Banijya News

बूढीगण्डकीमा बाढी आउँदा पाँच पर्यटक अलपत्र, मनास्लु तथा चुम भ्यालीको पदमार्ग अवरुद्ध

1
1.0K Shares

गोरखाको बूढीगण्डकी नदीमा आइतबार बिहान आएको बाढीका कारण मनास्लु तथा चुम भ्याली क्षेत्रतर्फ पदयात्रामा गएका पाँच जना पर्यटक अलपत्र परेका छन् । बिहान करिब ४ बजेर २५ मिनेटमा आएको बाढीका कारण नदीको तटीय क्षेत्रमा भौतिक क्षति पुगेको छ भने बाटो बिग्रिएपछि पर्यटकहरूलाई सुरक्षित स्थानमा फर्किन कठिनाइ भएको छ ।

गोरखाको चुमनुब्री गाउँपालिकाका अध्यक्ष निमा लामाका अनुसार न्याकफेती भन्ने स्थानमा पाँच जना पर्यटक अलपत्र परेका हुन् । उनीहरूसँग खाद्यान्नको अभाव रहेको र पदमार्ग बिग्रिएका कारण तल झर्न समस्या भएको उनले जानकारी दिए । गाउँपालिका क्षेत्रभन्दा माथि पुगेका अन्य पर्यटकहरू भने सुरक्षित रहेको लामाले बताए ।

अलपत्र पर्यटकको उद्धारका लागि जिल्ला प्रशासन कार्यालय गोरखा र गृह मन्त्रालयलाई जानकारी गराइसकिएको छ । स्थानीय प्रशासन र प्रमुख जिल्ला अधिकारीको समन्वयमा उद्धारका लागि हेलिकप्टरसमेत मगाइएको अध्यक्ष लामाले बताए । उद्धार कार्यलाई प्रभावकारी बनाउन सम्बन्धित निकायसँग समन्वय भइरहेको उनको भनाइ छ ।

आइतबार बिहान चुम्चेतको उङ्गिनुङ खोला आसपास ठूलो पहिरो गएको थियो । त्यसपछि आएको सुक्खा पहिरोका कारण बूढीगण्डकी नदी र त्यसमा शाखा खोला मिसिने स्थानभन्दा तल्लो क्षेत्रमा ठूलो क्षति पुगेको छ । अध्यक्ष लामाका अनुसार उक्त क्षेत्रमा घर, पुल तथा खेतबारीमा क्षति भएको छ । यद्यपि, माथिल्लो क्षेत्रमा मानवीय क्षति नभएको र अवस्था सामान्य रहेको उनले जानकारी दिए ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयअन्तर्गतको पर्यटन विभागका अनुसार यस वर्ष मनास्लु क्षेत्रमा पाँच सय जना पर्यटक आरोहणका लागि गएका थिए । तर, प्रतिकूल मौसम तथा आरोहणको अवस्था अनुकूल नभएका कारण अधिकांश पर्यटक फर्किसकेका छन् । विभागका महानिर्देशक रामकृष्ण लामिछानेका अनुसार आरोहण दलका सदस्यहरू भने बाढीबाट प्रभावित भएका छैनन् ।

ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान)का अध्यक्ष सागर पाण्डेका अनुसार सम्बन्धित ट्रेकिङ कम्पनीहरूले आफ्ना समूहका पर्यटकको अवस्थाबारे जानकारी लिइरहेका छन् । बाटो अवरुद्ध हुँदा समस्या परेका पर्यटकलाई आवश्यकताअनुसार उद्धार गर्न आग्रहसमेत भइरहेको उनले बताए । हालसम्म ठूलो संख्यामा पर्यटकको उद्धार गर्नुपर्ने अवस्था देखिएको छैन ।

यस्तै, वायुसेवा सञ्चालक संघका अध्यक्ष प्रतापजंग पाण्डेले नेपाल नागरिक उड्डयन प्राधिकरणबाट सतर्क अवस्थामा रहन निर्देशन आएको जानकारी दिए । उनका अनुसार हेलिकप्टर उद्धारका लागि तयारी अवस्थामा राखिएको छ । पर्यटक तथा स्थानीय ठूलो संख्यामा अलपत्र परेको जानकारी नआए पनि आवश्यकताअनुसार उद्धार गर्न सकिने उनले बताए ।

1

Scroll to Top