सार्वजनिक यात्रुवाहक सवारीसाधन रोकिने राजमार्ग आसपासका होटल तथा रेस्टुरेन्टमा यात्रुलाई बासी, गुणस्तरहीन र अस्वच्छ खाना खुवाएको पाइएमा सवारी चालक र होटल सञ्चालक दुवैलाई कडा कानुनी कारबाही गरिने भएको छ ।
यातायात व्यवस्था विभागले यात्रुको स्वास्थ्यमा खेलवाड गर्ने कार्य सह्य नहुने स्पष्ट पार्दै सम्बन्धित सबैलाई सचेत गराएको हो । राजमार्गका होटल तथा रेस्टुरेन्टमा सरसफाइको अभाव, बासी र झिँगा भन्किएका खाना बिक्री तथा चर्को मूल्य असुलेर यात्रु ठगी गर्ने गरिएको भन्दै व्यापक जनगुनासो आएपछि विभागले यस्तो कदम चालेको हो ।
यात्रुको स्वास्थ्य र सुरक्षालाई प्राथमिकतामा राख्दै सार्वजनिक सवारीसाधनका चालकलाई खानाका लागि गाडी रोक्ने स्थान छनोट गर्दा विशेष सावधानी अपनाउन विभागले निर्देशन दिएको छ ।
विभागका अनुसार, चालकहरूले सम्भव भएसम्म खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको ‘खाद्य स्वच्छताको स्टिकर’ टाँसिएका होटल तथा रेस्टुरेन्टलाई प्राथमिकता दिनुपर्नेछ । यात्रुलाई सफा, स्वच्छ र गुणस्तरीय खाना उपलब्ध गराउने प्रतिष्ठानमा मात्रै सवारीसाधन रोक्न चालकहरूलाई आग्रह गरिएको छ ।
न्यून गुणस्तरको खाना खुवाएका कारण यात्रु बिरामी परेको पाइएमा सवारी चालक र होटल सञ्चालक दुवैलाई प्रचलित कानुनबमोजिम कडा कारबाही गरिने विभागले जनाएको छ । यस विषयमा सम्बन्धित निकायहरूले सूक्ष्म निगरानी गरिरहेको पनि विभागले स्पष्ट पारेको छ ।
राजमार्गका होटल तथा रेस्टुरेन्टमा खानाको स्वच्छता र गुणस्तरमा कमी भेटिएमा वा मूल्यमा ठगी भएको महसुस भएमा यात्रुले तत्काल नेपाल प्रहरीको हेल्पलाइन नम्बर १०० मा फोन गरेर उजुरी दिन सक्नेछन् ।
त्यस्तै, नजिकको जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, जिल्ला ट्राफिक प्रहरी कार्यालय वा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागअन्तर्गतका कार्यालयमा सम्पर्क गरेर पनि गुनासो दर्ता गराउन सकिने व्यवस्था गरिएको छ ।
विभागका प्राविधिक निर्देशक मणिराम भुसालले सूचना जारी गर्दै यात्रुको स्वास्थ्यसँग प्रत्यक्ष जोडिएको विषयमा जिम्मेवार बन्न र तोकिएका नियम पूर्ण रूपमा पालना गर्न सबै सरोकारवालालाई आग्रह गरेका छन् । विभागले यात्रुलाई गुणस्तरीय खाना उपलब्ध गराउन तथा राजमार्गमा हुने अनियमितता नियन्त्रण गर्न सम्बन्धित पक्षलाई सचेत गराएको हो ।


