Banijya News

निर्जीवन बीमकको ६७.५५ प्रतिशत लगानी मुद्दति निक्षेपमा

1
1.0K Shares

निर्जीवन बीमा कम्पनीहरूले गत आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमाससम्म विभिन्न क्षेत्रमा ६५ अर्ब ६१ करोड रुपैयाँभन्दा बढी लगानी गरेका छन् । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्यांकअनुसार सञ्चालनमा रहेका १४ निर्जीवन बीमकको कुल लगानीमध्ये सबैभन्दा ठूलो हिस्सा बैंक तथा वित्तीय संस्थाको मुद्दति निक्षेपमा रहेको छ ।

तथ्यांकअनुसार निर्जीवन बीमकहरूले बैंक तथा वित्तीय संस्थाको मुद्दति निक्षेपमा मात्रै ४४ अर्ब ३२ करोड ६२ लाख रुपैयाँ लगानी गरेका छन् । यो उनीहरूको कुल लगानीको ६७.५५ प्रतिशत हो । यसले निर्जीवन बीमा कम्पनीहरूको लगानीको ठूलो हिस्सा बैंक तथा वित्तीय संस्थामा केन्द्रित रहेको देखाउँछ ।

मुद्दति निक्षेपअन्तर्गत वाणिज्य बैंकमा ३८ अर्ब ८४ करोड ५६ लाख रुपैयाँ लगानी गरिएको छ । त्यस्तै, विकास बैंकमा ४ अर्ब १४ करोड ७३ लाख रुपैयाँ र वित्त कम्पनीमा १ अर्ब ३३ करोड ३२ लाख रुपैयाँ लगानी रहेको छ ।

यसैगरी, निर्जीवन बीमकहरूले बैंक तथा वित्तीय संस्थाका अग्राधिकार शेयर, बन्ड, डिबेन्चर तथा ऋणपत्रमा ५ अर्ब ६९ करोड ३९ लाख रुपैयाँ लगानी गरेका छन् । सूचीकृत सार्वजनिक कम्पनीको शेयरमा ५ अर्ब २३ करोड ६३ लाख रुपैयाँ लगानी गरिएको छ ।

त्यस्तै, सूचीकृत सार्वजनिक कम्पनीका बन्ड, डिबेन्चर तथा ऋणपत्रमा २ अर्ब १६ करोड ५८ लाख रुपैयाँ र नागरिक लगानी कोष तथा म्युचुअल फन्डमा १ अर्ब ८९ करोड ३३ लाख रुपैयाँ लगानी रहेको छ ।

बीमकहरूले सरकारी बचतपत्र तथा ऋणपत्रमा १ अर्ब १० करोड ७३ लाख रुपैयाँ, अन्य संस्थापक शेयरमा १ अर्ब ३६ करोड ८० लाख रुपैयाँ, इन्भेस्टमेन्ट कम्पनीको शेयरमा ३४ करोड ७३ लाख रुपैयाँ र सूचीकृत नभएका सार्वजनिक कम्पनीको शेयरमा ८ करोड ३ लाख रुपैयाँ लगानी गरेका छन् ।

यसका अतिरिक्त कृषि उत्पादन तथा वितरण, शीत भण्डार, पर्यटन, जलविद्युत्, सौर्य ऊर्जालगायत नवीकरणीय ऊर्जा परियोजना, केबलकार, सडक, विद्युत् प्रसारण लाइन, शिक्षा तथा स्वास्थ्य क्षेत्रमा पनि लगानी गरिएको छ । यी क्षेत्रमा भएको लगानीको विवरणमा रकमसम्बन्धी तथ्यांक स्पष्ट नभए पनि अन्य क्षेत्रमा २ अर्ब ३ करोड ९७ लाख रुपैयाँ लगानी रहेको प्राधिकरणको तथ्यांकमा उल्लेख छ ।

समग्रमा निर्जीवन बीमकहरूले बैंक तथा वित्तीय संस्थाको मुद्दति निक्षेपलाई लगानीको प्रमुख आधार बनाएका छन् भने शेयर, ऋणपत्र, म्युचुअल फन्ड तथा पूर्वाधार र उत्पादनमूलक क्षेत्रमा पनि लगानी विस्तार गरेका छन् ।

1

Scroll to Top