दसैँ नजिकिएसँगै काठमाडौँ उपत्यकाबाट आफ्नो घर फर्किने यात्रुको चाप बढ्न थालेको छ । अध्ययन, रोजगारी तथा विभिन्न पेसा–व्यवसायका सिलसिलामा राजधानीमा बसोबास गर्दै आएका मानिसहरू दसैँ मनाउन धमाधम गाउँ फर्किन थालेका हुन् ।
उपत्यकाका विभिन्न नाकामा देशका विभिन्न जिल्लातर्फ जाने लामो तथा छोटो दूरीका सार्वजनिक यातायातमा यात्रुको चहलपहल बढेको छ । परिवार, आफन्त तथा इष्टमित्रसँग भेटघाट गरी दसैँ मनाउन घर फर्किने यात्रुको संख्या बढेसँगै बसपार्क र सडकमा समेत यात्रुको आवागमन बाक्लिएको छ ।
काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक रवीन्द्र खनालका अनुसार सोमबार बिहानदेखि मंगलबार बिहानसम्मको २४ घण्टामा काठमाडौँ उपत्यकाका विभिन्न नाका हुँदै ५६ हजार ८०९ यात्रु बाहिरिएका छन् ।
उनका अनुसार, सबैभन्दा धेरै यात्रु नागढुङ्गा नाकाबाट बाहिरिएका छन्। उक्त नाकाबाट २७ हजार ६४९ यात्रु बाहिरिएका छन् । त्यस्तै, भक्तपुर नाकाबाट २० हजार ६१५, फर्पिङ नाकाबाट पाँच हजार ५१०, तीनपिप्ले नाकाबाट ९७२ र भट्टेडाँडा नाकाबाट ८८६ यात्रु बाहिरिएका छन् ।
यसैगरी, साँखु नाकाबाट ६०८, भीमढुङ्गा नाकाबाट ५१३ तथा थानकोट नाकाबाट ५६ यात्रु बाहिरिएको ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । दसैँका लागि घर फर्किने क्रम बढ्दै जाँदा आगामी दिनमा यात्रुको चाप थप बढ्ने अनुमान गरिएको छ ।
यात्रुको चाप बढेसँगै सार्वजनिक यातायात व्यवस्थापनमा समेत चुनौती देखिएको छ । विशेषगरी विभिन्न राष्ट्रिय राजमार्गमा भएको क्षति तथा सडक अवरोधका कारण सवारीसाधनको आवागमन प्रभावित हुँदा यातायात व्यवसायीलाई थप समस्या भएको छ ।
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव डेकनाथ गौतमले सडकको अवस्थाका कारण सवारीसाधन व्यवस्थापनमा कठिनाइ भइरहेको बताए। उनका अनुसार दसैँको पूर्वसन्ध्यामा विभिन्न राजमार्ग बिग्रिँदा सवारीसाधन निर्धारित समयमा गन्तव्यमा पुग्न र काठमाडौँ फर्किन समस्या भएको छ ।
असोज २३ गते अग्रिम बस टिकट बुकिङ खुला भएको दिन धादिङको गलौँदीस्थित पृथ्वी राजमार्ग भासिएपछि सवारी आवागमन अवरुद्ध भएको थियो। त्यस क्रममा धेरै सवारीसाधन काठमाडौँमै रोकिँदा बसको उपलब्धता र व्यवस्थापनमा समस्या परेको महासचिव गौतमले बताए।
यसैबीच, महासंघले यात्रुलाई अग्रिम टिकट काटेर मात्र यात्रा गर्न, तोकिएको भाडा तिर्न तथा यात्राअघि सवारीसाधनको अवस्था जाँच गर्न आग्रह गरेको छ । चाडपर्वका बेला यात्रुको चाप बढ्ने भएकाले सुरक्षित र व्यवस्थित यात्राका लागि सावधानी अपनाउनुपर्नेमा व्यवसायीले जोड दिएका छन् ।
दसैँ पारिवारिक पुनर्मिलन, भेटघाट र आपसी सद्भावको पर्व भएकाले राजधानीमा बसोबास गर्ने मानिसहरू हरेक वर्ष यस अवसरमा आफ्नो जन्मथलो फर्किने गर्छन्। यस वर्ष पनि चाडपर्व नजिकिएसँगै उपत्यकाबाट बाहिरिने यात्रुको चाप बढ्दै गएको छ । सडकको अवस्था र सवारीसाधनको उपलब्धताले यात्राको सहजता निर्धारण गर्ने भएकाले यात्रु तथा यातायात व्यवसायी दुवैले सावधानी अपनाउनुपर्ने देखिएको छ ।


