Banijya News

चाडपर्वमा बजार अनुगमनमा कडाइ, आपूर्ति र मूल्यमा सरकारको विशेष ध्यान

1
1.0K Shares

दसैँ, तिहार र छठजस्ता प्रमुख चाडपर्व नजिकिएसँगै बजारमा हुन सक्ने कृत्रिम अभाव, अस्वाभाविक मूल्यवृद्धि र उपभोक्तामाथिको ठगी रोक्न सरकारले बजार अनुगमन तीव्र बनाएको छ । उपभोग्य वस्तुको सहज उपलब्धता सुनिश्चित गर्ने, गुणस्तर कायम राख्ने र आपूर्ति व्यवस्थापन प्रभावकारी बनाउने उद्देश्यले वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले नियमित अनुगमनलाई थप सक्रिय बनाएको हो ।

चाडपर्वका बेला खाद्यान्न, चिनी, ग्यास, मासुजन्य वस्तुलगायत दैनिक उपभोग्य सामग्रीको माग बढ्ने भएकाले सरकारले बजारको मौज्दात, मूल्य, गुणस्तर र आपूर्तिको अवस्थालाई प्राथमिकतामा राखेको छ । यसका लागि नियमित अनुगमन टोलीसँगै मन्त्रालय तथा मातहतका निकायबाट थप कर्मचारी परिचालन गरिएको विभागले जनाएको छ ।

वाणिज्य विभागका महानिर्देशक रितेशकुमार शाक्यका अनुसार दसैँ, तिहार र छठलाई लक्षित गरी काठमाडौं उपत्यकामा नियमित अनुगमन टोलीबाहेक थप ५० जना कर्मचारी परिचालन गरिएको छ । बजारमा उपभोग्य वस्तुको अभाव हुन नदिन र उपभोक्ताले सहज रूपमा सामान खरिद गर्न सक्ने वातावरण बनाउन अनुगमनलाई प्रभावकारी बनाइएको उनले बताए ।

उनका अनुसार बजार अनुगमनमा वाणिज्य विभाग मात्रै नभई खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग, पशु सेवा विभाग, जिल्ला प्रशासन कार्यालय, स्थानीय तह तथा प्रदेशका सम्बन्धित निकायसमेत सहभागी छन् । उपभोक्ता संरक्षण ऐनअन्तर्गत जिल्लामा सहायक प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा गठित समितिले पनि बजारको अवस्थाबारे निगरानी गरिरहेको छ ।

विभागले आफ्नै संयन्त्रबाट नियमित अनुगमन गर्नुका साथै आवश्यकताअनुसार सम्बन्धित निकायलाई नेतृत्व दिएर संयुक्त अनुगमनसमेत गर्दै आएको छ । हाल काठमाडौं उपत्यकामा दैनिक करिब १० वटासम्म अनुगमन टोली परिचालन हुने गरेका छन् । तीमध्ये एकदेखि दुईवटा टोली उपभोक्ताको उजुरी प्राप्त हुनासाथ सम्बन्धित स्थानमा पुग्ने गरी परिचालित हुन्छन् । अन्य टोलीले क्षेत्र विभाजन गरेर बजारमा वस्तुको उपलब्धता, मूल्य र गुणस्तरको अवस्था जाँच गर्ने गरेका छन् ।

विपद्ले आपूर्तिमा असर, ग्यास व्यवस्थापनमा सहजीकरण

हालैको विपद्का कारण मुख्य राजमार्ग तथा उत्तरी नाकामा अवरोध सिर्जना हुँदा केही उपभोग्य वस्तुको आपूर्ति शृंखलामा असर परेको विभागले जनाएको छ । यसको प्रभाव सुरुमा खाना पकाउने ग्यासलगायत केही वस्तुको आपूर्तिमा देखिएको थियो । पछिल्लो समय ग्यासको आपूर्ति केही सहज भए पनि उपभोक्ताले आफूले प्रयोग गर्दै आएको ब्रान्डकै ग्यास पाउन कठिनाइ भएको गुनासो गरिरहेका छन् ।

