चाडपर्वको समयमा काठमाडौं उपत्यकामा एलपी ग्यासको आपूर्ति सहज बनाउन उपभोक्ताले जुनसुकै ब्रान्डको खाली सिलिन्डर बुझाएर अर्को ब्रान्डको भरिएको सिलिन्डर लिन पाउने व्यवस्था भएको छ । दसैँलाई लक्षित गर्दै खाना पकाउने एलपी ग्यासको आपूर्ति सहज बनाउन काठमाडौँ उपत्यकाका विभिन्न ६ स्थानबाट जुनसुकै कम्पनीका सिलिन्डर साट्न सकिने व्यवस्था गरिएको हो ।
नेपाल एलपी ग्यास उद्योग संघका अनुसार आज असोज २५ गते आइतबार घटस्थापनादेखि आउँदो शनिबार फूलपातीसम्म उपभोक्ताले तोकिएका केन्द्रबाट आफ्नो सिलिन्डर साटेर ग्यास लिन सक्नेछन् ।
संघले उपत्यकाका विभिन्न ग्यास उद्योग तथा गोदामलाई सिलिन्डर साट्ने केन्द्रका रूपमा तोकेको छ । जसअनुसार बालाजुस्थित नेपाल ग्यास उद्योग, पेप्सिकोलास्थित सगर ग्यासको गोदाम, सुकेधारास्थित बाबा ग्यासको डिपो, सिफलस्थित एभरेस्ट तथा सुगम ग्यासको केन्द्र, कलंकीस्थित साईबाबा तथा श्रीकृष्ण ग्यासको गोदाम र ललितपुरको हरिसिद्धिस्थित श्रीराम ग्यासको गोदामबाट सिलिन्डर साट्न सकिनेछ ।
तोकिएका केन्द्रबाट उपभोक्ताले सम्बन्धित स्थानमा उपलब्ध गराइने कम्पनीका सिलिन्डर लिन सक्नेछन् । बालाजुबाट नेपाल, एचपी, गीता, राजधानी र त्रिवेणी ग्यासका सिलिन्डर उपलब्ध हुनेछन् । त्यसैगरी, पेप्सिकोलाबाट सगर, सुकेधाराबाट बाबा र श्री, सिफलबाट एभरेस्ट र सुगम, कलंकीबाट साईबाबा र श्रीकृष्ण तथा हरिसिद्धिबाट श्रीराम ग्यासका सिलिन्डर साट्न पाइनेछ ।
संघका अनुसार, फरक कम्पनीको सिलिन्डर साट्दा उपभोक्ताले अतिरिक्त शुल्क तिर्नुपर्ने छैन । नेपाल आयल निगमको समन्वय तथा ग्यास विक्रेता महासंघको सहकार्यमा सञ्चालन हुने यो व्यवस्था बिहान ९ः३० बजेदेखि बेलुका ४ बजेसम्म लागू हुनेछ ।
हाल बजारमा ५८ वटा ग्यास उद्योगका सिलिन्डर प्रचलनमा छन् । सिलिन्डर साट्ने क्रममा उपभोक्ताले आफ्नो पहिचान खुल्ने विवरण र मोबाइल नम्बर अभिलेखका लागि उपलब्ध गराउनुपर्ने संघले जनाएको छ ।


