Banijya News

स्वीकृतिबिना इन्टरनेटको मूल्य बढाए कारबाही गर्ने प्राधिकरणको चेतावनी

1
1.0K Shares

नेपाल दूरसञ्चार प्राधिकरणले नियामक निकायको पूर्वस्वीकृतिबिना इन्टरनेट सेवाको महसुल दर परिवर्तन तथा मूल्य वृद्धि नगर्न सेवा प्रदायकहरूलाई निर्देशन दिएको छ । प्राधिकरणले स्वीकृत महसुल दर तथा प्याकेजको विवरण सार्वजनिक नगर्ने र स्वीकृतिबिना मूल्य वृद्धि गर्ने सेवा प्रदायकलाई प्रचलित कानुनबमोजिम कडा कारबाही गर्ने चेतावनी दिएको हो ।

प्राधिकरणका अनुसार पछिल्लो समय केही इन्टरनेट सेवा प्रदायकले स्वीकृत महसुल दर तथा प्याकेजको विवरण सार्वजनिक नगरेको, पुराना प्याकेजहरू स्वीकृतिबिना परिवर्तन गरेको र इन्टरनेट सेवाको मूल्य बढाएको गुनासो प्राप्त भएको छ । यस्ता गतिविधिले उपभोक्तालाई आर्थिक भार थप्नुका साथै आफूले चाहेको सेवा तथा प्याकेज छनोट गर्ने अधिकारमा समेत असर पारेको प्राधिकरणको भनाइ छ ।

नेपाल दूरसञ्चार ऐन, २०५३ को दफा ४२ मा दूरसञ्चार सेवा प्रदायकले ग्राहकबाट लिने महसुल दर प्राधिकरणबाट अनिवार्य रूपमा स्वीकृत गराउनुपर्ने व्यवस्था छ । त्यसैगरी, स्वीकृत महसुल दरको विवरण सर्वसाधारणको जानकारीका लागि सार्वजनिक गर्नुपर्ने कानुनी प्रावधानसमेत रहेको छ ।

प्राधिकरणले उक्त कानुनी व्यवस्थाको पालना गर्दै इन्टरनेट सेवा प्रदायकहरूलाई सबै स्वीकृत इन्टरनेट प्याकेजको विवरण सार्वजनिक गर्न निर्देशन दिएको छ । उपभोक्ताले उपलब्ध सेवाबारे पर्याप्त जानकारी प्राप्त गरी आफ्नो आवश्यकता र आर्थिक क्षमताअनुसार उपयुक्त प्याकेज छनोट गर्न सक्ने वातावरण सुनिश्चित गर्नु निर्देशनको मुख्य उद्देश्य रहेको छ ।

निर्देशनअनुसार सेवा प्रदायकहरूले इन्टरनेटको ब्यान्डविथ तथा गति, महसुल दर र सेवा प्रयोगसम्बन्धी सर्तहरू स्पष्ट रूपमा सार्वजनिक गर्नुपर्नेछ । यस्ता विवरण कम्पनीका आधिकारिक वेबसाइट, मोबाइल एप तथा ग्राहक सेवा केन्द्रमार्फत सहज रूपमा उपलब्ध गराउनुपर्ने प्राधिकरणले जनाएको छ ।

प्राधिकरणले महसुल निर्धारणमा पारदर्शिता कायम गर्न र उपभोक्ताको हित संरक्षण गर्न यस्तो निर्देशन दिएको हो । स्वीकृतिबिना मूल्य परिवर्तन गर्ने तथा विवरण लुकाउने सेवा प्रदायकमाथि कानुनअनुसार कारबाही गरिने चेतावनीसमेत प्राधिकरणले दिएको छ ।

1

Scroll to Top