केही दिनयता उकालो लागेको नेप्से परिसूचक आज मंगलबार पनि सकारात्मक भएर बन्द भएको छ । मंगलबार नेप्से परिसूचक ४.१२ अंक बढेर २५९९.९३ विन्दुमा पुगेको छ ।
त्यस्तै, सेन्सेटिभ इण्डेक्स २.३५ अंक बढेको छ भने फ्लोट इण्डेक्स ०.४९ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.८४ अंक बढेको छ ।
मंगलबार १३ उपसमूहमध्ये पाँच उपसमूहको परिसूचक बढेको छ भने आठ उपसमूहको परिसूचक घटेको छ । आज जीवन बीमा उपसमूहको परिसूचक सर्वाधिक १.७७ प्रतिशत बढेको छ । त्यस्तै, बैंकिङ, विकास बैंक, लगानी र निर्जीवन बीमा उपसमूहको परिसूचक सामान्य बढेको छ ।
नेप्से बढेसँगै आज कारोबार रकम पनि बढेको छ । हिजो सोमबार ४ अर्ब ४६ करोड रुपैयाँबराबरको शेयर खरिदबिक्री भएको बजारमा आज ४ अर्ब ७३ करोड ६९ लाख २६ हजार रुपैयाँबराबरको शेयर खरिदबिक्री भएको छ ।
आज कारोबार भएकामध्ये सगरमाथा जलविद्युत् कम्पनीको शेयरमूल्य सर्वाधिक १२.४४ प्रतिशत बढेको छ । अन्य स्टकहरुको मूल्य वृद्धिदर भने ५ प्रतिशतभन्दा कम रहेको छ । आज स्नो रिभर्सको शेयर नकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । सो कम्पनीको शेयरमूल्य १४९ रुपैयाँ ९० पैसा घटेर ८४९ रुपैयाँ ४० पैसामा अन्तिम कारोबार भएको छ । त्यस्तै, धौलागिरी लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य करिब १३ प्रतिशत घटेको छ ।
कारोबार रकमका आधारमा मंगलबार घलेम्दी हाइड्रो शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको ३६ करोड ४७ लाख रुपैयाँबराबरको शेयर कारोबार भएको छ । त्यस्तै, माउन्टेन इनर्जीको करिब २६ करोड रुपैयाँको शेयर किनबेच भएको छ भने कुमारी बैंकको कारोबार रकम २५ करोड रुपैयाँ नाघेको छ । माउन्टेन इनर्जीले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई २० प्रतिशत बोनस शेयर वितरण गर्ने घोषणा गरेको छ ।