महानिर्देशक शाक्यका अनुसार एउटै कम्पनीको ग्यास खोज्ने उपभोक्तालाई सहज बनाउन ब्रान्ड परिवर्तन गरेर ग्यास उपलब्ध गराउन मिल्ने व्यवस्था गरिएको छ । सुरुमा छ स्थानबाट उपलब्ध गराइएको यस्तो सुविधा पछि विस्तार गरी ११ स्थानबाट उपलब्ध गराउने व्यवस्था मिलाइएको उनले जानकारी दिए ।

ग्यासको आपूर्ति व्यवस्थापनलाई दीर्घकालीन रूपमा सहज बनाउन औद्योगिक र व्यक्तिगत प्रयोजनमा प्रयोग हुने ग्यासको छुट्टाछुट्टै व्यवस्था, सिलिन्डरको आकार तथा ब्रान्ड व्यवस्थापनलगायत विषयमा मन्त्रालयमा नीतिगत छलफल भइरहेको छ । यसबाट ग्यासको माग र वितरणलाई व्यवस्थित बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

विभागले नेपाल आयल निगम, खाद्य व्यवस्था तथा व्यापार कम्पनी, साल्ट ट्रेडिङ कर्पोरेसन तथा निजी क्षेत्रका प्रतिनिधिमूलक संस्थासँग नियमित छलफल गरेर वस्तुको मौज्दात र आपूर्तिको अवस्था बुझिरहेको छ । मुख्य सडक तथा उत्तरी नाकामा भएको अवरोधले सिर्जना गरेको समस्या र चाडपर्वमा बढ्ने मागलाई ध्यानमा राखेर बजारमा निरन्तर निगरानी भइरहेको शाक्यले बताए ।

चिनीको मौज्दात र सहुलियत पसलमा निगरानी

चाडपर्वमा चिनीको माग बढ्न सक्ने भएकाले विभागले उत्पादक, आपूर्तिकर्ता र व्यवसायीसँग मौज्दातको विवरण लिने तथा आपूर्ति व्यवस्थापनको अवस्था बुझ्ने काम गरिरहेको छ । साल्ट ट्रेडिङ कर्पोरेसन र खाद्य व्यवस्था तथा व्यापार कम्पनीसँग पनि चिनीको मौज्दातबारे जानकारी लिइएको शाक्यले बताए ।

सरकारले तोकेको मूल्यमा चिनी बिक्री वितरण गराउन साल्ट ट्रेडिङले खुद्रा व्यापार संघ तथा भाटभटेनी, बिग मार्ट र सेल्सबेरीजस्ता चेन स्टोरसँग समन्वय गरिरहेको छ । यसबाट बजारमा चिनीको उपलब्धता सहज बनाउनुका साथै उपभोक्ताले निर्धारित मूल्यमा वस्तु खरिद गर्न सक्ने वातावरण तयार पार्ने प्रयास गरिएको छ ।

त्यस्तै, खाद्य व्यवस्था तथा व्यापार कम्पनीले करिब १९० वटा बिक्री केन्द्रमार्फत सहुलियत मूल्यका पसल सञ्चालन गरिरहेको छ । यस्ता पसलले उपभोक्तालाई सहुलियतमा दैनिक उपभोग्य वस्तु उपलब्ध गराउनुका साथै निजी बजारमा मूल्य सन्तुलन कायम गर्नसमेत सहयोग पुर्‍याउने विभागको विश्वास छ ।

सहुलियत मूल्यका पसल तथा निजी क्षेत्रका बिक्री केन्द्रको अवस्थाबारे जानकारी लिँदै विभागले बजारमा वस्तुको मौज्दात पर्याप्त भए नभएको जाँच गरिरहेको छ । आवश्यक वस्तुको माग बढेका बेला आपूर्ति अवरुद्ध हुन नदिन र व्यवसायीले मौज्दात लुकाएर कृत्रिम अभाव सिर्जना गर्न सक्ने सम्भावनालाई रोक्न यस्तो निगरानी बढाइएको हो ।

