । औपचारिक आवासीय कागजात नभएका, अस्थायी आवासमा रहेका वा अन्य गैरऔपचारिक व्यवस्थामा बस्ने उत्तरदातामध्ये ५३ प्रतिशतले मात्रै आफू अहिले बसिरहेको ठाउँमा बसिरहन सक्नेमा विश्वास व्यक्त गरेका छन् ।
प्रतिवेदनअनुसार नेपालमा १२ लाखभन्दा बढी मानिस सुरक्षित जग्गा वा आवासबाट वञ्चित छन् । करिब १३ लाख परिवार अनौपचारिक जग्गा तथा आवासीय स्वामित्व व्यवस्थामा रहेका छन् । यसले सुरक्षित जग्गाको उपलब्धता, कानुनी स्वामित्व र आवासीय अधिकार सुनिश्चित गर्नुपर्ने आवश्यकतालाई थप स्पष्ट पारेको छ ।
अध्ययनका लागि नेपालमा कुल एक हजार ४०० जनालाई सर्वेक्षणमा सहभागी गराइएको थियो । तीमध्ये एक हजार वयस्कलाई अनलाइन माध्यमबाट राष्ट्रिय नमुनाका रूपमा समेटिएको थियो। उमेर, लिङ्ग, क्षेत्र र आयका आधारमा राष्ट्रिय वयस्क जनसंख्याको प्रतिनिधित्व हुने गरी नमुना तयार पारिएको र तथ्यांकलाई सम्बन्धित जनसाङ्ख्ियक आधारमा भारित गरिएको प्रतिवेदनमा उल्लेख छ ।
यसका अतिरिक्त, मासिक पारिवारिक आम्दानी २० हजार रुपैयाँभन्दा कम भएका ३०० जनालाई सर्वेक्षणमा समेटिएको थियो । अनौपचारिक आवासीय व्यवस्थामा रहेका थप १०० जनासँग काठमाडौं, काभ्रे, भक्तपुर र टोखामा प्रत्यक्ष अन्तर्वार्ता गरिएको थियो । यी लक्षित समूहका थप नमुना भने स्वतन्त्र रूपमा राष्ट्रिय प्रतिनिधिमूलक नभएको प्रतिवेदनले स्पष्ट पारेको छ ।
ह्याबिट्याट फर ह्युम्यानिटी इन्टरनेसनलले एडेलम्यान इन्टेलिजेन्समार्फत सन् २०२६ अप्रिल १० देखि जुन ३० सम्म करिब २० मिनेटको सर्वेक्षण सञ्चालन गरेको थियो । नेपालसहित २२ देशका कुल ३० हजार ७५८ जना यसमा सहभागी भएका थिए ।
प्रतिवेदनको निष्कर्षमा नेपालमा आवासको समस्या घर निर्माणमा मात्र सीमित नरहेको उल्लेख छ । आवासको लागत घटाउने, सुरक्षित जग्गा तथा स्वामित्व सुनिश्चित गर्ने, जलवायु र प्राकृतिक विपद्का जोखिम न्यूनीकरण गर्ने तथा किफायती र दिगो आवासको उपलब्धता बढाउने विषयलाई एकीकृत रूपमा सम्बोधन गर्नुपर्ने अध्ययनले औँल्याएको छ ।



