चाडपर्वका बेला एलपी ग्यासको सहज बिक्री तथा वितरण गर्न नेपाल एलपी ग्यास उद्योग संघले काठमाडौं उपत्यकामा ११ वटा बिक्री केन्द्र तोकेको छ । नेपाल आयल निगमको समन्वय र ग्यास विक्रेता महासंघको सहकार्यमा असोज २६ देखि ३० गतेसम्म बिहान ११ बजेदेखि अपराह्न ४ बजेसम्म ती केन्द्रबाट ग्यास साट्न सकिनेछ ।
संघका अनुसार सोमबारदेखि थपिएका नयाँ वितरण केन्द्रहरूमा बुढानीलकण्ठको चपली (भानु ग्यास), ललितपुरको हरिसिद्धि (नेपाल र एचपी ग्यास), कलंकी (गीता ग्यास), खसीबजारस्थित आरके ट्रेडर्स (सीताश्री ग्यास) र सतुंगल (श्रीमाया ग्यास) रहेका छन् ।
यसअघि आइतबारदेखि नै ललितपुरको हरिसिद्धिमा श्रीराम, कलंकीमा साइबाबा र श्रीकृष्ण तथा सुकेधारामा बाबा र श्री ग्यास साटफेर भइरहेको छ । त्यसैगरी, बालाजु औद्योगिक क्षेत्र गेट अगाडि (नेपाल, एचपी, गीता, राजधानी र त्रिवेणी ग्यास), पेप्सीकोला (सगर ग्यास) र सिफलचौरस्थित ग्यास एन्ड अक्सिजन ट्रेडर्सबाट (एभरेस्ट र सुगम ग्यास) लिन सकिने व्यवस्था मिलाइएको छ ।
ग्यास साटफेर हुने समय पनि संघले एक दिन घटाएको छ । यसअघि संघले असोज ३१ गतेसम्म बिहान ९ः३० बजेदेखि सेवा दिने सूचना जारी गरे तापनि हाल उक्त समयतालिका परिमार्जन गरिएको छ । असोज ३० गतेसम्म मात्र पाइने र उपभोक्ताले हरेक दिन बिहान ११ बजेदेखि दिउँसो साढे ४ बजेसम्म तोकिएका केन्द्रहरूमा गएर ग्यास लिन सक्नेछन् । संघका अनुसार, फरक कम्पनीको सिलिन्डर साट्दा उपभोक्ताले अतिरिक्त शुल्क तिर्नुपर्ने छैन ।
साथै, तोकिएका यी ११ वटा केन्द्रबाहेक अन्य खुद्रा पसल वा स्थानबाट भने फरक कम्पनीको सिलिन्डर साट्न नमिल्ने जानकारी गराइएको छ । संघले तोकिएका केन्द्रमा काठमाडौं उपत्यकामा ग्यास बिक्री गर्ने सदस्य उद्योगका सिलिन्डर मात्रै साट्न सकिने जनाएको छ ।
हाल बजारमा ५८ वटा ग्यास उद्योगका सिलिन्डर प्रचलनमा छन् । सिलिन्डर साट्ने क्रममा उपभोक्ताले आफ्नो पहिचान खुल्ने विवरण र मोबाइल नम्बर अभिलेखका लागि उपलब्ध गराउनुपर्ने संघले जनाएको छ ।


