Banijya News

सुपरमाई हाइड्रोपावरले ५९ करोड ४० लाखको हकप्रद सेयर जारी गर्ने

1
1.0K Shares

सुपरमाई हाइड्रोपावर लिमिटेडले ५९ करोड ४० लाख रुपैयाँ बराबरको हकप्रद सेयर निष्कासन गर्न विद्युत् नियमन आयोगबाट पूर्वस्वीकृति पाएको छ । आयोगले असोज २३ गते कम्पनीलाई ५९ लाख ४० हजार कित्ता हकप्रद सेयर जारी गर्न अनुमति दिएको हो ।

कम्पनीको हालको चुक्ता पुँजी ६४ करोड २० लाख रुपैयाँ छ । कम्पनीले सुरुमा १ः१ अनुपातमा हकप्रद सेयर निष्कासन गर्न माग गरे पनि आयोगले नबिल बैंकको कर्जा भुक्तानीका लागि आवश्यक रकम जुटाउन मात्रै स्वीकृति दिएको छ । हकप्रदबाट प्राप्त रकममध्ये ५१ करोड ४० लाख रुपैयाँ बैंकको ऋण तिर्न र बाँकी ४ करोड ८० लाख रुपैयाँ उपकरण मर्मतमा खर्च गर्ने कम्पनीको प्रस्ताव थियो ।

आयोगले सेयरबाट प्राप्त रकम कर्जा भुक्तानीमा प्रयोग गरी १५ दिनभित्र प्रमाणसहित जानकारी गराउन निर्देशन दिएको छ । कम्पनीले अब संस्थापक सेयरधनीलाई पहिलो चरणमा हकप्रद सेयर जारी गरी त्यसको विवरण सार्वजनिक गरेपछि सर्वसाधारणका लागि निष्कासन गर्नुपर्नेछ ।

इलाममा ७.८ मेगावाट क्षमताको जलविद्युत् आयोजना सञ्चालन गरिरहेको कम्पनीले निष्कासनका लागि नेपाल धितोपत्र बोर्डलगायत निकायको प्रक्रिया पूरा गर्न बाँकी छ ।

1

Scroll to Top