गोरखाको चुमनुब्री गाउँपालिका–६ भएर बग्ने उङगिलुङ खोलाबाट बूढीगण्डकीमा आइतबार बिहानै अचानक आएको भीषण बाढीले धेरै क्षति पुर्याएको छ ।
उत्तरी गोरखाको हिमाली भेगमा हिउँपहिरो खसेपछि बुढीगण्डकी नदीमा आकस्मिक तथा भीषण बाढी आएको बताइएको छ । गोरखाको चुमनुब्री गाउँपालिकास्थित लोक्पा र चुमलिङ क्षेत्रमा हिउँपहिरो खसेर नदी थुनिँदै र फुट्दै आएपछि बुढीगण्डकीमा लेदोसहितको भयानक बाढी आएको हो । आइतबार सिंहदरबारस्थित कार्यालयमा जानकारी दिँदै प्राधिकरणका कार्यकारी प्रमुख डा.धर्मराज उप्रेतीले बाढीका कारण आरुघाट बजार क्षेत्र जलमग्न भएको र धादिङ जोड्ने पुल बगेको पुष्टि गरे ।
उनका अनुसार, बाढीले साहस ऊर्जा कम्पनीको तल्लो संरचनामा क्षति पुर्याएको छ भने त्यहाँ कार्यरत १८ जना प्राविधिक तथा कर्मचारी सुरक्षित स्थानतर्फ सरेका छन् । बाढीको प्रभाव क्षेत्रमा सेनाको हेलिकप्टरमार्फत हवाई निरीक्षण (रेकी) भइरहेको छ भने उद्धारका लागि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल परिचालन गरिएको प्रमुख उप्रेतीले बताए ।
डा. उप्रेतीले मौसम प्रतिकुल भएकाले तत्काल हेलिकप्टर अवतरण गर्न नसकिए पनि उच्च जोखिममा परेका नागरिकहरूलाई सुरक्षित स्थलमा सार्ने काम भइरहेको बताए । उत्तरी क्षेत्रका सल्लेरी र जगत बजारमा केही घर तथा सवारीसाधन बगाएको प्रारम्भिक सूचना प्राप्त भएको र त्यसको विस्तृत विवरण संकलन भइरहेको प्राधिकरणले जनाएको छ । समयमै पूर्वसूचना जारी गरिएकाले तल्लो तटीय क्षेत्रका बस्तीहरू तत्काल खाली गराउन सकिएको र त्यहाँ अहिलेसम्म कुनै मानवीय क्षति नभएको प्राधिकरणको दाबी छ ।
उक्त बाढीले धार्चे गाउँपालिका जोड्ने माछीखोला पुल बगाएको छ । सहायक प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माका अनुसार, बाढीबाट माछीखोला बजारमा क्षति भएको छ । आरुघाटको सोती र मान्बु जोड्ने मोटरेबल पुल पनि बगेको छ ।
बूढीगण्डकीको बाढीले पैयू र बगर गाउँका ३५ घर बगाएको छ । चुमनुब्री गाउँपालिकाकी उपाध्यक्ष लक्ष्मी गुरुङका अनुसार दोभान, घट्टेखोला, जगत् र सल्लेरी गाउँमा व्यापक क्षति भएको हो । आइतबार बिहान करिब ४ बजेतिर ती गाउँमा बाढी पसेपछि स्थानीयहरू सुरक्षित स्थानतर्फ भागेका थिए । गुरुङका अनुसार, चुमनुब्री गाउँपालिका–३ का बजारमा बाढीबाट धेरै क्षति भएको छ । यस्तै, उङगिलुङ खोला किनारका चार वटा गोठ, त्यहाँ बाँधिएका १५ वटा याक र नाक बगेका छन् भने पशुको हेरचाहमा बसेका चार जना सम्पर्कविहीन छन् ।
यसैगरी, बूढीगण्डकीमा आएको उक्त भीषण बाढीले चुमनुब्री गाउँपालिका–३ सल्लेरीमा निर्माणाधीन जलविद्युत् परियोजनाको क्याम्प बगाएको छ । ३४१ मेगावाटको अर्धजलाशययुक्त बुढीगण्डकी जलविद्युत् आयोजनाको क्याम्प बाढीले बगाएको हो ।


