दशैं, तिहार तथा छठ पर्वका सार्वजनिक बिदाका बेला हुन सक्ने साइबर ठगी नियन्त्रण गर्न नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई विशेष सतर्कता अपनाउन निर्देशन दिएको छ । राष्ट्र बैंकले शंकास्पद खाता तथा कारोबार तत्काल पहिचान गरी रोक्का गर्न र ठगीसम्बन्धी विवरण समयमै प्रहरीलाई उपलब्ध गराउने व्यवस्था मिलाउन भनेको हो ।
राष्ट्र बैंकको बैंक तथा वित्तीय संस्था नियमन विभागले असोज २७ गते जारी गरेको सूचनाअनुसार ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाले साइबर ठगीका घटना नियन्त्रणका लागि तत्काल समन्वय गर्न सक्ने जिम्मेवार सम्पर्क व्यक्ति तोक्नुपर्नेछ ।
सम्पर्क व्यक्तिको नाम, पद र मोबाइल नम्बरका साथै चौबीसै घण्टा निगरानी हुने ड्युटी इमेल ठेगानासमेत उपलब्ध गराउनुपर्ने राष्ट्र बैंकले जनाएको छ । बैंक तथा वित्तीय संस्थाले उक्त विवरण नेपाल प्रहरी प्रधान कार्यालयको इमेल ठेगानामा पठाउनुपर्नेछ ।
सार्वजनिक बिदाका समयमा बैंकिङ सेवा तथा विद्युतीय भुक्तानीका माध्यमबाट आर्थिक ठगीका घटना बढ्न सक्ने जोखिमलाई ध्यानमा राख्दै राष्ट्र बैंकले यस्तो व्यवस्था गरेको हो ।
चाडपर्वका बेला बैंकिङ कारोबारको चाप बढ्ने तथा डिजिटल माध्यमबाट हुने कारोबारमा ठगीको जोखिम रहन सक्ने भएकाले शंकास्पद गतिविधिको निगरानी र तत्काल कारबाहीलाई प्रभावकारी बनाउन यो निर्देशन दिइएको हो । यस व्यवस्थाले साइबर ठगीका घटना भएमा बैंक तथा वित्तीय संस्था र प्रहरीबीच समन्वय सहज बनाउने अपेक्षा गरिएको छ ।