मासुको मूल्यवृद्धि नियन्त्रण गर्न संयुक्त अनुगमन

दसैँलाई लक्षित गरी मासुजन्य वस्तुको मूल्य बढेको गुनासो आएपछि विभागले पशु सेवा विभागसँग समन्वय गरेर बजार अनुगमन गरिरहेको छ । विशेषगरी खसीको मासुको मूल्य बढेको गुनासो प्राप्त भएपछि जिउँदो खसीबोकाको बिक्री मूल्यलाई आधार मानेर मासुको सम्भावित मूल्य निर्धारण गर्ने विषयमा छलफल भइरहेको महानिर्देशक शाक्यले बताए ।

विगतका वर्षमा खाद्य व्यवस्था तथा व्यापार कम्पनीले काठमाडौंमा भेडा, च्याङ्ग्रा र खसीबोका ल्याएर बिक्री गर्दा बजारमा मासुको मूल्य निर्धारणका लागि आधार प्राप्त हुने गरेको थियो । तर यस वर्ष कम्पनीबाट त्यस्तो आपूर्ति नभएकाले बजार मूल्यको आधार तय गर्न कठिनाइ भएको उनले बताए ।

मासुजन्य वस्तुको मूल्यसँगै गुणस्तर र स्वच्छतासम्बन्धी विषयमा पनि अनुगमन भइरहेको छ । यसका लागि पशु सेवा विभागको टोलीसमेत परिचालन गरिएको छ । चाडपर्वमा मासुको माग बढ्ने अवसरमा व्यवसायीले अस्वाभाविक मूल्य लिने वा गुणस्तरमा लापरबाही गर्ने सम्भावनालाई ध्यानमा राखेर संयुक्त अनुगमनलाई प्राथमिकता दिइएको विभागले जनाएको छ ।

मूल्य नियन्त्रण गर्न आधारमूल्यको अभाव

विभागले बजारमा वस्तुको मूल्य अनुगमन गरिरहेको भए पनि सबै वस्तुको मूल्य नियन्त्रण गर्न स्पष्ट आधार मूल्य नरहेको महानिर्देशक शाक्यले बताए । सरकारले मूल्य तोकेका वस्तुमा निर्धारित मूल्यअनुसार बिक्री भए नभएको जाँच गर्न सकिने भए पनि अन्य वस्तुको मूल्य मूल्यांकन तुलनात्मक अध्ययनका आधारमा गर्नुपर्ने अवस्था रहेको उनको भनाइ छ ।

कालोबजारी तथा केही अन्य सामाजिक अपराध तथा सजाय ऐनमा रहेको २० प्रतिशत नाफा मार्जिनसम्बन्धी पुरानो व्यवस्था अन्त्य भएपछि सबै वस्तुको मूल्य मूल्यांकन गर्न एउटै आधार नरहेको उनले बताए । त्यसैले बजारमा देखिएको मूल्यवृद्धि अस्वाभाविक हो वा लागत तथा आपूर्तिको अवस्थाका कारण भएको हो भन्ने विषयमा तुलनात्मक अध्ययन आवश्यक पर्ने उनको भनाइ छ ।

उपभोक्ता संरक्षण ऐनअन्तर्गत विभागले तीन लाख रुपैयाँसम्म जरिवाना गर्नेलगायत अधिकार प्रयोग गर्दै आएको छ । व्यवसायको प्रकृति, कारोबारको आकार, स्थान र कसुरको गम्भीरताका आधारमा व्यवसायीलाई निर्देशन दिने, सुधार गर्न लगाउने वा जरिवाना गर्नेजस्ता कारबाही गरिने विभागले जनाएको छ ।

