Banijya News

बागमतीको अर्थतन्त्र राष्ट्रिय औसतभन्दा बढी रहने, वृद्धिदर ५.४ प्रतिशत पुग्ने अनुमान

1
1.0K Shares

आर्थिक वर्ष २०८२/८३ मा बागमती प्रदेशको आर्थिक वृद्धिदर ५.४० प्रतिशत रहने अनुमान गरिएको छ । नेपाल राष्ट्र बैंकको आर्थिक अनुसन्धान विभागले सार्वजनिक गरेको ‘बागमती प्रदेशको आर्थिक गतिविधि अध्ययन (वार्षिक प्रतिवेदन २०८२/८३)’ अनुसार समीक्षा वर्षमा राष्ट्रिय अर्थतन्त्र ३.८५ प्रतिशतले विस्तार हुने अनुमान गरिएका बेला बागमतीको वृद्धिदर भने राष्ट्रिय औसतभन्दा १.५५ प्रतिशत विन्दुले बढी रहने देखिएको हो ।

अघिल्लो आर्थिक वर्ष २०८१/८२ मा बागमती प्रदेशको आर्थिक वृद्धिदर ५.२९ प्रतिशत थियो । यसले प्रदेशको अर्थतन्त्रमा सुधारको संकेत गरे पनि विभिन्न क्षेत्रको उत्पादन, लगानी र आर्थिक गतिविधिमा समान गति देखिएको छैन ।

प्रतिवेदनअनुसार प्रचलित मूल्यमा बागमती प्रदेशको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) २४ खर्ब २३ अर्ब रुपैयाँ पुग्ने अनुमान छ । यो नेपालको कुल जीडीपी ६६ खर्ब रुपैयाँको ३६.७१ प्रतिशत हो । सात प्रदेशमध्ये बागमतीको आर्थिक हिस्सा सबैभन्दा धेरै छ । कुल जीडीपीमा कोशी प्रदेशको हिस्सा १५.८० प्रतिशत रहँदा सबैभन्दा कम कर्णालीको ४.२० प्रतिशत छ ।

सेवा क्षेत्रमा सबैभन्दा बढी योगदान

बागमती प्रदेशको अर्थतन्त्रमा सेवा क्षेत्रको प्रभुत्व कायम रहेको छ । प्रदेशको कुल जीडीपीमा सेवा क्षेत्रको योगदान ७६.५३ प्रतिशत, उद्योग क्षेत्रको १२.२४ प्रतिशत र कृषि क्षेत्रको ११.२३ प्रतिशत रहने अनुमान छ । राष्ट्रिय सेवा क्षेत्रमा बागमतीको हिस्सा ४५.४५ प्रतिशत, उद्योग क्षेत्रमा ३१.७४ प्रतिशत र कृषि क्षेत्रमा १७.१४ प्रतिशत रहेको प्रतिवेदनमा उल्लेख छ ।

प्रदेशको कुल उत्पादनमा थोक तथा खुद्रा व्यापारको योगदान सबैभन्दा बढी २१.७ प्रतिशत छ । घरजग्गा कारोबारको हिस्सा १४.५९ प्रतिशत र वित्तीय तथा बीमा क्षेत्रको ११.५८ प्रतिशत छ । यसले व्यापार, वित्तीय सेवा र घरजग्गा क्षेत्र प्रदेशको अर्थतन्त्रका प्रमुख आधार रहेको देखाउँछ ।

कृषि उत्पादनमा सुधार

समीक्षा वर्षमा खाद्यान्न तथा अन्य बालीले ढाकेको क्षेत्रफल १.४ प्रतिशतले घटे पनि प्रमुख खाद्यान्न उत्पादनमा सामान्य वृद्धि भएको छ । धान उत्पादन ०.४ प्रतिशत, मकै ०.३ प्रतिशत, गहुँ २.५ प्रतिशत, कोदो ०.३ प्रतिशत, जौ १३.६ प्रतिशत र फापर २.५ प्रतिशतले बढेको छ ।

तरकारी तथा बागवानी उत्पादन २.८ प्रतिशत, फलफूल २.४ प्रतिशत र मसला उत्पादन १८.८ प्रतिशतले वृद्धि भएको छ । पशुजन्य उत्पादनतर्फ दूध ०.७ प्रतिशत र मासु ३.१ प्रतिशतले बढ्दा अण्डा उत्पादन भने ८.३ प्रतिशतले घटेको छ । माछा उत्पादनमा ४ प्रतिशत वृद्धि भएको छ । त्यस्तै, कृषि उत्पादनमा सुधार देखिए पनि सिँचाइको सीमित पहुँच चुनौतीका रूपमा रहेको छ ।

उद्योगको क्षमता उपयोग बढ्यो

प्रतिवेदनमा समेटिएका २४ प्रमुख उद्योगको औसत क्षमता उपयोग ४१.०८ प्रतिशत पुगेको छ । अघिल्लो वर्ष यस्तो क्षमता उपयोग ३७.४९ प्रतिशत थियो । उद्योगको क्षमता उपयोग बढे पनि उपलब्ध उत्पादन क्षमताको आधाभन्दा कम मात्र उपयोग भएको देखिन्छ । चाउचाउ उद्योगले सबैभन्दा बढी ८८.३ प्रतिशत क्षमता उपयोग गर्दा मलम उद्योगको क्षमता उपयोग १३.८ प्रतिशतमा सीमित रहेको छ ।