शाक्यले बजार अनुगमनको उद्देश्य निजी क्षेत्रलाई नियन्त्रण गर्नु नभई उपभोक्ताको हित संरक्षण गर्नु रहेको स्पष्ट पारे । चाडपर्वलाई अत्यधिक नाफा कमाउने अवसरका रूपमा नलिई व्यवसायीले नैतिक व्यावसायिक आचरण कायम गर्नुपर्ने उनले बताए ।

विभागका अनुसार हालसम्मको अनुगमन तथा विभिन्न निकायबाट प्राप्त विवरणका आधारमा दैनिक उपभोग्य वस्तुको आपूर्ति सामान्य अवस्थामा सहज छ । भारतसँग जोडिएका नाकाबाट आउने उपभोग्य वस्तुको आपूर्ति पनि नियमित रहेको विभागको भनाइ छ । यद्यपि विपद्का कारण मुख्य सडक तथा उत्तरी नाकामा परेको अवरोध र चाडपर्वमा बढ्ने मागलाई अवसरका रूपमा प्रयोग गरी कृत्रिम अभाव सिर्जना हुन सक्ने भएकाले निगरानी बढाइएको छ ।

विपद्बाट प्रभावित १७ जिल्लामा जिल्ला प्रशासन कार्यालय, वाणिज्य कार्यालय तथा कृषि, पशु सेवा र खाद्य स्वच्छतासम्बन्धी निकायमार्फत अनुगमन भइरहेको छ । विभागले खुद्रा व्यापार संघ तथा व्यवसायीसँग बजारको मौज्दात र आपूर्तिबारे जानकारी लिने र बजारमा आफैँ पुगेर वस्तुको उपलब्धता जाँच्ने काम गरिरहेको छ ।

यसैबीच, उपभोक्तालाई सामान खरिद गर्दा गुणस्तरमा ध्यान दिन र अनिवार्य रूपमा बिलबिजक लिन विभागले आग्रह गरेको छ । बिलबिजकले उपभोक्तालाई ठगीबाट जोगाउन सहयोग गर्नुका साथै कारोबारको नियमन र राजस्व संकलनका लागि राज्यलाई आवश्यक आधार उपलब्ध गराउने शाक्यले बताए ।

बजारमा ठगी, कृत्रिम अभाव, अस्वाभाविक मूल्यवृद्धि वा अन्य समस्या देखिएमा विभागको हटलाइन, सूचना अधिकारी, सम्बन्धित निकाय तथा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको ‘हेलो सरकार’मार्फत उजुरी गर्न सकिने उनले जानकारी दिए । उजुरी प्राप्त भएपछि तत्काल अनुगमन गर्न विभागले क्विक रेस्पोन्स टोलीसमेत परिचालन गर्दै आएको छ ।

उपभोक्ता संरक्षण ऐन तथा वाणिज्य विभागसँग सम्बन्धित पुराना कानुनलाई समयसापेक्ष र उपभोक्तामैत्री बनाउने विषयमा पनि छलफल आवश्यक रहेको शाक्यको भनाइ छ । बजारलाई सहज रूपमा सञ्चालन हुन दिँदै आवश्यकताअनुसार नियमन गर्ने नीति विभागले अपनाएको छ ।

चाडपर्वका समयमा उपभोग्य वस्तुको माग, आपूर्ति, गुणस्तर र मूल्यको अवस्थालाई निरन्तर निगरानीमा राखेर उपभोक्तालाई सहज र सुलभ रूपमा सामान उपलब्ध गराउनु विभागको प्राथमिकता रहेको शाक्यले बताए । बजारमा कृत्रिम अभाव सिर्जना हुन नदिन सरकारी अनुगमनसँगै व्यवसायीको जिम्मेवार व्यवहार र उपभोक्ताको सचेततासमेत उत्तिकै आवश्यक देखिएको छ ।

1

Scroll to Top