समीक्षा वर्षमा प्रदेशमा १ खर्ब ५१ अर्ब २८ करोड रुपैयाँ कुल पुँजी प्रस्ताव गरिएका ६४६ नयाँ उद्योग दर्ता भएका छन् । ती उद्योगबाट २८ हजार ६४९ जनालाई रोजगारी दिने प्रस्ताव गरिएको छ ।

बैंक तथा वित्तीय संस्थाबाट प्रवाह भएको औद्योगिक कर्जा १०.१८ प्रतिशतले बढेर १३ खर्ब ३४ अर्ब ३५ करोड रुपैयाँ पुगेको छ । तर, औद्योगिक कर्जाको ९२.७३ प्रतिशत हिस्सा काठमाडौं जिल्लामा केन्द्रित छ । यसले प्रदेशभित्र औद्योगिक लगानीको भौगोलिक असन्तुलन रहेको देखाउँछ ।

निक्षेप र कर्जा दुवै बढे

२०८३ असार मसान्तसम्म बागमती प्रदेशमा बैंक तथा वित्तीय संस्थाका २ हजार ९२३ शाखा सञ्चालनमा थिए । प्रदेशबाट संकलित निक्षेप ९.७९ प्रतिशतले बढेर ५२ खर्ब ६७ अर्ब २३ करोड रुपैयाँ पुगेको छ । त्यस्तै, कर्जा प्रवाह ९.०७ प्रतिशतले बढेर ३६ खर्ब २४ अर्ब ७७ करोड रुपैयाँ पुगेको छ । प्रदेशको कर्जा–निक्षेप अनुपात ६८.८२ प्रतिशत कायम भएको छ ।

पूर्वाधार विकासतर्फ समीक्षा वर्षमा ४९.५८ किलोमिटर नयाँ सडक निर्माण गरिएको छ । त्यस्तै, ११७.९२ किलोमिटर सडक कालोपत्रे र १४३.६९ किलोमिटर सडक ग्राभेलमा स्तरोन्नति गरिएको छ । यस अवधिमा ४४ सडक पुल र ६ झोलुङ्गे पुल निर्माण सम्पन्न भएका छन् ।

पर्यटन र घरजग्गामा मिश्रित अवस्था

नमुना छनोटमा परेका होटलहरूको औसत अकुपेन्सी ४७.०९ प्रतिशत रहेको छ । २०८२ कात्तिकपछि सुधारोन्मुख रहेको होटल अकुपेन्सी २०८३ जेठमा ५८.८१ प्रतिशत पुगेको थियो ।
घरजग्गा कारोबारमा रजिस्ट्रेसन संख्या ९.६ प्रतिशतले बढेर १ लाख ४ हजार ६२३ पुगेको छ । स्थायी नक्सापास संख्या पनि ४ प्रतिशतले बढेको छ । तर, रजिस्ट्रेसनबाट प्राप्त राजस्व १६.८ प्रतिशतले घटेर २० अर्ब ६० करोड रुपैयाँमा सीमित भएको छ ।

समीक्षा वर्षमा बागमती प्रदेशबाट १ लाख २९ हजार ६५१ जनाले वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिएका छन् । यो देशभर जारी कुल श्रम स्वीकृतिको १६.३७ प्रतिशत हो । जिल्लागत रूपमा चितवनबाट सबैभन्दा बढी १९ हजार ८०३ र रसुवाबाट सबैभन्दा कम १ हजार ७७१ जनाले श्रम स्वीकृति लिएका छन् । राष्ट्रिय रोजगार प्रवर्धन कार्यक्रममार्फत प्रदेशका ४ हजार ३४८ जनाले रोजगारी पाएका छन् ।

प्रदेशको बजेट खर्च ६८ प्रतिशत

आर्थिक वर्ष २०८२/८३ मा बागमती प्रदेश सरकारले विनियोजन गरेको ६७ अर्ब ४८ करोड रुपैयाँ बजेटमध्ये ६८.१८ प्रतिशत अर्थात् करिब ४६ अर्ब रुपैयाँ खर्च गरेको छ । चालुतर्फ ६७.२७ प्रतिशत र पुँजीगततर्फ ६८.७४ प्रतिशत खर्च भएको छ । प्रदेशले सो अवधिमा ३० अर्ब ६७ करोड रुपैयाँ राजस्व संकलन गरेको छ भने संघीय सरकारबाट ११ अर्ब ३८ करोड रुपैयाँ अनुदान प्राप्त गरेको छ ।

यद्यपि, आगामी आर्थिक वर्षमा प्रदेशको आर्थिक गतिविधिमा प्राकृतिक विपत्तिको असर पर्न सक्ने देखिएको छ । प्रतिवेदनले २०८३ भदौ १० मा रसुवा–भोटेकोशी तथा त्रिशूली नदी क्षेत्रमा आएको बाढीपहिरोले जलविद्युत् आयोजना, मितेरी पुल, टिमुरे सुक्खा बन्दरगाह, रसुवागढी भन्सार र सडक पूर्वाधारमा ठूलो क्षति पुर्‍याएको उल्लेख गरेको छ । यसबाट उत्पादन, व्यापार र पर्यटन क्षेत्रमा प्रतिकूल असर पर्न सक्ने प्रतिवेदनको निष्कर्ष छ ।

1

Scroll to Top